+
+
Shares

शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ

यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १९:०६

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् ।

डिसेम्बर १६ बंगलादेशमा विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो ।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार स्वदेश फर्किने मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग राष्ट्रिय ध्वजावाहक विमानमार्फत आफ्नो स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।

हसिनाका प्रवक्ता सैयद मोजाम्मेल अलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशकै विमानबाट भारत ल्याइएको थियो । अब उहाँले दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको छ ।’

हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीसँग भनेका छन्, ‘उहाँले बंगलादेश फर्किने दिनका रूपमा विजय दिवस अर्थात् डिसेम्बर १६ रोज्नुको विशेष अर्थ छ ।’

अरिनले हसिना स्वदेश फर्किएपछि उनको नेतृत्वमा बंगलादेश पुन: शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

हसिना ५ अगस्ट २०२४ मा भारत गएकी थिइन् । विद्यार्थी आन्दोलनका कारण उनले १५ वर्षदेखि चलाउँदै आएको सत्ता छाड्नुपरेको थियो । उक्त आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारी मारिएका थिए ।

उनलाई अनुपस्थितिमै मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । तर उनले उक्त फैसला अस्वीकार गर्दै आएकी छन् । बंगलादेश फर्किएर आफूले मुद्दामा आफ्नो पक्ष राख्ने उनको भनाइ छ ।

तर बंगलादेश सरकारको धारणा भने बिलकुल फरक छ ।

विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले हसिना स्वदेश फर्किए हतकडी लगाएर कडा निगरानीमा ल्याइने बताएका छन् । उनले हसिना सामान्य यात्रु नभएको टिप्पणी गरेका छन् ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमान

यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?

के उनी साँच्चिकै आफूविरुद्धका मुद्दाको सामना गर्न चाहन्छिन् ? अथवा स्वदेश फर्किने घोषणा गरेर आफ्नो पार्टी अवामी लिगलाई पुन: राजनीतिक रूपमा सक्रिय बनाउन खोजिरहेकी छन् ?

उनको स्वदेश फिर्तीलाई लिएर भारत र बंगलादेशबीच कूटनीतिक सहमति बन्न सक्छ ?

यी हुन् शेख हसिनाको स्वदेश फिर्तीसँग जोडिएका महत्त्वपूर्ण प्रश्न र तिनका जवाफ ।

१. स्वदेश फर्किने घोषणापछाडि हसिनाको रणनीति के छ ?

हसिनाको स्वदेश फिर्तीको घोषणालाई उनको व्यक्तिगत इच्छाका रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन । यसपछाडि अवामी लिगको राजनीतिक भविष्य र पार्टीभित्र आफ्नो पकड कायम राख्ने प्रयास पनि हुन सक्ने विश्लेषकहरूको धारणा छ ।

ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका अध्यक्ष जिल्लुर रहमानले अलजजिरासँग कुरा गर्दै हसिनालाई बंगलादेश फर्किएपछि आफ्नो अवस्था के हुन सक्छ भन्ने थाहा भएको बताएका छन् । तर राहदानी प्राप्त गर्ने र स्वदेश फर्किने विषय उठाउनुको उद्देश्य अवामी लिगका नेता तथा कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय राख्नु हुन सक्ने उनको विश्लेषण छ ।

रहमानका अनुसार हसिना कुनै पनि अवस्थामा पार्टीको नेतृत्व अरू कसैलाई सुम्पिन चाहँदैनन् । यही कुरा हसिना र अवामी लिग दुवैका लागि समस्याको विषय बन्न सक्छ । पार्टीले आफ्नो अस्तित्व जोगाउन नयाँ नेतृत्व खोज्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

त्यस्तै, बंगलादेश इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान निर्देशक फैज सोभानले पनि अलजजिरासँग कुरा गर्दै स्वदेश फर्किने घोषणाले हसिनालाई राजनीतिक रूपमा चर्चामा रहिरहन सहयोग गर्ने बताएका छन् । यसबाट उनले देशभित्र आफ्ना समर्थकको मनस्थिति बुझ्ने अवसरसमेत पाउने उनको विश्लेषण छ ।

