+
+
Shares
अध्यादेश राज :

८ महिनामा १३ अध्यादेश, तीन अझै राष्ट्रपतिकहाँ

संसद्मा करिब दुईतिहाइ बहुमत हुँदाहुँदै रास्वपा नेतृत्वको सरकारको प्राथमिकता संसदीय प्रक्रियाबाट कानुन बनाउनुको सट्टा अध्यादेश तर्फ छ ।आठ महिनामा १३ अध्यादेश जारी भएका छन् भने तीनवटा राष्ट्रपति कार्यालयमा विचाराधीन छन्।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ मंसिर १० गते २०:५३

१० मंसिर, काठमाडौं । संसद्को बर्खे अधिवेशन यसपटक करिब ५ महिना भन्दा बढी बस्यो । तर उक्त अधिवेशन बन्द भएपछि सरकारले कात्तिक १७ प्रेस काउन्सिल ऐन संशोधन सम्बन्धि अध्यादेश ल्यायो । उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिस भएको तीन साता भएको छ । तर अध्यादेश जारी भएको छैन ।

प्रेस स्वतन्त्रतासम्बन्धि गम्भीर विषयमा समेत सरोकार राख्ने विषय जोडिएको कानुन अध्यादेशबाट ल्याउने खोजेपछि राष्ट्रपति कार्यालय यसलाई अघि बढाउने कि नबढाउने दोधारमा छ । त्यसैले राष्ट्रपति कार्यालयका अधिकारीहरू भन्छन्,’विधेयक अध्ययनकै क्रममा छौं ।’

यो अध्यादेशले अभिव्यक्ति र प्रेस स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै पत्रकार महासंघ लगायतका सरोकारवालाहरूले राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएका छन् ।

‘संविधानमा भएका मौलिक हक समेत जोडिएका विषयसँग सरोकार राख्ने विषयसँग सम्बन्धित कानुनहरू संसद्बाट नआइ अध्यादेशबाट आयो । त्यसैले यसमाथि अध्ययन हुँदैछ’, एक अधिकारीले भने ।

राष्ट्रपतिले कार्यालयमै अहिले विचाराधीन अरु दुई अध्यादेश पनि छन् । ती अध्यादेश हुन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश।

यी तीनवटै अध्यादेशको विस्तृत विवरण र तिनले संशोधन गर्न खोजेका कानुनबारे सरकारले जानकारी सार्वजनिक गरेको छैन ।

कानुन निर्माणमा संसद् भूमिका कति ?

संसदीय अभिलेखअनुसार रास्वपा नेतृत्वको सरकार बनेयता संघीय संसद्ले अध्यादेश प्रतिस्थापन विधेयक, सामान्य विधेयक, बजेट र बजेट आश्रित विधेयकसमेत गरी १२ वटा ऐन बनाएको छ। यही अवधिमा सरकारले १३ वटा अध्यादेश जारी गरेको छ । तीनवटा राष्ट्रपति कार्यालयमा विचाराधीन छन्।

संसद्बाट बनेका १२ ऐनमध्ये ६ वटा यसअघि अध्यादेशमार्फत संशोधन गरिएका कानुनलाई प्रतिस्थापन विधेयकबाट वैधानिकता दिएका हुन्।

यसमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयकसमेत छन्।

बाँकी ६ ऐनमध्ये तीनवटा बजेटसँग सम्बन्धित छन्- विनियोजन ऐन, राष्ट्र ऋण उठाउने ऐन र आर्थिक ऐन। यी प्रत्येक वर्ष बजेटसँगै संसद्मा प्रस्तुत हुने नियमित विधेयक हुन्।

बजेटसम्बन्धी ऐनलाई अलग गर्दा बाँकी तीनवटा विषयगत ऐनमध्ये राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी ऐन र वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी ऐन नयाँ सरकार गठन हुनुअघि नै संसद्मा पुगेका विधेयकबाट बनेका हुन्।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले २३ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेकी थिइन्।

