११ मंसिर, जनकपुरधाम । नेपाल र भारतका प्रधानमन्त्रीले गत सोमबार संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम-अयोध्या रेलसेवाले शनिबारबाट नियमित सेवा सुरु गर्दैछ ।
भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट झण्डा देखाएर उद्घाटन गरेपछि गुडेको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान पौने १० बजे एक हजारभन्दा बढी यात्रुसहित जनकपुरधाम आइपुगेको थियो ।
जनकपुरधाममा रेलको भव्य स्वागत गरिएको थियो। सोही दिन भारत फर्किएको रेलले मंसिर १२ गतेदेखि साप्ताहिक रूपमा नियमित सेवा सञ्चालन गर्न लागेको हो ।
रेल सेवा सञ्चालनमा सुरक्षा व्यवस्थापन पनि महत्त्वपूर्ण पक्ष हो। करिब ६ सय ४ किलोमिटर दूरीमा सञ्चालन हुने यस रेलको नेपालतर्फ करिब २७ किलोमिटर भूभाग पर्छ भने बाँकी ५ सय ७७ किलोमिटर भारतीय भूमिमा पर्छ ।

सञ्चालनमा आउने रेल भारतीय रेल नै हो । लामो दूरी र ठूलो संख्यामा यात्रु आवतजावत गर्ने भएकाले यसको सुरक्षा व्यवस्थापनबारे पनि चासो र बहस भइरहेको छ ।
उद्घाटन यात्रामा आएको सरयू–कमला एक्सप्रेसमा केही भारतीय सुरक्षाकर्मी पनि देखिएका थिए । तर, उनीहरूसँग हातहतियार थिएन। यसले कतिपयलाई दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा रेलको सुरक्षा गर्ने हुन् कि भन्ने जिज्ञासा पनि पैदा गरेको छ ।
तर, त्यस्तो होइन । उद्घाटन यात्रामा केही सरकारी अधिकारीसहित केही सुरक्षाकर्मी पाहुनाको रुपमा आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दुई देशमा सञ्चालन हुने यो रेलको सुरक्षा आ–आफ्नो देशको भूमिमा सम्बन्धित देशकै सुरक्षाकर्मीले गर्ने व्यवस्था मिलाइएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाली भूभागमा रेलको सुरक्षा सशस्त्र प्रहरीले गर्नेछ ।
भंगहा–जनकपुर–जयनगर रेलसेवाको सुरक्षामा पनि सशस्त्र प्रहरी नै खटिँदै आएको छ ।
‘दुई देशबीचको रेल सेवामा आ–आफ्नो देशको भूमिमा आफ्नै पक्षले सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ। हाम्रो भूमिमा नेपाली सुरक्षाकर्मी र भारतीय भूमिमा भारतीय सुरक्षाकर्मीले सुरक्षा दिनेछन्। अहिले दुई देशबीच यस्तै सहमति भएको छ,’ उनले भने ।
भारतमा रेल्वेको सुरक्षा व्यवस्थापन मुख्यतः रेल्वे सुरक्षा बल (आरपीएफ) र सरकारी रेल्वे प्रहरी (जीआरपी) ले संयुक्त रूपमा गर्छन् । यसबाहेक रेल सञ्चालनको प्राविधिक सुरक्षाका लागि छुट्टै निकायसमेत सक्रिय छन् ।
यसअनुसार जयनगरदेखि अयोध्यासम्म भारतीय पक्षका सम्बन्धित सुरक्षाकर्मीले जनकपुरधाम–अयोध्या रेलसेवाको सुरक्षा गर्नेछन् ।
तर, धनुषाको इनर्वा–दशगजा क्षेत्रदेखि भारतको बिहारस्थित जयनगरसम्मको तीन किलोमिटरभन्दा बढी भूभाग भारतीय भूमि हो । जनकपुर–जयनगर रेलमार्गको लिक रहेको उक्त भारतीय भूमिमा रेल सञ्चालनका लागि नेपालले करिब २८ बिघा जग्गा खरिद गरेको छ ।
भू-भाग भारतको भए पनि उक्त दूरीमा नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरीले नै सुरक्षा दिँदै आएको छ । यद्यपि, त्यस क्षेत्रमा सशस्त्र प्रहरीले हातहतियारसहित प्रवेश गर्न पाउँदैन ।

