११ मंसिर, विराटनगर । तीन जनाको मृत्यु र तीन जना वेपत्ता हुनेगरी सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनामा गम्भीर कमजोरी देखिएको छ ।
कोशी प्रदेश सरकारद्वारा गठित छानबिन तथा अध्ययन समितिले बोटको भारवहन क्षमताभन्दा बढी यात्रु र सुरक्षा मापदण्डको बेवास्तासँगै नियमनको अभावका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
गत कात्तिक ८ गते दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको वराहक्षेत्र नगरपालिका–१, चतरातर्फ चालकसहित १५ जना यात्रु लिएर आउँदै गरेको वराह त्रिवेणी जल यातायात प्रालिको पानीबोट धनकुटाको साँगुरीगढी–१०, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै वेपत्ता छन् । आठ जना यात्रु सकुशल घर फर्किएका छन् ।
दुर्घटनामा सुनसरी वराहक्षेत्र–१ की ५८ वर्षीया लिला राई, उदयपुर बेलका–९ का ५५ वर्षीय रत्न बहादुर नेपाली र भोजपुर हतुवागढी–७ की ५ वर्षीया आर्या राईको मृत्यु भएको थियो ।
झापा कन्काई–४ का ७ वर्षीय सुयोग मगर, सुनसरी वराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र वराहक्षेत्रकै २३ वर्षीया मनिका राई वेपत्ता छन् । बोटका चालक सुनसरी वराहक्षेत्र–१ का २४ वर्षीय सुमन मगर प्रहरी हिरासतमा छन् ।
त्यसपछि प्रदेश सरकारले कात्तिक १० गतेको निर्णयअनुसार प्रदेश सचिव अस्मान तामाङको संयोजकत्वमा गठित १२ सदस्यीय छानविन समिति गठन भएको थियो ।
उक्त समितिले प्रतिवेदनमा अनुमति र नियमनबिना लापरवाहीपूर्ण तरिकाले पानीबोट सञ्चालन भएको निष्कर्षसहित प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ ।
दुर्घटनामा परी उद्धार गरिएकी घाइते यात्रु तीर्थकुमारी मगरले समितिलाई बताएअनुसार सप्तकोशी नदीमा बोटको स्टार्ट अचानक बन्द भएको थियो । चालकले मेसिन भएको स्थानमा गई पुन: चलाउने प्रयास गर्दागर्दै बोटमा पानी जमेर एक्कासी नदीमा डुबेको थियो ।
‘हामी सबै यात्रुले लाइफ ज्याकेट लगाएका थियौँ, तर मेरो ७ वर्षको छोरा सुयोगसँग लाइफ ज्याकेट थिएन । पानीमा डुब्नेबित्तिकै मेरो हातबाट बच्चा छुट्यो,’ उनले समितिसमक्ष बयानमा भनेकी छन् ।
दुर्घटनालगत्तै चालक सुमन मगरले सोही दिशातर्फ आउँदै गरेको अर्को बोटका चालक खगेस श्रेष्ठलाई फोन गरेका थिए ।
वराहक्षेत्र–२ का पाइलट खगेस श्रेष्ठका अनुसार दिउँसो करिब १:५५ बजे सजीव श्रेष्ठमार्फत फोनमा जानकारी पाएलगत्तै उनले आफ्नो बोटमा रहेका यात्रुलाई सुरक्षित किनारमा ओरालेर खाली बोट दुर्घटनास्थलतर्फ लगेका थिए ।
२–३ मिनेटमै लाइफ ज्याकेटका कारण पानीमा तैरिँदै बगेर आएका ११ जनाको उनले उद्धार गरेका थिए । जसमध्ये गम्भीर अवस्थाका तीन जनाको उपचारका क्रममा मृत्यु भयो ।
दुर्घटनाका चार प्रमुख कारण
बोट पानीमा डुबी वेपत्ता भएकाले यान्त्रिक कारण यकिन हुननसके पनि स्थलगत निरीक्षण, सरोकारवालासँगको छलफल र प्राविधिक अध्ययनका आधारमा समितिले दुर्घटनाका चार मुख्य कारण औँल्याएको छ ।
समितिले बोट चलाइरहेको अवस्थामा इन्जिन फेलियर वा स्टेयरिङ तथा ब्रेक प्रणालीमा खराबी आउनु वा इन्धन सकिनुले तीव्र बहाव भएको नदीमा बोट अनियन्त्रित भई पानी पसेको हुनसक्ने जनाएको छ ।