त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन विधेयक तत्कालीन अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले १८ पुस २०८२ मा अघि बढाएका थिए। यी दुवै विधेयकलाई रास्वपा नेतृत्वको सरकारले अगाडि बढाएर ऐनमा रूपान्तरण गरेको हो।

बाँकी अर्को ऐन नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी ऐन हो। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालय मातहत सारेको थियो। उक्त अध्यादेश निष्क्रिय भएपछि वर्तमान सरकारले १५ असार २०८३ मा विधेयक ल्याएर विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत फर्काएको थियो। संसद्बाट पारित भएपछि ३१ भदौ २०८३ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।

यसरी हेर्दा रास्वपा नेतृत्वको सरकारले आफ्नै पहलमा मस्यौदा तयार गरी संसद्मा विधेयकका रूपमा प्रस्तुत गरेर ऐन बनाएको विषयगत कानुनको संख्या निकै सीमित देखिन्छ।

संसद् छलेर १५५ ऐन संशोधन

वर्तमान सरकारको आठमहिने अवधिमा जारी भएका १३ अध्यादेशले कुल १५५ वटा प्रचलित ऐन संशोधन गरेका छन्। केही नयाँ कानुनी व्यवस्था पनि अध्यादेशमार्फत ल्याइएका छन्।

बर्खे अधिवेशनअघि सरकारले आठवटा अध्यादेश जारी गरेको थियो। तीमध्ये केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद संशोधन अध्यादेश, विश्वविद्यालयसम्बन्धी अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, सम्पत्ति शुद्धीकरण संशोधन अध्यादेश, सहकारी संशोधन अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश थिए।

यीमध्ये केही नेपाल ऐन संशोधन अध्यादेशले भूमिसम्बन्धी ऐन, मालपोत ऐन, वन ऐन, निजामती सेवा ऐन, स्वास्थ्य सेवा ऐन, सामाजिक सुरक्षा ऐन, भू–उपयोग ऐन, बीमा ऐन र विधायन ऐनलगायत १९ वटा ऐन संशोधन गरेको थियो।

विश्वविद्यालयसम्बन्धी अध्यादेशले विभिन्न विश्वविद्यालयसँग सम्बन्धित १५ वटा ऐन संशोधन गरेको थियो भने स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशले ६ वटा ऐनमा संशोधन गरेको थियो। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशले २४ वटा ऐन संशोधन गर्नुका साथै ७७ वटा ऐनका विभिन्न दफा खारेज गरेको थियो। यसरी एउटै अध्यादेशबाट १०१ वटा ऐन प्रभावित भएका थिए।

२ चैत २०८२ अघि सार्वजनिक निकायमा नियुक्त भएका पदाधिकारीलाई नियुक्तिको सर्त, सुविधा र पदावधि जे भए पनि पदमुक्त गर्ने व्यवस्था उक्त अध्यादेशमा थियो। त्यसबाट १५ सयभन्दा बढी सार्वजनिक पदाधिकारी पदमुक्त भएका थिए।

पछि यही अध्यादेशले निष्क्रिय बनाएका कानुनी व्यवस्था पुनः जगाउन प्रधानमन्त्री बालेनले ५ असोज २०८३ मा केही नेपाल ऐनको व्यवस्था जगाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेका छन्। उक्त विधेयक संसद्बाट अनुमोदन हुन बाँकी छ।

बर्खे अधिवेशनअघि जारी आठ अध्यादेशमध्ये चारवटा प्रतिस्थापन विधेयकमार्फत ऐनमा रूपान्तरित भए। बाँकी चारवटा ऐनमा रूपान्तरित हुन सकेनन्।

१६ असोज २०८३ मा बर्खे अधिवेशन अन्त्य भएपछि सरकारले थप आठवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीमध्ये पाँचवटा जारी भइसकेका छन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन, वन, भूमि र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेशसहित जारी भएका पाँच अध्यादेशले १० वटा प्रचलित ऐन संशोधन गर्नुका साथै एउटा नयाँ ऐन सिर्जना गरेका छन्।

