+
+
Shares

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् ।

रासस रासस
२०८३ मंसिर ८ गते १९:०६

८ मङ्सिर, गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन्।

उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेकी थिइन्। आफू जस्तै विस्थापित भएका अरु पाँच परिवार पनि त्रिपाल उडाएपछि विचल्लीमा परेको उनी बताउँछिन्।

बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरवास उठेको छ । “बिहान ३ बजे तिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो । फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ । होइन रहेछ”, लालमायाले भनिन्, “हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ । तर एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो । हामीलाई फेरि खुला आकाशमुनि बनायो ।”

राहतमा पाएको ओढ्ने, ओछ्याउने र लगाउने लुगाहरू पनि हावाहुरीले उडाएर विचल्ली बनाएको उनको दुखेसो छ । “हाम्रो चिल्लीबिल्ली भयो । ” भाँडाकुँडा र खाद्यान्न भने बाढीले क्षति नपुर्‍याएको कुनै घरमा राखेकाले सुरक्षित रहेको उनको भनाइ छ ।

एक्कासी आएको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएको त्रिपाल उडाएको स्थानीय विशाल घलेले जानकारी दिए । उनीहरूलाई फेरि पुनःस्थापित गर्नुपर्ने अवस्थामा पुर्‍याएको उनको भनाइ छ ।

हावाहुरीले धार्चे–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको भवनको छाना पनि उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धार्चे–५ का दुई गाउँबस्तीमा, धार्चे ३ को उहियामा र चुमनुब्री ३ को जगत र सल्लेरीमा निजी आवास तथा विद्यालय भवनको छाना उडाएर बिचल्ली बनाएको प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए । जिल्लाभरि भएको हावाहुरीको प्रभावको तथ्याङ्क सङ्कलन गरिरहेको उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?