+
+
Shares

भोटेकोशी बाढीमा सार्वजनिक यातायात क्षति : ७८२ मानवीय, ४०९ सवारी

क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रतर्फ कुल ७ सय ८२ मानवीय क्षति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते २१:२५

१० मंसिर, काठमाडौं । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति विवरण सार्वजनिक गरिएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित यातायात क्षेत्रका, श्रमिक तथा पीडित परिवारको राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनर्स्थापनाका विषय समेटिएको क्षति मूल्यांकन प्रतिवेदन भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष आज पेस गरेको छ ।

प्रतिवेदनमा समेटिएका सुझाव तत्काल कार्यान्वयन गर्न र यातायात श्रमिक व्यवसायी र नागरिकका समस्या र समाधानबारे समेत छलफल भयो ।

क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रतर्फ कुल ७ सय ८२ मानवीय क्षति भएको छ ।

जसमा चालक ५ सय ३२, सहचालक १ सय ११, यात्रु १ सय ६ र यातायात व्यवसायी ३३ जना छन् । तीमध्ये बेपत्ता ६ सय ७६, मृत्यु ३९, नखुलेको ६४ र घाइते ३ जना छन् ।

त्यसबाहेक १४ विदेशी पर्यटक बाढीमा बेपत्ता भएका छन् । तिनमा १३ जना अस्ट्रेलियन र एक अमेरिकी छन् । त्यसैगरी नमस्ते पासाङल्हामु यातायात प्रालिका चार वटा बसमा यात्रारत तर विस्तृत विवरण नखुलेका १ सय ३ विदेशी तीर्थयात्रु बाढीमा बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सार्वजनिक यातायाततर्फ ४ सय ९ सवारीसाधनमा क्षति पुगेको छ ।

तीमध्ये कन्टेनर ३ सय ११, ट्रेलर १, ट्रिपर ९, ट्रक ३३, बस ३९, मिनी तथा माइक्रोबस ९, मोटरसाइकल १, पर्यटकीय चार पाङ्ग्रे ३ तथा सार्वजनिक जिप/भ्यान/सुमो ३ छन् ।

कुल ४ सय ९ सवारीमध्ये ३ सय ८४ वटाको अनुमानित क्षति रकम १ अर्ब ४० कराृड ७३ लाख ७७ हजार ८ सय ७५ रुपैयाँ बराबर रहेको प्रतिवेदनमा छ । बाँकी २५ सवारीको क्षति विवरण खुलेको छैन ।

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा २६ भदौमा १३ सदस्यीय मूल्यांकन समिति गठन भएको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद भए पनि पुन: १५ दिन थपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?