सोभानका अनुसार हसिनाको वास्तविक स्वदेश फिर्तीको सम्भावना निकै कठिन छ । किनभने त्यसको अर्थ मृत्युदण्डको सामना गर्नु वा बाँकी जीवन जेलमा बिताउनु हुन सक्छ ।

अमेरिकाका पूर्वकूटनीतिज्ञ जोन डानिलोभिचले पनि अलजजिरासँगको कुराकानीमा हसिनाको स्वदेश फिर्ती घोषणालाई आफ्ना समर्थकलाई एकजुट राख्ने प्रयासका रूपमा व्याख्या गरेका थिए ।

उनको विश्लेषणमा डिसेम्बरमा फर्किने घोषणा गर्नुको उद्देश्य बंगलादेशमा घट्दै गएको आफ्नो राजनीतिक सान्दर्भिकतालाई पुन: चर्चामा ल्याउनु हो ।

हसिनाले स्वदेश फर्किन रोजेको मिति पनि राजनीतिक रूपमा महत्त्वपूर्ण छ । सन् १९७१ डिसेम्बर १६ मा बंगलादेशको मुक्ति युद्ध समाप्त भएको थियो ।

यो दिन बंगलादेशको इतिहासमा विशेष महत्त्व राख्छ । हसिनाका पिता शेख मुजिबुर रहमान बंगलादेशको स्वतन्त्रता आन्दोलनका प्रमुख नेतामध्ये एक थिए ।

त्यसैले विजय दिवसका दिन स्वदेश फर्किने घोषणा गरेर हसिनाले आफ्नो राजनीतिक विरासत र बंगलादेशको स्वतन्त्रता आन्दोलनसँग जोडिएको पारिवारिक इतिहासलाई पनि अगाडि ल्याउन खोजेको देखिन्छ ।

२. अवामी लिगका गतिविधि किन बढ्दै छ ?

हसिनाको स्वदेश फिर्तीको घोषणा यस्तो समयमा आएको छ, जतिबेला बंगलादेशमा अवामी लिगका नेता तथा कार्यकर्ताको गतिविधिलाई लिएर तनाव बढिरहेको छ ।

बीबीसी बंगलाका अनुसार पछिल्ला साताहरूमा अवामी लिगका नेता तथा कार्यकर्ताले स्थानीय तहमा आफ्नो उपस्थिति देखाउने प्रयास गरिरहेका छन् ।

विशेषगरी गोपालगन्जलगायत विभिन्न जिल्लामा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन् । यसको जवाफमा सरकारले पनि हिंसा रोक्न विभिन्न कदम चालेको छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने अवामी लिगको राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा पार्टीका नेता तथा कार्यकर्ताले सार्वजनिक प्रदर्शन गर्नु वर्तमान सरकारका लागि कानुन व्यवस्थाको चुनौती बनेको छ ।

हसिनाले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रको माग गरेपछि बंगलादेशमा हिंसात्मक गतिविधि बढेको रोयटर्सले जनाएको छ । गोपालगन्जमा हसिनाका समर्थकले गरेका प्रदर्शन हिंसात्मक बनेका छन् । ती घटनामा ज्यानसमेत गएको छ ।

यस घटनाक्रमले सरकारको चिन्ता हसिनाको स्वदेश फिर्तीमा मात्र सीमित नरहेको देखाउँछ । उनको स्वदेश फिर्तीको घोषणाले अवामी लिगका नेता, कार्यकर्ता र समर्थक पुन: संगठित हुन सक्ने सरकारको आशंका छ ।

त्यसैले सरकारले डिसेम्बर आसपास सीमा क्षेत्रमा समेत निगरानी बढाउने बताएको छ ।

३. बंगलादेश सरकारले सीमामा किन सतर्क गरायो ?

बीबीसी बंगलाको रिपोर्टअनुसार बंगलादेशका प्रधानमन्त्रीका सूचना तथा प्रसारण सल्लाहकार डा. जाहेद उर रहमानले सीमा क्षेत्रमा घुसपैठ रोक्न बोर्डर गार्ड बंगलादेश (बीजीबी) लाई सतर्क रहन निर्देशन दिइएको बताएका छन् ।

जाहेद उर रहमानका अनुसार अवामी लिगका हजारौँ नेता तथा कार्यकर्ता विदेशमा छन् । उनीहरूमध्ये धेरैविरुद्ध मुद्दा दर्ता भएका छन् ।