बाँकी तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन्।

संविधानअनुसार अध्यादेश संसद्को अधिवेशन सुरु भएपछि दुवै सदनमा प्रस्तुत गर्नुपर्छ। त्यसपछि प्रतिस्थापन विधेयकमार्फत अधिवेशन सुरु भएको ६० दिनभित्र ऐनमा रूपान्तरण गर्नुपर्छ। अन्यथा अध्यादेश निष्क्रिय हुन्छन् र त्यसबाट गरिएका नयाँ वा संशोधित कानुनी व्यवस्था पनि निष्क्रिय हुन्छन्।

रास्वपाको दोहोरो भूमिका

विपक्षमा हुँदा संसद् छलेर अध्यादेशमार्फत कानुन बनाउने प्रवृत्तिको विरोध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेपछि भने त्यही अभ्यासमा देखिएको छ।

रास्वपाका नेताहरूले विपक्षमा रहँदा अध्यादेशको प्रयोगलाई लिएर तत्कालीन सरकारको आलोचना गरेका थिए। २१ फागुन २०८१ मा प्रतिनिधिसभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ संशोधन गर्ने अध्यादेश अनुमोदनका लागि प्रस्तुत हुँदा सात सांसदले अस्वीकृतिको सूचना दिएका थिए। त्यसको नेतृत्वकर्ता थिए, हालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले।

त्यतिबेला उक्त ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाको अर्थ समितिमा दफावार छलफलमै थियो। संसदीय प्रक्रियाबाटै ऐन संशोधन गर्न सकिने अवस्थामा अध्यादेश ल्याइएको भन्दै वाग्लेले सरकारको आलोचना गरेका थिए।

उनले यसलाई संसदीय नियमावली, प्रक्रिया र विषयगत समितिको गरिमाविपरीतको कदम भन्दै सरकारले आफू सक्रिय रहेको देखाउन मात्र अध्यादेश ल्याएको टिप्पणी गरेका थिए।

त्यस्तै, २०८१ भदौ ३१ मा संसद्को वर्षे अधिवेशन अन्त्य भएपछि हिउँदे अधिवेशन बोलाउनुपर्ने माग उठिरहेको थियो। तर, २६ पुस २०८१ मा मन्त्रिपरिषद्ले भूमि, लगानी र सरकारी कामकाजसँग सम्बन्धित कानुन संशोधन गर्न तीनवटा अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्‍यो।

त्यसको भोलिपल्ट तत्कालीन सांसद तथा हालकी कानुनमन्त्री सोबिता गौतमले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएकी थिइन्।

संसद् अधिवेशन आह्वान नगरी कानुन संशोधन गर्न खोजिएकोमा प्रश्न उठाउँदै उनले राष्ट्रपतिले ती अध्यादेश जारी गर्न अस्वीकार गर्ने विश्वास व्यक्त गरेकी थिइन्।

तत्कालीन सांसद मनिष झाले पनि अध्यादेशको प्रयोग विशिष्ट परिस्थितिमा मात्रै हुनुपर्ने तर्क गरेका थिए। १७ माघ २०८१ मा लेख नै लेखेर उनले अध्यादेशलाई ‘कोठे बैठक’ र संसदीय अभ्यासलाई सार्वजनिक बहससँग तुलना गर्दै कानुन निर्माणमा खुला छलफलको महत्त्व औंल्याएका थिए। तत्कालीन सांसद सुमना श्रेष्ठलगायतले पनि अध्यादेशको संवैधानिक व्यवस्था र संसदीय प्रक्रियाको पक्षमा आवाज उठाएका थिए।

तर, अहिले तिनै नेताहरू सम्मिलित रास्वपा नेतृत्वको सरकार अध्यादेशमार्फत कानुन संशोधन गर्ने अभ्यासमा छ। संविधानविद् भीमार्जुन आचार्यका अनुसार संसदीय अंकगणित सरकारका पक्षमा अनुकूल हुँदाहुँदै पनि अध्यादेशको बाटो रोजिनु प्रश्नयोग्य छ।

