+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१७ बलमा ५० रन आवश्यक
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
व्यंग्य :

प्रधानमन्त्रीज्यू, आउनुहोस् बाघचाल खेलौं ! 

प्रधानमन्त्रीज्यू आउनुहोस् बाघचाल खेलौं ! तपाईं बहादुर शेर, बाघको साइड लिनु, म भेडाहरूको तर्फबाट खेल्छु !

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०७९ जेठ १६ गते १५:२६

प्रधानमन्त्रीज्यू आउनुहोस् बाघचाल खेलौं ! तपाईंको पनि खासै काम छैन, म नि फुर्सदमा छु। तपाईं बहादुर शेर, बाघ तपाईं नै लिनुहोस्, म भेडाहरूको तर्फबाट खेल्छु ! निजगढको रुख काटेरै भए पनि एउटा लौरी चाहिं चाहिने भो। आजकाल लौरी भएको गोठालोलाई मात्रै गणेशमान जस्तै सम्मान छ। आउनुहोस् ट्याम पास गरौं, बाघचाल खेलौं !

के चिन्ता छ र ? चुनावसम्म परमादेश छँदैछ। चुनावमा गठबन्धनले बहुमत पुर्‍याइदिइहाल्छ । ढुक्कै ढुक्क ! हुन त सातचोटि प्रधानमन्त्री बन्नुहुन्छ भन्ने शाश्वत भविष्यवाणी छँदैछ। प्रधानमन्त्रीको कुर्सी टिकाइरहन दक्षिणेश्वर महाराजको धाममा ढोगभेट गरेर आइसक्नु भो ! थप आशीर्वाद लुम्बिनीमा सुती–सुती पनि पाइहाल्नु भो !

नीति-कार्यक्रम भइगो र बजेट भाषण त्यसैलाई निरन्तरता दिने हो । वृद्ध भत्ता बढाइदिने, पाउने उमेर घटाइ दिने, लोकप्रिय मत आइहाल्छ !

अब असार लागे अलि बाटामा घाँस उम्रे उखेल्न प्रधानमन्त्री रोजगार कार्यक्रम छँदैछ ! आफ्नो वडामा भएको हारको परिपूर्ति सँगै जिल्लामा मजबुत हुन एउटा मेडिकल कलेजको प्रस्ताव फाल्दिए भैगो।

चुनाव अघि भूमि पूजन चाहिं गर्नु है ज्योतिषको सल्लाह र साइत हेरेर ! नेपाल हो बन्न त समय लागिहाल्छ त्यसमा तपाईंलाई दोष लाग्दैन, नपत्याए गेटा हेरे भैगो !

जयजयकार गर्ने आफ्नै गुटका कार्यकर्ता छँदैछन् ! विरोध गर्ने गर्दै गरुन्। एमसीसीको विरोधमा रेलिङ भाँच्नेहरूको ढाड स्थानीय चुनावले भाँच्यो ! कराउने कराउँदै गरुन्; काग कराउँदैछ पिना सुक्दैछ !

कर असुली भइहाल्छ। आफ्नै सरकार छ, पुलिस, अख्तियार पनि नियुक्ति बढुवाको आसमा जे भन्यो त्यही गरिहाल्छन्। राजदूत त सब आफ्नै छोरा, भतिजा हुन्। अन्य उच्च निकायमा आफ्नै कार्यकर्ता भरिसक्यौं।

लिपुलेकको नक्सा पास सबैले गरेकै हो, अरू के चाहियो? संस्थापन इतरको गुटसँग अहिले नै तपाईंको समूहलाई टक्कर दिने बहुमत छैन। प्रतिपक्ष आफ्नै खुट्टामा बन्चरो हान्ने खालको छ। अन्य पक्ष धेरै उफ्रे पार्टी प्रवेश गराई या गठबन्धनमा सामेल गरी एक दुईलाई मन्त्री दिन्छु भने भैगो !

आफ्नो गाउँ-आफैं बनाऊँ, स्थानीय प्रतिनिधिले हेरिहाल्छन्। प्रदेशका सांसद भए के नभए के ? कसलाई चासो !

आर्थिक मन्दी भ्रम हो। आईएनजीओ अनुदान र दातृ निकाय ऋण दिइहाल्छन् । फजुल खर्ची आयात रोकौं बस्नु भनी सक्यौं।

परदेशका चुनावमा आउँदैनन्। भोट हाल्न पाउने नि हैनन्। भारतबाट आउने दाजु-भाइलाई जे गरे पनि रोक्नै सकिंदैन। गाउँ-घरमा के भइरहेको छ सोधेर साध्यै छैन। नेपाली हुन् चान्स पाए गरी हाल्लान्। भूकम्प र नाकाबन्दीमा त देश चल्यो। त्यहाँबाट विरोध गरे पनि तिनको आवाज काठमाडौं पुग्दैन।

ज्योतिषको भविष्यवाणी ६ चोटि मिलिसक्यो ! सातौं चोटि पनि मिल्छ। ढुक्क हुनुहोस्। आनन्दमा बस्नुहोस् ! त्यो न्यानो आरामको कुर्सीमा निद्रा लाग्छ ! फेरि भिडियो भाइरल हुन्छ ! आउनुहोस् ट्याम पास गरौं ! तपाईंको पनि खासै काम छैन, म नि फुर्सदमा छु। प्रधानमन्त्रीज्यू आउनुहोस् बाघचाल खेलौं ! तपाईं बहादुर शेर, बाघको साइड लिनु, म भेडाहरूको तर्फबाट खेल्छु !

खप्तडछान्ना–५, पिठातोला, बझाङ

लेखक
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?