+
+
Shares
एमाले-अन्तरसङ्घर्ष :

पोखरेलले अडान नछोडेपछि ओलीले दिए पद त्याग्न सुझाव

पार्टी पुनर्गठन, ७० वर्षे उमेर हद र दुई कार्यकालको अडान महासचिव पोखरेलले नछोडेपछि आक्रोशित बनेका ओलीले भेलामै उनलाई काम गर्न नसके पद त्याग्न सुझाव दिएका छन्।

सइन्द्र राई सइन्द्र राई
२०८३ मंसिर ७ गते १८:४३

७ मङ्सिर, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलबीच बढ्दो दूरी पार्टी निर्णयहरूमा मात्र सीमित नरही च्यासलका गतिविधिहरूमा समेत देखिन थालेको छ।

सामान्यतः पार्टीका बैठक र कार्यक्रम पर्दाबाहेक केन्द्रीय कार्यालय नआउने ओलीले आजभोलि कार्यकर्ता भेटघाटसमेत च्यासलमै राख्न थालेका छन्। च्यासलमा एमाले कार्यालय सरेको ५ वर्षसम्म कार्यकर्ता भेटघाटजस्तो नियमित र सामान्य काम ओलीले यहाँबाट गरेका थिएनन्।

तर गत असोज पहिलो साता सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकयता ओली नियमितजसो च्यासल आउन थालेका छन्। ‘यो साता त दिनहुँजसो नै आउनुभयो। पार्टी बैठक र कार्यक्रम परेरभन्दा पनि भेटघाटहरू थिए,’ कार्यालय स्रोत भन्छ।

कार्यकर्ता भेटघाटकै निम्ति ओली च्यासल आउन थाल्नुको कारणबारे भने नेताहरू प्रस्ट छन्। ‘महासचिव शङ्कर पोखरेलसँग उहाँको सम्बन्ध विगतजस्तो रहेन,’ शीर्ष एक नेता भन्छन्, ‘महासचिवलाई पाखा लगाउनलाई अध्यक्ष आफैँले बैठकहरू चलाउन थाल्नुभयो, च्यासलमा उपस्थिति पनि बढाउनुभयो।’

ओलीको विश्वास रहँदासम्म च्यासल महासचिव पोखरेलकै नेतृत्वमा चल्दै आएको थियो। ओलीसँगको समन्वयमा महासचिव पोखरेलले पार्टीका कार्यक्रमहरू तय गर्थे।

‘बहुपदीय संरचनामा पार्टी गएपछि महासचिवले केन्द्रीय कार्यालयको नेतृत्व गर्नुलाई थितिकै रूपमा लिएका थियौँ,’ एक पदाधिकारी भन्छन्, ‘अभ्यास पनि त्यसरी नै हुँदै आएको थियो। तर आजभोलि फरक अभ्यास देखिँदै छ।’

तर गत २१ फागुनको निर्वाचनमा एमाले शर्मनाक पराजित भएपछि महासचिव पोखरेलले नेतृत्व पुनर्गठनको आवाज उठाए। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदल गठन गर्दै देशभरका कार्यकर्ताहरूबाट सुझाव सङ्कलन गरियो।

सङ्कलित सुझावका आधारमा महासचिव पोखरेलले प्रतिवेदन तयार पारे।

उक्त प्रतिवेदन कार्यान्वयनको अडान महासचिव पोखरेलले नछोडेपछि अध्यक्ष ओलीसँग बढेको तिक्तता पार्टी निर्णय, गतिविधि र अभिव्यक्तिहरूमा देखिँदै छ।

पोखरेलको प्रतिवादमा ओली

यसै साता (२–३ मङ्सिरमा) सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पनि ओली र पोखरेलबीचको अन्तरसङ्घर्ष लुकेन। अध्यक्ष ओलीले महासचिव पोखरेलको भूमिका खोसेर सचिव भानुभक्त ढकालमार्फत राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका थिए।

भेलाको साजसज्जादेखि कार्यसूचीसम्म ओली एकछत्र थिए। तर महासचिव पोखरेलले एक घण्टाजति पाएको समयभित्रै पार्टी पुनर्गठनको निष्कर्ष सुनाएरै छोडे।

