+
+
Shares
प्रधानमन्त्रीको भारत भ्रमण :

धाम्रा र मुन्द्रा बन्दरगाह मागेको नेपाललाई भारतले किन दियो पारादीप र कान्डला ?

तेस्रो देशसँगको आयात-निर्यातमा कोलकाता-हल्दिया र विशखापट्नम बन्दरगाहको पहुँच मात्रै पाइरहेको नेपालले अन्य दुई उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाहको पहुँच मागिरहेको थियो । भारतले ती दुई राज्यकै तर फरक बन्दरगाह दिने सहमति जनायो  । सहमतिको कार्यान्वयन पनि तत्काल हुने छैन ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ मंसिर ७ गते २१:३२

७ मंसिर, काठमाडौं । भूपरिवेष्ठित मुलुक नेपालले तेस्रो मुलुकसँगको वैदेशिक व्यापार सहज र सस्तो बनाउन वर्षौंदेखि भारतका आधुनिक र कन्टेनरमैत्री निजी बन्दरगाह चाहेको थियो ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुई दिने भारत भ्रमणको एजेन्डा तय गर्दा पनि सरकार र निजी क्षेत्रको पहिलो रोजाइ उही थियो- अडानी समूहले सञ्चालन गरेका उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह ।

तर, सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि नेपालको हातमा निजी होइन, भारतको सरकारी व्यवस्थापनका दुई ठूला बन्दरगाह परे ।

भारतले गुजरातको दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नेपालको पारवहन व्यापारका लागि नयाँ मार्ग उपलब्ध गराएको छ भने आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहमा समेत पहुँच दिने घोषणा गरेको छ ।

यसअघि भारतको पूर्वी तटमा रहेका पश्चिम बंगालको कोलकाता-हल्दिया र आन्ध्रप्रदेशको विशाखापट्नम बन्दरगाह मात्रै प्रयोग गर्दै आएको नेपालका लागि यो सहमतिले पहिलो पटक भारतको पश्चिमी तट अर्थात् अरब सागरतर्फको समुद्री ढोका खोलिदिएको छ ।

यद्यपि, नेपालको निजी क्षेत्रले खोजेको जस्तो कन्टेनरमैत्री निजी बन्दरगाहको सट्टा भारतले मुख्यत: ‘बल्क कार्गो’ ह्यान्डल गर्ने सरकारी पोर्ट दिएकाले आयात-निर्यात लागत र समयमा कति फरक पर्ला भन्ने प्रश्न उब्जिएको छ ।

धाम्रा र मुन्द्राको अधुरो कथा : किन चाहियो वैकल्पिक बन्दरगाह ?

तेस्रो मुलुकबाट सामान ल्याउँदा नेपालले दशकौंदेखि कोलकाता र हल्दिया बन्दरगाहको साँघुरो घेरामा सीमित हुनुपरेको छ । नदी किनारको कोलकाता बन्दरगाहमा पानीको गहिराइ करिब ७.२ मिटर र हल्दिया डक कम्प्लेक्समा ७.५ देखि ८.५ मिटरसम्म मात्र भएकाले ठूला मालवाहक पानीजहाज अर्थात् ‘मदर भेसेल’ त्यहाँ सहजै छिर्न सक्दैनन् ।

फलस्वरूप सिंगापुर वा कोलम्बो बन्दरगाहमा ठूला जहाजबाट साना फिडर जहाजमा सामान सार्ने अर्थात् ‘ट्रान्ससिपमेन्ट’ गर्नुपरिरहेको छ । यसले गर्दा आयात र निर्यातकर्ताले अतिरिक्त समय र महँगो भाडा तिर्नुपरेको छ ।

बन्दरगाहमा हुने भिडभाड, कन्टेनर अड्किँदा लाग्ने ‘डेमरेज’ र ‘डिटेन्सन’ शुल्कको भार अन्तत: नेपाली उपभोक्ताको भान्सा र बजार मूल्यमै जोडिँदै आएको छ ।

यही समस्याबाट पार पाउन सन् २०१६ मा विशाखापट्नम खुलेको थियो भने २०१९ मार्चमै नेपाल-भारत पारवहन सन्धि पुनरावलोकन बैठकले धाम्रा र मुन्द्रा प्रयोग गर्न दिने सैद्धान्तिक सहमति गरेको थियो ।

तर, ‘लेटर अफ एक्स्चेन्ज’ मार्फत प्रोटोकल संशोधन नहुँदा ७ वर्षसम्म ती बन्दरगाह कागजमै सीमित रहे । यसपालि पनि नेपाली पक्षले मुन्द्रा र धाम्रा नै मागेको थियो, तर भारत सरकारले नै व्यवस्थापन गरिरहेको बन्दरगाहको पहुँच दिने सहमति दिएको छ ।

कस्ता हुन् भारतले दिएका कान्डला र पारादीप ?

