१० मंसिर, काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । साथै, उक्त निर्णय फिर्ता लिन कांग्रेसले सरकारसँग माग पनि गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीले गरेको निर्णयबारे जानकारी गराउँदै जारी विज्ञप्तिमा सरकारले उक्त निर्णयप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको जनाइएको छ ।
‘सरकारले सुकुमवासीका घर भत्कायो, व्यवस्थापन र लालपुर्जाको आश्वासन दियो, महिनौँसम्म अनिश्चिततामा राख्यो र आज अस्थायी आश्रयबाट समेत हटाउन खोज्दैछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको नेपाली कांग्रेसको ठहर छ ।’
सरकारसँग कानुनको पालना गर्ने विवेक मात्र होइन, नागरिकको पीडा बुझ्ने करुणा पनि हुनुपर्ने कांग्रेसको भनाइ छ ।
‘असहाय नागरिकप्रतिको सरकारको पछिल्लो व्यवहारमा त्यही करुणा र मानवीय संवेदनाको गम्भीर अभाव देखिएको छ । राज्य नागरिकको अभिभावक हो । घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रय समेत खोस्नु होइन,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै, पार्टीले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको कांग्रेसको निर्णयमा उल्लेख छ ।
‘भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या दमन र विस्थापनबाट होइन, न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गरिनु पर्दछ । सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेस निर्णयमा भनिएको छ ।
होल्डिङ सेन्टरको समन्वय र सहजीकरण समिति गठन पनि कांग्रेसले गरेको छ ।
केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको समितिलाई उक्त समितिको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया 4