प्रतिवादमा ओली आक्रोशित सुनिए। पोखरेललाई पद त्याग्न सुझाव दिए।

‘महासचिव कमरेडले पनि राख्नुभएको छ, हस्तान्तरण र पुस्तान्तरणचाहिँ हामीले भन्यौँ, तर हुनै सकेन। कोही पनि कुनै पद पाएपछि त्योभन्दा तल्लो पदमा बस्नै तयार हुँदैन, अनि कसरी हस्तान्तरण र पुस्तान्तरण ?’ भेलाको दोस्रो दिन सुरु गर्दै ओलीले भने, ‘काम गर्न सकिँदैन भने छोड्दिनुपर्छ, नयाँलाई ठाउँ दिनुपर्छ।’

पुनर्गठनको अडानमा पोखरेल अडिग हुने गरी प्रस्तुत भएपछि राष्ट्रिय कार्यकर्ता भेला समापन गर्दै अरू कार्यकर्तालाई समेत ओलीले चेतावनी दिएका छन्। चेतावनी दिन पनि ओलीले पोखरेलकै कुरालाई सन्दर्भ माने

सहभागीहरू छक्कै पर्ने गरी पोखरेलविरुद्ध ओली खनिएका थिए। यद्यपि काम गर्न नसक्नेले पद छोड्ने कुरा आफ्नो हकमा पनि लागू हुने उनको भनाइ थियो। ‘दौडन सकिँदैन भने छोड्नुपर्छ, मेरो पनि हो, अरूका लागि पनि हो,’ ओलीले भनेका थिए, ‘काम गर्न नसक्ने अवस्था आयो भने ठाउँ ओगटेर बस्नु हुँदैन।’

महासचिव भनेरै यस्तो आक्रोश ओलीले पोख्नुमा भेलाको पहिलो दिन पोखरेलले राखेको मन्तव्य कारण थियो। शीर्ष स्रोतका अनुसार भेलामा महासचिव पोखरेलले प्रस्तुत गर्ने कार्यपत्र पनि ओलीबाट अनुमोदन गराइएको थियो।

‘पार्टीभित्र समस्या छ, पुनर्गठन गर्नुपर्छ भन्ने कुरा अध्यक्षले सुन्न चाहनुहुन्न,’ उक्त स्रोत भन्छ, ‘महासचिवले पार्टी सुदृढीकरणसम्बन्धी प्रतिवेदन तयार पार्दा त्यस्तो कुरा राख्नुभएको रहेछ, जुन हटाउन भनिएको थियो।’ तर महासचिव पोखरेलले ओलीले सुन्न नचाहेका कुराहरू भेलामा भने।

हलमा बाँडिएको कार्यपत्र पढ्नुअघि महासचिव पोखरेलले भूमिका बाँड्दै पुनर्गठन कार्यदलले तयार पारेको पार्टी पुनर्गठन प्रतिवेदनको निष्कर्ष सुनाए। प्रतिवेदन पढिरहँदा बीच–बीचमा पनि आफ्नो अडान राखे।

‘१० बुँदे निष्कर्ष भनेर महासचिवले दुई कार्यकाल र ७० वर्षे उमेर हदको सन्देश पनि दिनुभयो,’ एक नेता भन्छन्, ‘अध्यक्षलाई यो कुरा मन परेन र प्रतिवाद गर्नुभयो।’

उमेर हद र कार्यकालको सीमा हटाउने विधानको व्यवस्था संशोधन गर्न अर्को महाधिवेशन कुर्न ओलीले पोखरेललाई सुझाव दिएका थिए। ‘कार्यान्वयन गर्न उपयुक्त नदेखेर त संशोधन गर्‍यो होला नि त महाधिवेशनले,’ ओलीले भनेका थिए, ‘अनि महाधिवेशनको निर्णय सरक्क मानेर अर्को महाधिवेशनसम्म जानुपरेन ? अनि बीचमा जहिल्यै पनि त्यही एकतारे बजाएर र्‍याइँर्‍याइँ गरिरहने ?’

