+
+
Shares
प्रधानमन्त्रीको भारत भ्रमण :

नेपाल-भारत सहमतिपछि कहिले खुल्ला भैरहवाको ‘इन्ट्री रुट’ ?

आंशिक समाधान, पर्यटनमा आशा

दुई मुलुकका प्रधानमन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्तिमा भैरहवा रुट दुईतर्फी गर्ने सम्बन्धमा उल्लेख छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ मंसिर ७ गते २१:२७

७ मंसिर, काठमाडौं । पर्यटन र नागरिक उड्डयन क्षेत्रका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण आशावादी रह्यो । खासगरी हवाई रुटतर्फ भैरहवा विन्दुलाई दुईतर्फी गर्ने सहमति र अयोध्याऔजनकपुर रेलमार्ग सुरु भएसँगै नेपाल-भारतबीच थाती केही विषयले गति लिएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणसँगै जारी ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारी पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा कनेक्टिभिटी बलियो बनाउन नयाँ ट्रान्जिट र हवाईमार्ग खुलाउने बारे सहमति भएको उल्लेख छ । दुई मुलुकका प्रधानमन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्तिमा भैरहवा रुट दुईतर्फी गर्ने सम्बन्धमा उल्लेख छ ।

यद्यपि, यो विषय भारतीय प्रधानमन्त्रीको सम्बोधन र दुई मुलुकका सरकारबीच भएका विभिन्न सम्झौतामा उल्लेख थिएन । सोहीकारण अहिले सहमति जनाएको हवाई रुट कार्यान्वयनमा संशय भने कायमै छ ।

संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार दुवै पक्ष विद्यमान एकतर्फी सञ्चालनमा रहेको ‘बी३४५ रुट’ (काठमाडौं-भैरहवा-लखनऊ) दुईतर्फी गर्न सहमत भएका छन् ।

यससम्बन्धी कार्यविधि र अन्य प्रक्रिया अन्तिम रूप दिन र दुवै पक्षबीच हाल छलफलमा रहेका नागरिक उड्डयन सम्बन्धी अन्य विषय समेत सम्बोधन गर्न प्राविधिक परामर्श गर्ने विषय समावेश छ ।

यसअघि २०७५ सालमा भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको रुट खुला गर्न सहमति जनाएको थियो । साथै, क्रसबोर्डर उडानका लागि महेन्द्रनगर रुटसमेत खुला गर्न सहमति जनाएको थियो । तर, प्राविधिक तहबाट यी रुट खुला भएनन् । बरु अल्झाउने मात्र काम भयो ।

यसबीच नेपालले भैरहवा भन्दा बढी जोड महेन्द्रनगर इन्ट्री प्वाइन्टलाई दुईतर्फी बनाउन जोड दिएको छ । जुन नेपालको हितमा पनि छ । तर, त्यसमा तत्काल सहमति भएको देखिँदैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार अहिले भएको सहमति कार्यान्वयनमा आउँदा मात्र पनि नेपालका तीन वटै विमानस्थलका लागि केही सहज भने हुनेछ । उडान दुरी घट्ने छ भने त्यसले भाडा समेत कम हुनेछ ।

उनका अनुसार लखनऊ-भैरहवा हुँदै जहाज नेपाल प्रवेश गर्दा सिमराबाट आउने समयको तुलनामा भैरहवाका लागि १७ मिनेट हाराहारी समय बचत हुन्छ । पोखराका लागि १४ मिनेट समय कम लाग्छ । ठूला जहाजका लागि १४ मिनेटको समय बचत हुनु धेरै ठूलो खर्च बच्नु पनि हो ।

उनका अनुसार यो रुट सञ्चालन कार्यविधि बनेसँगै भैरहवामा ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनको बाटोसमेत खुल्ने छ । इन्ट्री रुट खुला भएसँगै भैरहवा विमानस्थलका लागि भारतीय एयरस्पेस प्रयोगको बाटो खुल्ने भएकाले आईएलएस सञ्चालनको बाटो खुल्ने छ ।

यसले बाक्लो हुस्सु लागेको समयमा पनि जहाज उडान/अवतरण गर्न सक्ने अवस्था आउने छ । जसले गर्दा यी विमानस्थलमा नियमित जहाज उडानको आशा गर्न सकिने उनी बताउँछन् ।

यद्यपि, यो रुट कार्यान्वयनमा ल्याउन केही प्रक्रिया पूरा गर्नुपर्ने छ । प्राधिकरणका एक प्राविधिकका अनुसार दुई मुलुकबीच यस विन्दुमा भारतीय एयर ट्राफिक कन्ट्रोलरले नेपाली कन्ट्रोलरलाई कति उचाइमा जहाज हस्तान्तरण गर्ने भन्नेबारे टुङ्गो लगाइ सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्छ ।