भारत सरकारले गत सेप्टेम्बर २०२६ मा मात्रै कान्डला, पारादीप, जवाहरलाल नेहरु पोर्ट र मुन्द्रालाई देशका चार ‘मेगा पोर्ट’ घोषणा गरेको थियो । यीमध्ये कान्डला र पारादीप भारत सरकारको प्रत्यक्ष व्यवस्थापनमा रहेका ठूला बन्दरगाह हुन् ।

गुजरातको कच्छ खाडीमा रहेको दीनदयाल अर्थात् कान्डला भारतका १२ सरकारी ‘मेजर पोर्ट’ मध्ये कार्गो परिमाणका हिसाबले पहिलो स्थानमा पर्छ ।

आर्थिक वर्ष २०२५/२६ मा मात्रै कान्डलाले १६ करोड १ लाख १० हजार टन कार्गो ह्यान्डल गरेको थियो । पेट्रोलियम, खाने तेल, रासायनिक मल, अन्न, नुन र कोइलाजस्ता बल्क तथा लिक्विड कार्गोका लागि प्रसिद्ध यो पोर्टमा पछिल्लो एक वर्षमा कन्टेनर ट्राफिक पनि ५४ प्रतिशतले बढेको छ ।

यता बंगालको खाडीमा रहेको ओडिशाको पारादीप भारतको दोस्रो ठूलो सरकारी पोर्ट हो । २०२५/२६ मा १५ करोड ६४ लाख ५० हजार टन कार्गो ह्यान्डल गरेको पारादीप प्राकृतिक रूपमै गहिरो पानी भएको आधुनिक बन्दरगाह हो ।

१८.५ मिटरसम्मको डिप-ड्राफ्ट क्षमता रहेको पारादीपमा गत सेप्टेम्बरमै १६.५ मिटर ड्राफ्टका विशाल ‘केपसाइज’ पानीजहाज बर्थिङ भइसकेका छन् ।

कोइला, फलाम अयस्क, कच्चा तेल, मल, क्लिंकर र स्टिलजन्य बल्क कार्गोका लागि चिनिने यहाँ बहुउद्देश्यीय कन्टेनर टर्मिनलको सुविधा पनि छ ।

तर, व्यावसायिक दृष्टिकोणबाट मुन्द्रा र यी दुई सरकारी पोर्टबीच ठूलो अन्तर छ । मुन्द्राले वार्षिक २१ करोड ५० लाख टनभन्दा बढी कुल कार्गो र ७५ लाख टीईयूभन्दा बढी कन्टेनर क्षमता सहित विश्वका शीर्ष २५ कन्टेनर बन्दरगाहमा स्थान बनाएको छ, जहाँ ठूला सिपिङ लाइनहरूको नियमित आवतजावत र तीव्र डिजिटल अटोमेसन छ ।

त्यसविपरीत कान्डला र पारादीपमा कन्टेनर इकोसिस्टम मुन्द्राको जस्तो बलियो भइसकेको छैन । त्यसैले कन्टेनरयुक्त तयारी सामानभन्दा रासायनिक मल, कोइला, कच्चा तेल र औद्योगिक कच्चापदार्थ आयातका लागि यी पोर्ट बढी किफायती हुने देखिन्छ ।

तत्काल प्रयोगमा आउने छैनन् यी बन्दरगाह

भ्रमण क्रममा कान्डला र पारादीप बन्दरगाहको घोषणा हुनु कूटनीतिक र रणनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि भए पनि यसको कार्यान्वयन तत्काल हुने छैन ।

संयुक्त विज्ञप्तिमा कान्डलाको नयाँ मार्ग खुलेको भनिए पनि पारादीपका हकमा ‘आवश्यक पूर्वाधार तयार भएपछि’ मात्र पहुँच दिइने सर्त राखिएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका सरकारी स्वामित्वका काण्डला र पारादीप बन्दरगाहमा पहुँच पाउने सहमति भए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औपचारिक विवरण बुझेर मात्रै आधिकारिक प्रतिक्रिया दिने जनाएको छ ।

