४ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ ।
शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १२औं ओभरमा २६ रनमा अलआउट भयो ।
नेपालका लागि कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफ र रासिद खानले सर्वाधिक समान ६ रन बनाए ।
भारतका प्रिन्स यादवले ५ विकेट लिए भने हर्षित रानाले ४ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।
त्यसअघि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो ।
कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए । त्यसअघि ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए ।
भारत ४२-३ को अवस्थामा हुँदादेखि कुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको शानदार दोहोरो शतकीय साझेदारी बनाए ।
भारतको स्कोर २४८ हुँदा कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक बनाएपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग खेल्नेछ ।
प्रतिक्रिया 4