दुर्घटना भएको बोटमा भारवहन क्षमता लगभग ६८० केजी मात्र रहेकोमा बच्चासहित १५ जना यात्रु र सामानको अनुमानित तौल बोटको क्षमताभन्दा बढी रहेको समितिको निष्कर्ष छ ।
तीव्र वेगमा बग्ने नदीमध्येको एक सप्तकोशीको छाल र घुम्तीमा बोटको सन्तुलन मिलाउन नसकिएको तथा तीव्र बहावमा यस्ता बोट चलाउन उपयुक्त भए नभएकोबारे कुनै विस्तृत सम्भाव्यता अध्ययन नै नभएको समितिको निष्कर्ष छ ।
नियमित प्राविधिक जाँच र कानुनी प्रक्रिया पूरा नगरी असुरक्षित रूपमा बोट सञ्चालन गरिएको समितिको निष्कर्ष छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालका अनुसार यात्रु ओसारपसार गर्ने पानीबोटहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएपनि सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएको थिएन ।
दुर्घटनाग्रस्त वराह त्रिवेणी जल यातायात प्रालि पनि २०८० मङ्सिर ११ गते कम्पनी ऐन, २०६३ अनुसार दर्ता भए पनि जलयात्रा नियमावली वा वराहक्षेत्र नगरपालिकाबाट समेत सञ्चालन अनुमति लिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सप्तकोशी नदीमा चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर र दक्षिणतर्फ वारावहि क्षेत्रमा करिब ५ किलोमिटर दूरीमा २० वटाभन्दा बढी मोटरबोट सञ्चालनमा छन् । तर, तीमध्ये अधिकांश कानुनी प्रक्रिया पूरा नगरी चलिरहेका छन् ।
वराहक्षेत्र नगरपालिकाको विवरणअनुसार आव २०८२–०८३ मा सम्बन्धित निकायको सहमति लिएर व्यवसाय सञ्चालन गर्न ६ वटा कम्पनी दर्ता भएका छन् । तर बोटहरू कसरी चलिरहेका छन् भन्नेबारे नियमित अनुगमन तथा निरीक्षण नगरेको समितिको ठहर छ ।
छानबिन समितिले आवश्यक अनुमतिपत्र नलिएका संस्थाबाट हुँदै आएको यात्रु ओसारपसार र पानीबोट सञ्चालनमा तत्काल रोक लगाउन भनेको छ ।
समितिले सप्तकोशीमा सञ्चालनमा रहेका अधिकांश पानीबोट कम्पनीहरूले कम्पनी रजिस्ट्रारमा दर्ता गरेपनि जलयात्रा नियमावली, २०६३ बमोजिम सञ्चालन अनुमतिपत्र नलिएको ठहर गरेको छ ।
प्रतिवेदनमा भनिएको छ,‘जलयातायात सेवा सञ्चालन गरेका संस्थाहरूले जलयात्रा नियमावली, २०६३ बमोजिम तीन महिनाभित्र सञ्चालन अनुमतिपत्र लिएर मात्र व्यवसाय सञ्चालन गर्न प्रदेश सरकारबाट सम्बन्धित निकायमा निर्देशन हुनुपर्ने र सो अवधिमा अनुमतिपत्र प्राप्त नगर्दासम्म यात्रु ओसारपसार र जलयात्रामा रोक लगाउन उपयुक्त हुने छ ।’
नेपालको संविधानको अनुसूची–६ अनुसार जल उपयोग प्रदेशको एकल अधिकार र अनुसूची–७ अनुसार ‘जलमार्ग’ संघ र प्रदेशको साझा अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश सरकारले आफ्नै प्रदेशभित्रका जलमार्गका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्न सक्ने समितिको निष्कर्ष छ ।
हाल प्रचलित जलयात्रा नियमावली, २०६३ ले पर्यटकको मनोरञ्जन र दृश्यावलोकन (र्याफ्टिङ) लाई मात्र समेटेको र सर्वसाधारणलाई भाडा लिएर ओसारपसार गर्ने कानुनी व्यवस्था स्पष्ट नभएको भन्दै समितिले नेपालका ठूला नदीहरूमा जलयातायात सञ्चालनमा एकरूपता कायम गर्न संघीय मापदण्डसहितको ‘छाता कानुन’ निर्माणका लागि संघीय सरकारको विषयगत समितिमा कोशी प्रदेश सरकारबाट प्रस्ताव पेस गर्न सुझाव दिएको छ ।
प्रतिक्रिया 4