+
+
Shares

लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १५:३५

७ मङ्सिर, किएभ (रासस/एपी) । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन् । उनका अनुसार आइतबार भएको उक्त कारबाहीमा युक्रेनी सेनाले सातवटा स्वदेशमै निर्मित ड्रोन प्रयोग गरेको थियो ।

सोमबार सामाजिक सञ्जाल एक्समार्फत उहाँले आक्रमणमा रुसी कर्भेट युद्धपोत डुबेको दाबी गरे । उक्त जहाज सन् २०२३ मा सेवामा प्रवेश गरेको रुसको पछिल्लो युद्धपोत रहेको उनले बताए। आक्रमणमा रुसी मालवाहक जहाज एमभी अङ्गरालाई समेत निशाना बनाइएको र केए–२७ सैन्य हेलिकप्टर नष्ट भएको उनको भनाइ छ । उक्त जहाज मस्कोले हतियार ढुवानीमा प्रयोग गर्दै आएको उनले दाबी गरे ।

जेलेन्स्कीले युक्रेनको सुरक्षा सेवा (एसबीयू) र अन्य रक्षा बललाई धन्यवाद दिँदै निर्धारित लक्ष्य हासिल भएको बताए। रुसको आक्रमणको जवाफमा युक्रेनले आफ्नो सैन्य कारबाही र हतियार विकास जारी राख्ने उनले उल्लेख गरे।

यसअघि पूर्वी लिबियाका दुई अधिकारीले समुद्री ड्रोन आक्रमणबाट बेनगाजीस्थित रुसी नौसेनाको कर्भेटमा गम्भीर क्षति पुगेको बताएका थिए । स्थानीय बासिन्दाले आइतबार बिहान विस्फोटको आवाज सुनेका र नौसैनिक अड्डामा आगो लागेको देखेका थिए । अधिकारीहरूका अनुसार नागरिक सुरक्षा टोलीले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

लिबियाली अधिकारीहरूको विज्ञप्तिअनुसार उक्त युद्धपोत इन्धन भर्न र आपूर्ति लिन अड्डामा रोकिएको थियो । यसको उपस्थिति रुस तथा पूर्वी लिबियास्थित सरकारबीचको सहयोग सम्झौतासँग सम्बन्धित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?