+
+
Shares

बाढी प्रभावित स्वास्थ्य सेवा पुनर्स्थापना गर्न कोइका र यूएनडीपीबीच सम्झौता

कोइकाले यूएनडीपीसँग १० लाख अमेरिकी डलरको अनुदान सम्झौतामा हस्ताक्षर गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १९:३७

११ मंसिर, काठमाडौं । नुवाकोट, धादिङ र रसुवा जिल्लाका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँग १० लाख अमेरिकी डलरको अनुदान सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतामा कोइका नेपाल कार्यालयका देशीय निर्देशक कोङ मुहेओन र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले हस्ताक्षर गरे ।

१० भदौमा भोटेकोशी–त्रिशूली करिडोरमा आएको आकस्मिक बाढीले यस क्षेत्रका स्वास्थ्य संस्थाहरूमा क्षति पुर्‍याउनुका साथै प्रेषण (रेफरल) सेवा अवरुद्ध पारेको थियो ।

कोरियाली विपद् राहत टोलीको परिचालन र १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता सहितको आपत्कालीन प्रतिकार्यपछि, गणतन्त्र कोरिया सरकारले अब राहतबाट प्रारम्भिक पुनर्लाभ (अर्ली रिकभरी) तर्फको रूपान्तरणमा सहयोग गरिरहेको बताएको छ ।

आगामी १० महिनाभित्र यस परियोजनाले त्रिशूली अस्पताललाई केन्द्रमा राखेको प्रेषण सञ्जाल अन्तर्गतका २१ वटा स्वास्थ्य संस्था पुनर्स्थापना गर्ने छ ।

यसअन्तर्गत स्वास्थ्य उपकरण, ब्याकअप पावर तथा सूचना प्रविधि (आईटी) उपकरण उपलब्ध गराइने छ भने स्वास्थ्य चौकीहरूको मर्मतसम्भार र प्रिफ्याब्रिकेटेड स्वास्थ्य संरचना निर्माण गरिने छ । यसबाट १२ वटा स्थानीय तहका २ लाख ५३ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन् ।

यो परियोजना नुवाकोटमा कोरियाको अघिल्लो साझेदारीमा आधारित छ । सन् २०१५ को भूकम्पपछि कोरियाले नेपालको पुनर्निर्माणका लागि १ करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएको थियो । सोही सहयोगबाट कोइकाले ५० शैय्याको त्रिशूली अस्पताल निर्माण गरी २०२१ डिसेम्बरमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

सोही कार्यक्रम अन्तर्गत यूएनडीपीले करिब १७ लाख अमेरिकी डलरको योगदानमा भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्थाहरूको भग्नावशेष हटाउनुका साथै नुवाकोटमा १० वटा नयाँ स्वास्थ्य संस्थाहरूको निर्माण सम्पन्न गरेको थियो ।

कोरिया र यूएनडीपीबीच लामो समयदेखि साझेदारी रहँदै आएको छ । सन् १९६६ देखि २००९ सम्म यूएनडीपीले कोरियामा २ सय ७० भन्दा बढी विकास परियोजनामा सहयोग गरेको थियो ।

सहयोग प्राप्त गर्ने राष्ट्रबाट दाता राष्ट्रका रूपमा विकसित भएको कोरियाले हाल यूएनडीपी सिओल पोलिसी सेन्टरको आतिथ्य गरिरहेको छ र यूएनडीपीको मुख्य स्रोतमा प्रमुख योगदानकर्ता रहेको छ ।

नेपालमा कोइका र यूएनडीपीले पोखरामा पुन: प्रयोग र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनामा पनि सँगै काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?