उनले डिसेम्बर आसपास कुनै अभियुक्तले देशभित्र प्रवेश गर्ने प्रयास गरे पक्राउ गरी कानुनी प्रक्रियाअनुसार कारबाही गर्न सकियोस् भनेर सीमा क्षेत्रमा सतर्कता बढाइएको बताएका छन् ।

यो अभिव्यक्ति महत्त्वपूर्ण छ । किनभने यसले सरकार हसिनाको स्वदेश फिर्तीलाई एक व्यक्तिको आगमनका रूपमा मात्र हेरिरहेको छैन भन्ने देखाउँछ । विदेशमा रहेका अवामी लिगका नेता तथा कार्यकर्ताको सम्भावित गतिविधिलाई लिएर पनि सरकार चिन्तित छ ।

यद्यपि, सरकारको यस्तो आशंकालाई ठूलो स्तरमा घुसपैठ हुन लागेको पुष्टि भएको घटनाका रूपमा बुझ्नु हुँदैन । यो सरकार आफैँले सार्वजनिक गरेको सुरक्षा सतर्कतासम्बन्धी धारणा हो ।

४. बंगलादेश सरकार यति कठोर किन ?

हसिनाको स्वदेश फिर्तीबारे बंगलादेश सरकारका दुई वरिष्ठ अधिकारीका अभिव्यक्तिले सरकारको धारणा बुझ्न सहयोग गर्छन् ।

विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले मंगलबार विदेशी कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै शेख हसिनालाई कडा निगरानीमा हतकडी लगाएर मात्रै देश ल्याउन सकिने बताएका थिए ।

उनले कुनै अभियुक्तलाई सामान्य यात्रुका रूपमा देश प्रवेश गर्न दिन नसकिने बताएका छन् ।

उनले अवामी लिगमाथि आतंकवादलाई बढावा दिएको आरोपसमेत लगाएका छन् । उनका अनुसार बंगलादेशमा आतंकवादको सम्बन्ध अवामी लिगसँग छ ।

अर्कोतर्फ, इन्टरनेसनल क्राइम्स ट्राइब्युनलका प्रमुख अभियोजक मोहम्मद अमिनुल इस्लामले हसिनाका लागि विमान पठाइदिन गरिएको मागलाई ‘अभूतपूर्व’ भनेका छन् ।

बीबीसी बंगलाका अनुसार उनले कुनै फरार दोषीका लागि अर्को देशबाट विमान मागिएको घटना विश्वमै विरलै हुने बताएका छन् ।

उनले अवामी लिगलाई आतंकवादी संगठन घोषणा गर्नुपर्ने हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको पनि बताएका छन् । अनुसन्धानबाट पार्टी आतंकवादी संगठन भएको प्रमाणित भए सरकारले वा न्यायाधिकरणले कानुनी कारबाही गर्न सक्ने उनको भनाइ छ ।

यसको अर्थ हसिनाको स्वदेश फिर्तीसँगै अवामी लिगको संगठनात्मक र कानुनी अवस्थाको प्रश्न पनि जोडिएर आएको छ ।

५. भारतको धारणा के छ ?

शेख हसिनाको स्वदेश फिर्तीमा भारतको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुनेछ । उनी सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । बंगलादेश सरकारले यसअघि नै भारतसँग उनको सुपुर्दगी माग गरिसकेको छ ।

भारत र बंगलादेशबीच सन् २०१३ मा सुपुर्दगी सन्धि भएको थियो । बंगलादेशले यही सन्धिअन्तर्गत हसिनालाई फिर्ता पठाउन माग गरिरहेको छ ।

तर सन्धि हुँदैमा भारतले हसिनालाई बंगलादेशको जिम्मा लगाउनैपर्छ भन्ने निश्चित हुँदैन ।

सन्धिमा केही विशेष परिस्थितिमा सुपुर्दगी अस्वीकार गर्न सकिने व्यवस्था छ । यसमा राजनीतिक प्रकृतिका अपराधसँग सम्बन्धित अपवाद पनि समावेश छ । यद्यपि, केही गम्भीर अपराधलाई भने यो अपवादको दायराबाहिर राखिएको छ ।

