+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेक्युरिटी प्रिन्टिङमा डेढ अर्ब खर्च, थालिएन छपाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:५९

३१ असार, काठमाडौं । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रिन्टिङ) ले किनेको ‘सेक्युरिटी प्रेस मेसिन’ प्रयोगविहीन भएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले १ अर्ब ५३ करोड १३ लाख खर्च गरिसक्दा समेत सुरक्षण मुद्रणको काम सुरु नभएको औल्याएको छ ।

सुरक्षण मुद्रण केन्द्रको लागि जेनेरेटर खरिदमा ४८ करोड ७० लाख ६२ हजार, इन्धन ट्याङ्की निर्माणमा १८ करोड ७७ लाख ४६ हजार, गाडी खरिदमा १ करोड ९९ लाख ४ हजार, निर्माण स्थल विकासमा ४ करोड १५ लाख ५२ हजार, कम्प्युटर प्लटर खरिदमा २ करोड ४३ लाख ५७ हजार, बिजुली तार व्यवस्थापनमा ४ करोड ७२ लाख १ हजार समेत गरी ८० करोड ७८ लाख २२ हजार खर्च भएको जनाएको छ ।

हाई सेक्युरिटी डिजिटल प्रिन्टर प्रोडक्सन सिस्टम २ सेट, डाय कटिङ मेसिन १, स्टोरेज ५, सर्भर २ को ७२ करोड ९० लाख ७० हजार, १ थान सवारी साधन ४४ लाख ३९ हजारसमेत ७३ करोड ३५ लाख ९ हजार खर्च भएको महालेखाले जनाएको छ ।

‘खरिद भएका मेसिन, उपकरण, औजार, सवारीसाधनको उपयोग नभएकोले उपयोग हुनुपर्छ’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

महालेखाले ७३ करोड ८८ लाख ९९ हजार रुपैयाँमा मेसिन किन्दा गरेको बदमासी पनि महालेखाले उजागर गरेको छ ।

२ फागुन २०७७ मा सुरक्षण मुद्रण केन्द्रले ‘सेक्युरिटी प्रेस मेसिन’को खरीदका लागि ठेक्का आह्वान गर्नासाथ आपूर्तिकर्ता कम्पनीहरूले ‘स्पेसिफिकेसन’मार्फत म्याक्स इन्टरनेशनलसँगको मिलेमतोमा प्रतिस्पर्धा सीमित गरिएको दाबी गरेका थिए ।

सुरूमा मिलेमतोको आरोप अस्वीकार गरेको सुरक्षण केन्द्रले ३ चैतको म्याद सकिनुभन्दा एक हप्ताअघि आरोप स्वीकार गर्दै २६ फागुनमा स्पेसिफिकेसन बदल्यो । प्रिन्टिङ सिस्टम आपूर्ति गरेको अनुभव र छापिने सामग्रीको आउटपुट रिजोलुसन घटाएपछि अन्य कम्पनी पनि प्रतिस्पर्धामा त आए, तर ठेक्का म्याक्स इन्टरनेशनलले नै पायो ।

प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेशनलभन्दा बढी मूल्य कबोल गरे पनि म्याक्सलाई नै ठेक्का दिंदै मुद्रण केन्द्रले कारण भन्यो, ‘तोकिएको सबै योग्यता म्याक्सले मात्रै पूरा गर्न सक्यो ।’

म्याक्स इन्टरनेशनल दूरसञ्चार प्राधिकरणले विद्यालयहरूमा सूचनाप्रविधि ल्याब स्थापना गर्न लगाएको ३ अर्ब ५० करोड मूल्यको ठेक्कामा ओम्नी समूहसँग ज्वाइन्ट भेन्चर गरेको कम्पनी थियो । महामारीमा मेडिकल सामग्री खरिदमा मुछिएको ओम्नीको भेन्चर कम्पनीले यो ठेक्का पाउने पहिल्यै तय थियो ।

केन्द्रका प्रमुख विकल पौडेल कम मूल्य प्रस्ताव गरे पनि इलिमिकले सर्भर प्रणालीमा राख्न प्रस्ताव गरेको हुवावे कम्पनीको उपकरण स्पेसिफिकेसन अनुसार म्याच नभएको बताएका थिए ।

महालेखाले स्पेसिफिकेसन संशोधन गर्दा लागत अनुमानमा समेत असर पर्ने अवस्थामा संशोधित स्पेसिफिकेसनको आधारमा लागत अनुमान संशोधन गर्नुपर्नेमा संशोधन नभएको औल्याएको छ ।

‘खरिद पूर्व तयारी एवम् आवश्यकता पहिचान हुन नसक्दा खरिद कारबाही सुरु गरेपश्चात्‌ सामानको स्पेसिफिकेसन परिवर्तन गर्नुपरेको देखिन्छ । आवश्यक मेसिन उपकरणको स्पेसिफिकेसन यकिन गरी खरिद व्यवस्थापन गर्नुपर्छ’ महालेखाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?