त्यस क्रममा भारतीय एयरस्पेस हुँदै जहाज नेपालको एयरस्पेसमा भित्रिने उचाइका सम्बन्धमा कुनै सीमा राखिएन भने त्यसले त्रिभुवन विमानस्थल, भैरहवा र पोखरा सबै विमानस्थलमा आउने जहाजलाई सहज हुनेछ ।

तर, भारतले पुन: उचाइमा सर्त राख्यो भने यो विन्दुसमेत व्यावहारिक नहुने उनको भनाइ छ । उनका अनुसार लामो दुरीका जहाज भैरहवाबाट छिर्दा उचाइ धेरै नै कम भइसकेको हुनुपर्छ, त्यसकारण कम उचाइमा प्रवेश अनुमति भए तीन वटै विमानस्थलमा आउने जहाजलाई फाइदा हुन्छ ।

उच्च उचाइबाट मात्र अनुमति दिइयो भने नेपाली आकासमा थप फन्को मार्दै जहाजले उचाइ घटाउनु पर्छ, जसले गर्दा समयको फाइदा हुँदैन ।

दुई मुलुकको प्राविधिकले आवश्यक प्रक्रिया पूरा गरेपछि त्यसबारे जानकारी नागरिक उड्डयन संगठनलाई गराउनुपर्छ । साथै, प्राधिकरणले ‘प्रिफ्लाइट इन्फरमेसन बुलेटिन’ प्रकाशन गरेपछि रुट कार्यान्वयनमा आउँछ ।

उनका अनुसार अहिले भैरहवा रुटबाट जहाजहरू बाहिरिने भएकाले पर्याप्त डेटा उपलब्ध छन् । सोही आधारमा इन्ट्री रुट सञ्चालन हुने भएकाले यो सहमति कार्यान्वयन गर्न चाहे धेरै समय लाग्दैन । भैरहवा रुट दुईतर्फी गर्दा पनि भारतीय सहरहरूमा क्षेत्रीय उडान सहज हुनेछ । त्यसकारण निजी क्षेत्रसमेत यो सहमतिबाट उत्साहित देखिएको छ ।

अयोध्या-जनकपुर रेल सेवाले ल्याएको उत्साह

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्य सहित आजदेखि जनकपुरधाम–अयोध्या रेल सेवा सुरुवात गरियो ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्तरूपमा रेल सेवा उद्घाटन गरे । भर्चुअल माध्यमबाट उद्घाटन गरेलगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँडेको थियो ।

यसअघि भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको थियो ।

करिब ६ सय ४ किलोमिटर दुरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमन अझ सहज बनाउने भारतीय रेल मन्त्रालयको विश्वास छ ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एक पटक दुईतर्फी चल्ने छ । रेलवे बोर्डको तालिका अनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्ने छ ।

त्यस्तै प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नम्बर १५५९६) छुटेर जनकपुरधाम आउने छ । यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिने छ ।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सिधा रेलमार्गले जोडेर रामायण सर्किट पर्यटनलाई प्रवर्द्धन गर्न दुवै देशले यो रेल सेवा सञ्चालन थालेका हुन् ।

यो सेवा सुरु भएपछि नेपालका अरू सहरहरूमा जनकपुरबाट हवाई सेवा सुरु गर्ने योजना छ । जनकपुरबाट पोखरा हवाई सेवा सुरु गरी जनकपुर आएका पर्यटकलाई अन्य स्थानसम्म पुर्‍याउने नेपालको योजना छ ।

रेल सेवा सञ्चालनले त्यस क्षेत्रका नागरिकलाई सुविधा त थपिने नै छ, यसले दुई देशबीच शताब्दीयौँदेखि कायम धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई भौतिक रूपमा जोड्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

हिन्दु धार्मिक मान्यता अनुसार जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो । त्रेतायुगमा जनकपुरका राजा जनककी पुत्री सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई धार्मिक नगरीलाई रामायणको साझा सांस्कृतिक परम्परासँग जोडेको छ ।

दुवै मुलुकले पर्यटनमा थप साझेदारीको समेत समझदारी गरेका छन् । भिजन डकुमेन्टमा उल्लेख भए अनुसार भारत र नेपालले धार्मिक पर्यटन सर्किट र नयाँ गन्तव्य विकासमा साझेदारी गर्नेछन् ।

यसमा जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर तथा काठमाडौं–वाराणसीलाई जोडेर रामायण, बौद्ध र शिवशक्ति सर्किट विकास गर्ने सहमतिमा उल्लेख छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?