महासचिव पोखरेलको प्रतिवाद यतिमै टुङ्गिएको थिएन। स्थानीय चुनावको तयारीसम्बन्धी प्रस्ताव राखिरहँदा महासचिव पोखरेलले आसन्न चुनावको टिकटबारे सम्बन्धित कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने गरी घोषणा गरेका थिए।

‘म कमरेडहरूको बीचमा अनुरोध गर्न चाहन्छु, उम्मेदवारहरू पनि तपाईंहरू आफैँ छान्नुहोस्, जिताएर देखाउनुहोस्,’ पोखरेलले भनेका थिए, ‘यसपटकको निर्वाचनको सन्दर्भमा यो सङ्कल्प गरौँ। कार्यकर्ताले उम्मेदवार छान्ने, कार्यकर्ताले जिताएर देखाउने।’

हलमा बाँडिएको लिखित प्रतिवेदनभन्दा बाहिर गएर पोखरेलले स्थानीय कमिटीलाई बलियो बनाउने घोषणा गरेपछि ओलीले खण्डन भाषण गरेका थिए। ‘पपुलिस्ट कुरा गरेर हुँदैन। तलका कमिटी पनि कस्ता छन् भनेर थाहा छ। सबै कुरा तलबाट सही आउँछ भन्ने छैन,’ ओलीले भनेका थिए।

तल्लो कमिटीले भनेको सबै कुरा सही नहुने पुष्टि गर्न ओलीले मोहम्मद इस्तियाक राईको उदाहरण दिएका थिए । ‘माननीय इस्तियाक राईलाई तलबाट सिफारिस गरिएको थिएन। अब उहाँलाई टिकट नदिएको भए मधेसमा हाम्रो एक सिट पनि नहुने रहेछ,’ ओलीले भनेका थिए।

पुनर्गठनको अडानमा पोखरेल अडिग हुने गरी प्रस्तुत भएपछि राष्ट्रिय कार्यकर्ता भेला समापन गर्दै अरू कार्यकर्तालाई समेत ओलीले चेतावनी दिएका छन्। चेतावनी दिन पनि ओलीले पोखरेलकै कुरालाई सन्दर्भ माने।

महासचिव पोखरेलले आन्तरिक लोकतन्त्र कमजोर हुँदा पार्टी बलियो नहुने तर्क गरेका थिए। ‘कमिटीभित्र खुला छलफल, स्वस्थ बहस, आलोचना र आत्मालोचनाको संस्कृति कमजोर भएको छ। सुझाव वा आलोचनालाई व्यक्तिगत आक्षेपका रूपमा लिने प्रवृत्ति बढेको छ,’ पोखरेलले भनेका थिए, ‘यसले कार्यकर्तालाई कमिटीभित्र बोल्न असहज बनाएको छ र असन्तुष्टि सामाजिक सञ्जाल वा अनौपचारिक वृत्तमा अभिव्यक्त हुने गरेको छ।’

ओलीले भने कुनै पनि कमिटीमा कसैको मुख थुन्ने काम नभएको तर्क गरेका थिए। ‘कमिटीमा राख्नै पाइएन भन्ने नक्कली गुनासो नगरौँ। कमिटीमा राख्दा कसैले मुख थुनेको पनि छैन, कसैले आक्रमण गरेको पनि छैन, कसैले केही गरेको पनि छैन,’ ओलीको प्रस्टोक्ति थियो, ‘तर पार्टीभित्र छलफलको विषय नबनाउने, पार्टीबाहिर फेसबुकबाट विरोधीलाई मौका दिने।’

ओलीले गत असोजको तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णय सम्झाएका छन्। ‘अस्तिको केन्द्रीय कमिटी बैठकलाई कटअफ बैठक भनेका छौँ। त्यसअघि जसले अनुशासनहीन काम गरेको भए पनि, फेसबुक रङ्ग्याएको भए पनि, अनुशासन तोडेको भए पनि अस्तिको केन्द्रीय कमिटीको बैठकभन्दा अगाडिको कुरालाई क्षमा गरिएको छ,’ समापन सम्बोधनमा ओलीले भनेका छन्।

नेताहरूका अनुसार राष्ट्रिय भेलामा ओली र पोखरेलबीच देखिएको अन्तरसङ्घर्ष पार्टीजीवनका अरू गतिविधि र निर्णयहरूमा बढ्दो छ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?