‘रास्वपाले चाहँदा सरकारलाई संसदीय प्रक्रियाबाट ऐन बनाउन संसदीय इतिहासकै सहज अंकगणित छ,’ आचार्य भन्छन्, ‘तर व्यवहारमा रास्वपा नेतृत्वको सरकार पनि संसद् छलेर ऐन बनाउन उद्यत देखिन्छ।’

संविधानविद् आचार्यका अनुसार विपक्षमा हुँदा रास्वपाले उठाएका संसदीय प्रक्रिया र विधिको शासनसम्बन्धी प्रश्न जायज थिए। तर सत्तामा पुगेपछि उसले पनि उस्तै अभ्यास दोहोर्‍याएको उनको टिप्पणी छ।

‘विपक्षमा हुँदा रास्वपाले अध्यादेशको गलत प्रयोग भएकोमा प्रश्न उठायो। संसद् छलेर ऐन बनाउने प्रवृत्तिमाथि खबरदारी गर्‍यो, ती जायज थिए, हामीले पनि समर्थन गर्‍यौं,’ आचार्य भन्छन्, ‘तर सत्तामा पुगेपछि रास्वपाको पनि उस्तै प्रवृत्ति देखियो। ऐन निर्माण र संशोधनमा अध्यादेशकै बाटो रोज्यो। यहाँ उनीहरूको दोहोरो नीति प्रस्टै देखिन्छ।’

आचार्यका अनुसार विगतमा गठबन्धन सरकारलाई संसद्को पर्याप्त समर्थन नहुने आशंकाका कारण पनि अध्यादेश जारी गर्ने प्रवृत्ति देखिएको थियो। कतिपय अवस्थामा राजनीतिक लाभहानिका लागि समेत अध्यादेश प्रयोग भएका थिए।

तर अहिले करिब दुईतिहाइ बहुमतसहितको एकल सरकार हुँदा पनि अध्यादेशको बाटो रोजिनु किन भन्ने प्रश्न उनी उठाउँछन्।

‘अध्यादेश जारी गर्नु भनेको सारमा राजनीतिक स्वार्थ पूरा गर्नु नै हो,’ आचार्य भन्छन्, ‘संसद्बाट कानुन बनाउन अवरोध हुने भय सरकारलाई हुने रहेछ। अहिले एकल बहुमतको झण्डै दुईतिहाइको सरकार छ। फेरि पनि विधेयक ल्याएर संसद्बाटै ऐन बनाउन संसद्को अवरोध हुन्छ भन्ने भय कार्यकारीलाई किन रहेको होला?’

रास्वपाका सचेतका प्रकाशचन्द्र परियार संसद्को नियमित अधिवेशन नभएका बेला सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था सुनिश्चित रहेको बताउँछन् ।

‘विगतमा संविधानमै तोकिएर ३ वर्ष भित्र कानुन बनाउने भन्ने व्यवस्था हुँदा समेत धेरै कानुन निर्माण गरिएन फलस्वरुप नागरिकहरुले धेरै दु:ख पाए, खुला यात्रामा कानुनी अपर्याप्तताले समस्या ब्यहोर्न पर्यो। अहिले सरकारले जनचाहनाअनुसार परिणाम ल्याउन आवश्यक अध्यादेश ल्याएको हो’ उनी भन्छन् ।

रास्वपा सरकारले भ्रष्टाचार नियन्त्रण प्रशासनिक सुधार, संस्थागत पुनर्संरचना, र विकास निर्माणलाई तीव्रता दिन सदन नभएकाबेला अध्यादेशको अभ्यास गरेको हो उनको दाबी छ ।

‘सरकार नियमित कानुन निर्माण भन्दा पनि अध्यादेशमा रमायो भन्ने भाष्य सिर्जना हुनु अगावै संसद्लाई नै कानुन निर्माणको मूल थलो बनाउनुपर्छ’ सचेतक परियारले भने ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?