+
+
Shares

देउवा समूहमा सभापतिको दौड : शशांक र विमलेन्द्र आमने-सामने

पूर्वसभापति शेरबहादुर देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने चाहना राखे पनि डा. शशांक कोइराला र विमलेन्द्र निधिले सभापति बन्ने तयारी अघि बढाएका छन् ।

केशव सावद केशव सावद
२०८३ मंसिर १० गते १९:४०

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस देउवा समूहको १५औं महाधिवेशन नजिकिँदै गर्दा सभापति पदका लागि दुई जना आकांक्षी देखिएका छन् ।

पूर्वसभापति शेरबहादुर देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने चाहना राख्दै आए पनि समूहभित्र दुई नेताले सभापति बन्ने तयारी अघि बढाएका हुन् ।

देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ गठन गरी समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको छ ।

यसअघि उक्त समूहका नेताहरूले कोइरालालाई भावी सभापतिका रूपमा अघि सार्ने संकेत गरेका थिए । तर पछिल्लो समय पूर्वउपसभापति विमलेन्द्र निधिले पनि सभापति पदमा उम्मेदवारी दिने आन्तरिक तयारी थालेका छन् ।

यससँगै देउवा समूहभित्र सभापतिका लागि कोइराला र निधिबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

निधिले बुधबार मात्रै महाधिवेशन तयारी समितिको संयोजकको जिम्मेवारी पाएका कोइरालालाई भेटेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनीहरूबीच चुनदेवीस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको थियो ।

स्रोतका अनुसार कोइरालालाई देउवा समूहको महाधिवेशन तयारी समिति संयोजक बन्न सघाएको भन्दै निधिले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

तर, संयोजक कोइरालाले भने केही प्रतिक्रिया नजनाएको कोइरालानिकट एक नेताले अनलाइनखबरलाई जानकारी दिए । निधिनिकट स्रोतले पनि कोइरालाले कुनै जवाफ नदिएको पुष्टि गरेको छ ।

‘विमल दाइले कुरा गरिरहनुभएको छ । उहाँले हिजोमात्रै शशांक कोइरालासँग कुरा गर्नुभएको हो,’ निधिनिकट स्रोतले भन्यो, ‘उहाँले केही जवाफ दिनुभएको छैन ।’

स्रोतले नेता निधिले सभापति पदको उम्मेदवारका लागि आन्तरिक तयारी गरेको पनि जानकारी दियो । ‘तयारी आफ्नो ठाउँबाट अगाडि बढाइरहनुभएको छ,’ उक्त स्रोतले भन्यो ।

कोइराला र निधि राजनीतिक विरासत बोकेका नेताहरू हुन् । कोइराला बीपी र निधि महेन्द्रनारायणका पुत्र हुन् । बीपी नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् भने महेन्द्रनारायण गान्धीवादी नेताका रूपमा चिनिन्छन् ।

शशांक कोइराला र विमलेन्द्र निधिबीच १३औं महाधिवेशनदेखि नै मिलेर एक जना सभापतिको उम्मेदवार बनाउने विषयमा पटकपटक छलफल भएको थियो । यो संवादमा अर्का नेता प्रकाशमान सिंह पनि हुन्थे । उनीहरूबीच एकअर्काको घरमा ‘लन्च मिटिङ’ समेत हुने गरेको थियो ।

तर, १४औं महाधिवेशनमा निधि र सिंह दुवैले सभापति पदमा उम्मेदवारी दिँदा तत्कालीन महामन्त्री कोइरालाले देउवालाई सघाएका थिए । १४औं महाधिवेशनबाट देउवा सभापतिमा दोहोरिएपछि पनि नेतात्रयबीचको भेटघाट र छलफलले निरन्तरता पाएको थियो ।

देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न गइरहेको १५औं महाधिवेशनमा भने कोइराला र निधिबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । तथापि, देउवा समूहका नेताहरू सहमतिमै नेतृत्व चयन हुने बताउँदै आएका छन् ।

देउवा समूहका एक नेताका अनुसार पूर्वसभापति देउवाले पनि सहमतिमै नेतृत्व चयनको चाहना राखेका छन् । ‘शेरबहादुर दाइले सर्वसम्मत नै नेतृत्व चयन होस् भन्ने चाहनुभएको छ,’ ती नेताले भने, ‘सर्वसम्मत नभए डेमोक्रेटिक पार्टीमा चुनाव हुन्छ ।’

महाराजगञ्जस्थित देउवा निवास (बहालवाला) मा बिहीबार बिहान भेटिएका प्रदेश कार्यसमितिमा रहेका एक नेताले पनि पूर्वसभापति देउवाले सर्वसम्मत नेतृत्व चयनको चाहना राखेको प्रतिक्रिया दिए ।

‘सभापतिज्यूले सर्वसम्मत नै नेतृत्व चयन हुनुपर्छ भनिरहनुभएको छ,’ उनले भने, ‘तर विमल दाइ (बिमलेन्द्र)ले पनि इच्छा राखिरहनुभएको छ । लड्नुहुन्छ या लड्नुहुन्न छलफलपछि टुंगो लाग्ला ।’

देउवा निवासमै भेटिएका एक पूर्वकेन्द्रीय सदस्यले सहमतिमा संयोजक कोइरालालाई नै सर्वसम्मत नेतृत्वमा ल्याउनु पार्टीका लागि हितकर हुने बताए ।

‘लोकतान्त्रिक पार्टीमा चाहना राख्नु, प्रतिस्पर्धामा उत्रिनु नौलो कुरा होइन,’ ती नेताले भने, ‘तर अहिलेको अवस्थामा संयोजन गरिरहेकालाई नै सर्वसम्मत नेतृत्वमा ल्याउनु हामी सबैका हितमा हुन्छ ।’

लामो समय देउवाको अत्यन्तै निकट भएर काम गर्दै आएका नेता निधि १४औं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त महाधिवेशनको पहिलो चरणको निर्वाचनमा चार हजार ७४३ प्रतिनिधिमध्ये चार हजार ६७९ जनाले मतदान गरेका थिए ।

जसमध्ये देउवाले दुई हजार २५८, डा. शेखर कोइरालाले एक हजार ७०२,  प्रकाशमान सिंहले ३७१, निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणमा सिंह, निधि र गुरुङले देउवालाई सघाएका थिए ।

देउवा समूहले २१–२३ मंसिरमा १५औं महाधिवेशन आयोजना गर्ने भन्दै अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ । ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ अन्तगर्तको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलका अनुसार महाधिवेशनमा ८ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, तीन सय जना मनोनीत, भ्रातृ संस्थाबाट दुई सय, जनसम्पर्क समितिबाट २०० तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी ८ हजारभन्दा बढीको सहभागिता रहने उनले बताए ।

देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्यहरूलाई स्वत: केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाएर जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वत: केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराएका थिए ।

यसैबीच, देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने भएको छ । केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय भएको संयोजक कुइँकेलले जानकारी दिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?