७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको सरकारले दाबी गरेको छ ।
नयाँ दिल्लीबाट फर्कने क्रममा सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकारहरूसँग यो भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा लगेको बताएका हुन् । आवश्यक परे सन् १९५० को सन्धी लगायत पुराना सन्धी, सम्झौता र सहमतिहरू संशोधन गर्ने समेतको स्पेस खोलेर भ्रमण टोली स्वदेश फर्किएको उनले बताएका छन् ।
‘नयाँ विषयमा सहकार्य अगाडि बढाउनका लागि आवश्यक परेमा हाम्रा पुराना सन्धी, सम्झौता, सहमतिहरूलाई पनि परिमार्जन गर्ने बाटो खुलेको छ,’ परराष्ट्रमन्त्री खनालले भनेका छन् । ‘विकसित भारत: सम्मुनत नेपाल’ सम्बन्धी संयुक्त दृष्टि दस्तावेजले दुवै देशको सम्भावनालाई नयाँ आयाममा लैजान ढोका खोलेको उनको दाबी छ ।
दुई प्रधानमन्त्रीको सम्बोधन पछि संयुक्त वक्तव्य जारी हुनुले पनि भ्रमण परिणाममूखी बनेको पुष्टि हुने परराष्ट्रमन्त्री खनालले तर्क गरेका छन् ।

विपक्षी भन्छन्– औसत रह्यो
प्रधानमन्त्री बालेनको राजकीय भ्रमणलाई विपक्षी दलका नेताहरूले भने औसत मानेका छन् । भ्रमणअघि राष्ट्रपति, संघीय संसद् र विपक्षी दलहरूसँग कुनै परामर्श नलिइएकोप्रति उनीहरूका असन्तुष्टि छन् ।
यद्यपि दुई देशका प्रधानमन्त्री एवं अधिकारीहरूबीच भएका सहमति, सम्बोधन र बक्तव्यका आधारमा विपक्षी दलका नेताहरूले भ्रमणलाई औसत भनेका छन् ।
‘केही सकारात्मक, केही निरन्तरता र केही नयाँ क्षेत्रमा प्रवेश गर्नुभएको छ । तर केही उठाउनुपर्ने विषय छोड्नुभएको छ । यसरी हेर्दा यो भ्रमणलाई औसत मान्न सकिन्छ,’ एमाले सचिव डा. डा.राजन भट्टराई भन्छन् ।
परराष्ट्र मामलाका विज्ञ समेत रहेका नेता भट्टराईका अनुसार, एअर रुट, आर्थिक सहयोग, आईआईटी इस्न्टिच्यूटको विस्तार, सीमा क्षेत्रको अर्थतन्त्र बृद्धि, क्रिकेट स्टेडियम र एकेमेडीमा सहयोग जस्ता सहमति भ्रमणका सकारात्मक पक्ष हुन् ।
विशेषगरी नेपालले लामो समयदेखि माग्दै आएको एअर रुटबारे जुटेको सहमतिलाई उनी उपलब्धी मान्छन् ।
‘एअर रुट लामो समयदेखि हामीले मागिरहेको, तर भारत सहमत थिएन । अहिले सहमत भएको छ,’ भट्टराई भन्छन्, ‘भोलि अपरेसनमा जाँदा प्राविधिक तहमा सहमति गर्छ वा गर्दैन अझै टुंगिन बाँकी रह्यो । तर नीतिगत रुपमा भएको सहमतिलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह, रेल वे, पाइप लाइन, पुल उद्घाटन, अरुण तेस्रो जलविद्युत जस्ता कुरा निरन्तरताकै विषय भएको उनी बताउँछन् । तर सीमा विवाद सुल्झाउनेबारे गर्नैपर्ने काम यो भ्रमणले छुटाएको भट्टराई बताउँछन् ।
‘नेपालमा लामो समयदेखि उठेका र समाधान गर्नपर्ने मुख्य विषय, खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादमा सरकार प्रवेश नै गर्न नचाहे जस्तो देखियो,’ उनी भन्छन्, ‘संयुक्त वक्तव्यमा सीमाबारे छलफल गर्ने भनिएपनि त्यो एकदमै सामान्य भाषा हो ।’
सीमा विवादबारे भएको सहमतिमा अरु विपक्षी दलहरूको टिप्पणी पनि भट्टराईकै जस्तो छ । ‘मूल समस्या सीमा विवाद हो । अझ प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । यो संवेदनशील विषयमा कुनै न कुनै निष्कर्ष निस्कनुपर्थ्यो,’ नेकपाका प्रवक्ता प्रकाश ज्वाला भन्छन्, ‘सीमा समस्या समाधानबारे ठोस निष्कर्ष देखिएन ।’
तर, विदेश भ्रमणमै निस्कन्न भनेको प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्नु र दुई देशको सम्बन्धबारे छलफल गर्नुलाई सकारात्मक रुपले हेर्नुपर्ने उनी बताउँछन् । ‘जस्तो शैली र अडान लिने गर्नुभएको छ, त्यसले पनि भ्रमणको उपलब्धिलाई खुम्च्याउने काम गरेको छ,’ ज्वाला भन्छन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेल पनि प्रधानमन्त्रीको भ्रमणलाई सबैले अपनत्व लिने बातावरण अझै बन्न नसकेको बताउँछन् । ‘छिमेकी सम्बन्धमा देशको साझा दृष्टिकोण बनाउनुपर्छ । राष्ट्रिय हितको पक्षमा विपक्षी भन्ने हुँदैन, प्रधानमन्त्री देशको प्रतिनिधि हो,’ पौडेल भन्छन्, ‘तर भ्रमणअघि सम्माननीय राष्ट्रपति, सार्वभौम संसद र दलहरूसँग कुनै परामर्श गर्नुभएको छैन । अब गराउनु होला ।’
देशको हितमा गरिने सहमतिहरूबारे सवै दलहरूलाई जानकारी गराइने सुन्दर परम्परा प्रधानमन्त्री बालेनले तोडेकोमा पनि उनी असन्तुुष्ट छन् ।
कार्यान्वयनको चिन्ता
प्रधानमन्त्री बालेनको भ्रमणका क्रममा भएका उपलब्धीलाई औसत भनेका विपक्षी नेताहरूले कार्यान्वयनप्रति भने शंका गरेका छन् ।
‘आपसी समझदारी हुँदै आएकोे छ, सँगै कार्यान्वयन फितलो रहेको विगत छ,’ कांग्रेस महामन्त्री पौडेल भन्छन्, ‘समझदारी कार्यान्वयन गर्ने विषयमा विश्वासिलो आधार बन्नुपर्छ । त्यो अझै हेर्न बाँकी छ ।’
यस्तै, शंका नेकपाका नेता ज्वाला पनि गर्छन् । ‘सम्बन्ध सुधार र सद्भाव हिसाबले प्रधानमन्त्रीको भ्रमण उपलब्धि नै हो,’ उनी भन्छन्, ‘तर भएका सहमति पनि कार्यान्वयनमा ध्यान दिनुपर्छ, विगतले त्यही कुरा भन्छ ।’
समझदारी कार्यान्वयनबाटै भ्रमणको समीक्षा हुने ज्वालाको तर्क छ ।
प्रतिक्रिया 4