भारतको विदेश मन्त्रालयले सन् २०२६ अप्रिलमा बंगलादेशको सुपुर्दगी अनुरोधमाथि अध्ययन भइरहेको र नयाँ सरकारसँग रचनात्मक संवाद गर्न चाहेको बताएको थियो ।

तर ढाका ट्रिब्युनका अनुसार बंगलादेश सरकारका सूचना तथा प्रसारण सल्लाहकार जाहेद उर रहमानले नोभेम्बर २४ मा महत्त्वपूर्ण अभिव्यक्ति दिएका छन् ।

उनले हसिनाको स्वदेश फिर्तीबारे सरकारको छलफल हसिनासँग नभई भारतसँग भइरहेको बताएका छन् । उनका अनुसार हसिनालाई स्वदेश फर्काउने प्रक्रियाबारे भारतसँग छलफल गरिनेछ ।

उनले हसिना फर्किन चाहेको र बंगलादेशले पनि उनलाई फिर्ता चाहेको अवस्थामा भारतले उनलाई जिम्मा लगाउन हिचकिचाउन नहुने बताएका छन् ।

यो अभिव्यक्तिले विदेश मामिलासम्बन्धी राज्यमन्त्रीको हतकडी लगाएर ल्याउने चेतावनीभन्दा फरक पक्ष उजागर गरेको छ । बंगलादेश सरकार हसिनासँग प्रत्यक्ष संवाद गर्नुभन्दा भारतसँग उनको सुपुर्दगी प्रक्रियाबारे छलफल गर्न चाहन्छ ।

६. हसिना कसरी फर्किन सक्छिन् ?

हसिनाको स्वदेश फिर्तीको बाटोमा एउटा ठूलो व्यावहारिक अवरोध उनको राहदानी हो ।

बंगलादेश सरकारले उनी भारत आएको केही महिनापछि सन् २०२४ अगस्टमै उनको कूटनीतिक राहदानी रद्द गरेको थियो ।

बीबीसी बंगलाका अनुसार हसिनाले अहिले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकी छन् । उनले बंगलादेश सरकारसँग ती कागजात जारी गर्न माग गरेकी छन् ।

उनका प्रवक्ताका अनुसार हसिनालाई बंगलादेशकै विमानबाट भारत ल्याइएको थियो । त्यसैले अब उनलाई स्वदेश फर्काउने व्यवस्था पनि सरकारले नै गर्नुपर्ने उनको माग छ ।

तर बंगलादेश सरकारले यो माग अस्वीकार गरेको छ ।

७. बंगलादेश फर्किएपछि हसिनालाई के हुन्छ ?

सन् २०२५ नोभेम्बरमा बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्राइब्युनलले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

यो मुद्दा सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसा र दमनसँग सम्बन्धित थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो ।

हसिनाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन् । उनको भनाइमा आफू अनुपस्थित रहेको अवस्थामा मुद्दा चलाइएको थियो र आफ्नो पक्ष राख्ने उचित अवसर दिइएन ।

अब प्रश्न उठ्छ– उनी स्वदेश फर्किएपछि फैसलाविरुद्ध पुनरावेदन गर्ने अवसर पाउँछिन् कि पाउँदिनन् ?

नोभेम्बर २४ को एसोसिएटेड प्रेसको रिपोर्टअनुसार हसिनासँग फैसलाविरुद्ध पुनरावेदन गर्न निर्धारित ३० दिनको समयसीमा थियो, जुन बितिसकेको छ ।

अभियोजन पक्षका अनुसार अब उनको मृत्युदण्ड कार्यान्वयन रोक्ने सामान्य कानुनी बाटो बाँकी छैन । यद्यपि, राष्ट्रपतिसँग क्षमादान दिने अधिकार छ ।

त्यसैले हसिना बंगलादेश फर्किएपछि सबैभन्दा पहिले उनको गिरफ्तारी र सजाय कार्यान्वयनसँग सम्बन्धित कानुनी प्रक्रिया अघि आउनेछ ।

तर बंगलादेश प्रवेश गर्नासाथ उनको मृत्युदण्ड कार्यान्वयन भइहाल्छ भन्नु उचित हुँदैन । त्यसका लागि सम्बन्धित कानुनी प्रक्रिया र अन्य संवैधानिक व्यवस्थाको प्रश्न पनि महत्त्वपूर्ण हुनेछ ।

–बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?