नेपालले एजेन्डामा राखेको निजी क्षेत्र (अडानी समूह) द्वारा सञ्चालित धाम्रा र मुन्द्राको सट्टा भारतले सरकारी पोर्टमा पहुँच दिएको तथा सन् २०१९ को सहमति समेत सात वर्षसम्म कार्यान्वयन हुन नसकेको विषयमा मन्त्रालयको धारणा बुझ्न खोज्दा प्रवक्ता जितेन्द्र बस्नेतले भ्रमणको पूर्ण विवरण अध्ययन गर्न बाँकी रहेको बताए ।

‘आज के-के भयो भन्ने विषयमा अपडेट हुन बाँकी छ,’ प्रवक्ता बस्नेतले भने, ‘नयाँ दिल्लीमा के-के भएको रहेछ, विस्तृत विवरण बुझेर र पूर्णरूपमा अपडेट भएर मात्रै यसबारे भन्न सकिन्छ ।’

सोमबार मात्रै दिल्लीमा नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भई २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी भएकाले मन्त्रालयमा औपचारिक कागजात र प्राविधिक विवरण आइसकेपछि मात्रै बन्दरगाह प्रयोग तथा प्रोटोकल संशोधन प्रक्रियाबारे थप स्पष्ट हुने देखिएको छ ।

सन् २०१९ मा धाम्रा र मुन्द्रामा सहमति भएर पनि पारवहन सन्धिको प्रोटोकल संशोधन नहुँदा सात वर्ष खेर गएको तीतो अनुभव नेपालसँग छ ।

त्यसैले अबको घोषणा कागजमै सीमित नराख्न नेपालले तत्काल पारवहन सन्धिको प्रोटोकल संशोधन, भारतीय रेल्वे कम्पनी कन्कोरको नियमित र्‍याक व्यवस्था र इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडानका लागि कूटनीतिक र प्राविधिक पहल तीव्र पार्न आवश्यक छ ।

तबमात्र अरब सागर र बंगालको खाडीमा खुलेका नयाँ ढोकाबाट नेपाली व्यवसायी र उपभोक्ताले वास्तविक राहत महसुस गर्न पाउनेछन् ।

दुरी र लागत गणित : कसलाई कति नजिक ?

बन्दरगाह फेरिँदा व्यापारीले सबैभन्दा पहिले समुद्री र स्थलमार्गको दुरी तथा ढुवानी भाडा हेर्छन् ।

पारादीप कोलकाताबाट सडकमार्ग करिब ४ सय ३३ किलोमिटर दक्षिण र विशाखापट्नमबाट करिब ५ सय ४० किलोमिटर उत्तरमा अवस्थित छ । वीरगञ्जबाट सडकमार्ग हुँदै पारादीप करिब ९ सय ४१ किलोमिटर र रेलमार्ग १ हजार १८ किलोमिटर दुरीमा पर्छ ।

कोलकाता बन्दरगाह वीरगञ्जबाट रेलमार्गमा करिब ७ सय ४ किलोमिटर दुरीमा रहेकाले पारादीप कोलकाताभन्दा करिब ३ सय १४ किलोमिटर टाढा पर्छ ।

तर, विशाखापट्नम (१ हजार ४ सय ३६ किलोमिटर) सँग तुलना गर्दा पारादीप ४ सय किलोमिटरभन्दा बढी नजिक हो । गहिरो पानीका कारण सिधै ठूला जहाज आउने भएकाले पारादीप खुल्दा कोलकाताको भिडभाड र ट्रान्ससिपमेन्टको झन्झटबाट राहत मिल्ने छ ।

यस्तै गुजरातको कान्डला बन्दरगाह काठमाडौं र वीरगञ्जबाट स्थलमार्ग हुँदै करिब १ हजार ८ सय ५० देखि २ हजार किलोमिटर (सडकमार्ग करिब १ हजार ९ सय ३ किलोमिटर) टाढा पर्छ ।

स्थल दुरी लामो देखिए पनि युरोप, मध्यपूर्व र अफ्रिकाबाट आउने जहाजले श्रीलंका घुमेर बंगालको खाडीसम्म आउनु नपर्ने भएकाले समुद्री यात्राको समय र भाडा बचत हुन्छ ।

पश्चिमी डेडिकेटेड फ्रेट करिडोरसँग सिधा रेल सञ्जाल जोड्न सके कान्डला पश्चिम नेपालका नाकाका लागि रणनीतिक विकल्प बन्न सक्छ ।

निजी क्षेत्रको मूल्यांकन : विकल्प खुल्नु नै ठूलो उपलब्धि

आफूहरूले माग गरेजस्तो निजी बन्दरगाह नपाए पनि भारतले सरकारी बन्दरगाहमा पहुँच दिनुलाई नेपालको निजी क्षेत्रले सकारात्मक कदमका रूपमा लिएको छ ।

