७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने भएको छ ।
१०औं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा गर्ने निर्णय गरेको हो । यसअघि सबै खेल सुर्खेतमै गर्ने तय भएको थियो ।
लिग चरणका खेलहरु भने सुर्खेतमै हुनेछ । पुरुष फुटबलमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीले सहभागिता जनाएका छन् । समूह ‘ए’मा नेपाल पुलिस क्लब, गण्डकी र कर्णाली प्रदेश छन् ।
समूह ‘बी’ मा एपीएफ, मधेश र सुदूरपश्चिम छन् भने समूह ‘सी’ मा त्रिभुवन आर्मी क्लब, कोशी, बागमती र लुम्बिनी प्रदेश छन् ।
तीनवटै समूहको समूह विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछन् । यस्तै समूह ‘सी’ बाट समूह विजेतासँगै समूह उपविजेता पनि सेमिफाइनल प्रवेश गर्नेछन् ।
पुरुष फुटबल मंसिर ८ देखि १७ गतेसम्म हुनेछ ।
प्रतिक्रिया 4