जनकपुरधाम–अयोध्या रेलसेवामा पनि यही व्यवस्थाअनुसार सशस्त्र प्रहरीले भारतीय भूमिमा पर्ने जयनगरदेखि इनर्वासम्म र नेपाली भूमिमा रेलको सुरक्षा गर्नेछ ।
‘जनकपुरधाम–अयोध्या रेलसेवामा पनि जनकपुरधामदेखि जयनगरसम्मको सुरक्षाको जिम्मेवारी हामीले नै पाएका छौँ । जसरी भंगहा–जयनगर रेलसेवामा सुरक्षा दिइरहेका छौँ, त्यसरी नै यसमा पनि सुरक्षा प्रदान गर्छौं,’ सशस्त्र प्रहरी धनुषाका प्रमुख भीमबहादुर विष्टले अनलाइनखबरसँग भने ।
इनर्वादेखि जयनगरसम्मको करिब तीन किलोमिटर दूरीमा रहेको भारतीय भूमिमा सशस्त्र प्रहरीले हातहतियारसहित सुरक्षा दिन पाउनुपर्ने प्रस्ताव नेपाली पक्षले छलफलका क्रममा राखेको थियो। तर, भारतले उक्त प्रस्ताव स्वीकार गरेको छैन।
स्रोतका अनुसार सञ्चालनमा आएको जनकपुरधाम–अयोध्या रेलसेवामा भारतीय पक्षले रेल आफ्नो भएको र ठूलो संख्यामा भारतीय नागरिकले यात्रा गर्ने भएकाले जनकपुरधामसम्मै आफ्ना सुरक्षाकर्मी परिचालन गर्नुपर्ने प्रस्तावसमेत राखेको थियो।
तर, त्यसमा नेपाली पक्ष सहमत भएन। अन्ततः आ–आफ्नो देशको भूमिमा सम्बन्धित देशकै सुरक्षाकर्मीले सुरक्षा दिने विषयमा सहमति भएको हो ।
यस्तो छ रेल सञ्चालनको समय तालिका र भाडा
सीता जन्मस्थल जनकपुरधाम र राम जन्मस्थल अयोध्यालाई जोड्ने यो रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन, सीमापार आवागमन र सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुने रेलले करिब १९ घण्टामा यात्रा पूरा गर्नेछ ।
नेपाल रेलवे कम्पनीले सार्वजनिक गरेको नियमित सेवा समयतालिकाअनुसार रेल शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट भारतको अयोध्याका लागि प्रस्थान गर्नेछ । रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या क्यान्ट पुग्नेछ । यस क्रममा जयनगर, मधुवनी, सिसौ, सीतामढी, रक्सौल, नरकटियागञ्ज, पनियहवा, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायतका स्टेसनमा रोकिनेछ ।

त्यस्तै, अयोध्या क्यान्टबाट सोमबार साँझ ५ बजेर ५० मिनेटमा जनकपुरधामका लागि प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्नेछ ।
रेलको सीटको भाडा समेत निर्धारण गरिएको छ । प्रचलित सटही दरअनुसार नेपाली रुपैयाँमा स्लिपरको ५८४, एसी थ्री टियर इकोनोमीको १ हजार ४१६, एसी थ्री टियरको १ हजार ५४४ र एसी टु टियरको २ हजार १७६ रुपैयाँ पर्ने जनाएको छ ।
मंसिर १२ गतेदेखि संचालन हुने रेलको लागि सर्वसाधारणले बिहीबारदेखि नै टिकट कटाउन थालेका छन् । त्यसको लागि जनकपुर रेल्वे स्टेशन काउन्टरमा नेपाली कर्मचारीले नै अनलाइनबाट टिकट काट्ने गरेको प्रबन्ध सञ्चालक पराजुलीले बताए । सुरुमा टिकट काट्दा प्राविधिक समस्याहरू आएको र अहिले ठीक ढंगले भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4