+
+
Shares

मलेसिया ठगी प्रकरण : मन्त्रालयबाट गायब फाइल फेला, अनुसन्धान गर्न सीआईबीलाई बुझाइयो

श्रम मन्त्रालयबाटै अनुसन्धानसँग सम्बन्धित फाइल गायब भएपछि सीआईबीले पटक-पटक माग गर्दा पनि आवश्यक कागजात पाउन सकेको थिएन ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ मंसिर १० गते २०:५१

१० मंसिर, काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी र रकम विदेश पठाइएको प्रकरणमा श्रम मन्त्रालयबाट गायब भएको फाइल फेला परेको छ ।

मन्त्रालयले उक्त प्रकरणको सक्कल फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हस्तान्तरण गरेको छ ।

मन्त्रालयबाटै अनुसन्धानसँग सम्बन्धित फाइल गायब भएपछि सीआईबीले पटक–पटक माग गर्दा पनि आवश्यक कागजात पाउन सकेको थिएन ।

श्रममन्त्री रामजी यादवले २ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा ३ सदस्यीय फाइल खोज कार्यदल गठन गरेका थिए ।

कार्यदललाई मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा संकलन गरिएको रकम म्याक्रोटेक कम्पनी मार्फत मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी दिइएको थियो ।

कार्यदलले मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख, कागजात तथा पुराना निर्णयका विवरण अध्ययन गर्दै गायब भएको भनिएको सक्कल फाइल खोजी गरेको थियो ।

कार्यदलले खोजेर ९ मंसिरमा मन्त्री र सचिवलाई फाइल बुझाएको थियो । बुझाइएको फाइल आज मन्त्रालयले सीआईबीलाई हस्तान्तरण गरेको हो ।

फाइल भेटिएसँगै यसअघि अनुसन्धानमा अवरोध बनेको महत्त्वपूर्ण कागजात प्रहरी पहुँचमा पुगेको छ । अब उक्त फाइलमा रहेका निर्णय, रकम विदेश पठाउन दिइएको स्वीकृति र त्यससँग सम्बन्धित कागजातका आधारमा अनुसन्धान अघि बढाउन सीआईबीलाई सहज हुने अपेक्षा छ ।

भेटिएका फाइलमा तत्कालीन श्रम सचिव एकनारायण अर्याल, विनोद केसी र तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवको पालामा निर्णय भएको देखिएको छ ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरी त्यसको ठूलो हिस्सा मलेसिया पठाइएको भन्दै सीआईबीले अनुसन्धान गर्दै आएको छ ।

सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार ७ लाख ५० हजार ९ सय ८८ नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा बढी रकम असुल गरिएको छ ।

यसरी संकलित रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाइएको अनुसन्धानमा खुलेको थियो ।

नेपाल राष्ट्र बैंकमा १६ पटक निवेदन दिएर १७ पटक टेलिग्राफिक ट्रान्स्फर (टीटी) मार्फत उक्त रकम मलेसिया पठाइएको अनुसन्धान अधिकृतहरूले बताएका थिए । रकम लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियास्थित बेस्टिनेटको मेलायन बैंकिङ बर्हाडमा पठाइएको थियो ।

सीआईबीका अनुसार उक्त रकम चार पटक मन्त्रीस्तरीय निर्णय गरेर विदेश पठाइएको खुलेको उल्लेख थियो । तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका ती निर्णयका फाइल मन्त्रालयमा नभेटिएको सीआईबीले जनाएको थियो ।

चार पटकको मन्त्रीस्तरीय निर्णयबाट रकम विदेश पठाइएको देखिए पनि त्यसबाहेक रकम निरन्तर गएको अनुसन्धानबाट खुलेको थियो । रकम विदेश पठाउन स्वीकृति दिँदा के आधार र बेहोरा उल्लेख गरिएको थियो भन्ने विषय अनुसन्धानकै क्रममा थियो ।

३६ स्वास्थ्य संस्थामाथिको छानबिन प्रतिवेदन पनि गायब भएको थियो

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको अनियमितताबारे मन्त्रालयले यसअघि पनि कार्यदल गठन गरेर छानबिन गरेको थियो । उपेन्द्र पौडेल नेतृत्वको कार्यदलले ३६ वटा स्वास्थ्य संस्थामा अनुगमन गरी छुट्टाछुट्टै प्रतिवेदन र मिसिल तयार पारेको थियो ।

ती संस्थाले म्याक्रोटेक प्रालिका नाममा अनधिकृत भ्याट बिल काटेर रकम उठाउने र बैंक खातामार्फत मलेसिया पठाउने गरेको विषय छानबिनमा उठाइएको थियो ।

कार्यदलले ठगी, संगठित अपराध, विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण लगायत विषयमा थप अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

तर, उक्त प्रतिवेदन र मिसिल नै मन्त्रालयबाट गायब भएको थियो । सीआईबीले पटक–पटक पत्राचार गर्दा पनि सक्कल प्रतिवेदन र मिसिल प्राप्त गर्न नसकेको जनाएको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मन्त्रालयसँग सम्बन्धित कागजात मागेको थियो ।

अनुगमन क्रममा श्रमिकबाट सरकारले तोकेको शुल्कभन्दा बढी रकम असुलिएको, स्वास्थ्य संस्थाहरूले म्याक्रोटेकका नाममा रकम उठाएको र त्यसको आर्थिक कारोबार पारदर्शी नभएको विषय समेत उठेको थियो ।

स्वास्थ्य परीक्षण शुल्कमा भएको भनिएको ठगी प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाउँदै व्यवसायी तथा तत्कालीन सरकारी अधिकारीहरूलाई पक्राउ गरेको छ ।

यसअघि कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पक्राउ परेका थिए । त्यसपछि अनुसन्धान क्रममा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी लगायत सरकारी अधिकारीहरू पनि पक्राउ परेका थिए ।

तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार थिए भने आज उनी विराटनगरस्थित नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ परेका छन् ।

उक्त प्रकरणमा संलग्नता देखिएको भन्दै काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते नै पक्राउ पुर्जी लिइएको थियो । तर, पक्राउ पुर्जी जारी भएपछि अर्याल भागेर भारत गएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, विकास रानाभाट समेतको जाहेरीका आधारमा सीआईबीले उक्त प्रकरणमा अनुसन्धान गर्दै आएको हो ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?