१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी खाली गराउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले होल्डिङ सेन्टर खाली गर्न जारी गरेको सूचना र रातारात पीडित परिवारमाथि त्रास सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उचित विकल्प र सुरक्षित आवासको सुनिश्चितताबिना सेन्टर खाली गर्न दबाब दिनु अमानवीय र गैरजिम्मेवार भएको बताएकी छन् ।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत विस्थापनको पीडा भोगिरहेका नागरिकलाई राज्यले थप पीडा र असुरक्षा दिने नभई अभिभावकत्व प्रदान गर्नुपर्ने बताएकी छन् । होल्डिङ सेन्टरमा रहेका ग्यास सिलिन्डरसमेत उठाएर लगिएको खबरले सरकारको व्यवहारमाथि प्रश्न उठाएको उनको भनाइ छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाको अवस्थासमेत ख्याल नगरी बिहीबार बिहानदेखि खानासमेत बन्द गर्ने निर्णय गरिएको भन्दै उनले आपत्ति जनाएकी छन् ।
उनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र आफ्ना नागरिकप्रति जिम्मेवार बन्न आग्रह गरेकी छन् । ‘पहिले वैकल्पिक आवासको सुनिश्चितता गर, त्यसपछि मात्रै होल्डिङ सेन्टर खाली गर्ने प्रक्रिया अघि बढाऊ,’ सांसद गुरुङले लेखेकी छन्, ‘रातिको समयमा उर्दी जारी गरेर, डर र त्रास देखाएर नागरिकलाई विस्थापित गर्ने काम तत्काल बन्द गरियोस् ।’
यी परिवार पनि यही देशका नागरिक भएको उल्लेख गर्दै उनले उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र मानवीय मर्यादाको रक्षा गर्नु राज्यको दायित्व भएको बताएकी छन् । ‘पीडितलाई त्रास होइन, भरोसा देऊ। विस्थापितलाई सडकमा होइन, सुरक्षित आवासमा पुर्याऊ,’ उनले सरकारको ध्यानाकर्षण गराउँदै भनेकी छन् ।
प्रतिक्रिया 4