सरकारी पोर्ट भएकाले बन्दरगाह शुल्क निजीको तुलनामा कम र स्थिर रहने तथा भारतीय भन्सार र रेल्वेसँग सरकारी स्तरमै समन्वय गर्न सहज हुने अपेक्षा व्यवसायीहरूको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम निजी बन्दरगाह पाएको भए नजिक र छरितो हुने भए पनि चार वटा बन्दरगाहको विकल्प खुल्नुलाई ‘प्लस प्वाइन्ट’ मान्नुपर्ने बताउँछन् ।

‘हामीले मागेका निजी बन्दरगाह पाएको भए ढुवानी लागत कम भएर आम उपभोक्ताले पनि अझ सस्तोमा सामान पाउन सक्थे,’ अध्यक्ष गौतमले अनलाइनखबरसँग भने, ‘तर, दिने पक्षलाई आफ्नो सरकारी सम्पत्ति दिन सजिलो लागेको हुन सक्छ, पहिले कोलकाता र विशाखापट्नम गरी दुई वटा मात्रै बन्दरगाह थिए, अब चार वटा विकल्प खुलेका छन् ।’

कान्डलाको लामो दुरी र सरकारी पोर्टमा भन्सार तथा कन्टेनर सहजीकरण कस्तो हुन्छ भन्ने विषय अहिले नै पूर्णरूपमा प्रष्ट भइनसकेको उनको बुझाइ छ ।

‘यदि कान्डलाबाट वीरगञ्जसम्मको दुरी लामो र महँगो महसुस भयो भने हामीसँग पुरानो कोलकाता छँदै छ,’ गौतम भन्छन्, ‘जुन किनारा र मार्गबाट सस्तो र सजिलो पर्छ, त्यहीँबाट सामान ल्याउन पाइने भयो, आगामी दिनमा निजी पोर्टका लागि पनि फेरि कूटनीतिक पहल जारी राख्नुपर्छ ।’

पश्चिमको व्यापार बदल्ने आईसीपी : बनबासादेखि भैरहवासम्म

बन्दरगाह पहुँचसँगै यसपालि भारत भ्रमणमा सीमा व्यापार पूर्वाधार अर्थात् एकीकृत जाँच चौकी (आईसीपी) विस्तारको विषयले पनि ठोस आकार पाएको छ ।

सोमबार दुवै प्रधानमन्त्रीले भारतको बनबासामा निर्माण हुने नयाँ आईसीपीको भर्चुअल माध्यमबाट संयुक्त शिलान्यास गरे भने नेपालतर्फको दोधारा-चाँदनी र भैरहवा-सुनौली आईसीपी निर्माणमा भइरहेको प्रगतिको स्वागत गरे ।

नेपाल र भारतबीच हालसम्म वीरगञ्ज–रक्सौल (२०१८), विराटनगर–जोगबनी (२०२०) र नेपालगञ्ज–रुपैडिया (२०२४) गरी तीन वटा आईसीपी सञ्चालनमा आइसकेका छन् ।

सीमा नाकामा बन्ने आईसीपीले व्यापार सहजीकरणमा प्रत्यक्ष र दीर्घकालीन लाभ दिन्छ । एउटै सुरक्षित कम्पाउन्डभित्र भन्सार, अध्यागमन, खाद्य तथा पशु-वनस्पति क्वारेन्टिन प्रयोगशाला, बैंकिङ, आधुनिक गोदाम, कन्टेनर यार्ड र तौलपुल जस्ता सबै सेवा ‘वन-स्टप सर्भिस’ का रूपमा उपलब्ध हुँदा व्यापारीले विभिन्न कार्यालय धाउनुपर्ने झन्झट समाप्त हुन्छ ।

सीमानाकामा मालवाहक ट्रकहरूको लामो जाम हट्दा समयमै सामान गन्तव्यमा पुग्छ र व्यवसायीले बेहोर्दै आएको चर्को पार्किङ तथा विलम्ब शुल्क घट्छ ।

त्यसमाथि सुदूरपश्चिमको दोधारा-चाँदनी र भारतको बनबासामा आईसीपी बनेपछि सुदूरपश्चिम नाका सिधै भारतको उत्तराखण्ड, दिल्ली औद्योगिक करिडोर र गुजरातको कान्डला बन्दरगाहसँग जोडिने छ ।

यसले हाल मध्य तराई र पूर्वी नाकामा मात्र केन्द्रित वैदेशिक व्यापार चाप पश्चिम नेपालतर्फ सन्तुलित बनाउने र सुदूरपश्चिममा औद्योगिक गतिविधि बढाउने विश्वास गरिएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?