+
+

डा. अनिल कार्की समूहको चुनावी प्रतिबद्धता : स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १९:३६

१४ पुस, काठमाडौं । नेपाल चिकित्सक संघको २९ औ‌ केन्द्रीय कार्यकारिणी समितिको सन्निकट निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको डा. अनिल कार्की नेतृत्वको लोकतान्त्रिक तथा पेसागत समूहले १७ बुँदे विस्तृत प्रतिबद्धता (घोषणापत्र) सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक तथा पेसागत समूहले आफ्नो कार्ययोजनासहित विस्तृत प्रतिबद्धता मतदातामाझ प्रस्तुत गरेको हो ।

माघमा हुने संघको निर्वाचन लागि डा. कार्कीको समूहले चिकित्सक सेवा आयोगको स्थापनादेखि अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाको निम्ति छुट्टै ‘स्वास्थ्य सुरक्षा बल’ बनाउन पहल गर्ने एजेण्डा अघि सारेको छ ।

लोकतान्त्रिक समूहले चिकित्सकको तलब वृद्धिसहित आर्थिक उन्नतिका लागि सरकारलाई थप दबाब सिर्जना गर्ने र नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सम्पूर्ण चिकित्सकहरुको सबै प्रकारका बीमा सरकारले नै गरिदिने व्यवस्था गर्न दबाब दिने बताएको छ ।

डा. कार्की नेतृत्व समूहको चुनावी एजेण्डामा चिकित्सा शिक्षामा पिजीको सिट संख्या बढाउँदै पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्थाको हटाउन पैरवी गर्ने उल्लेख छ ।

चिकित्सकको वैज्ञानिक ड्युटी समय हुनुपर्ने संसारभरका अभ्यास भएकाले चिकित्सकलाई तोकिएको ड्युटीमा काम गर्ने र लामो ड्युटी आवरपछि बार्षिक १५ फोर्स लिभ (अनिवार्य विदा) दिने व्यवस्था गनुपर्ने र यसका लागि पहल गरिने प्रमुख एजेण्डा रहेको जनाएको छ ।

त्यसैगरी, चिकित्सक र उनीहरुको परिवारका लागि डेटिकेट अस्पतालको निमार्ण र संघीय संरचना अनुसार सात वटै प्रदेशमा संघको कार्यालय स्थापना गर्ने एजेण्डाको रूपमा उठाएको छ ।

१० वर्षभन्दा बढी समयदेखि संघमा आबद्ध भएर काम गरेको अनुभव भएकाले आफूलाई संघको नेतृत्व गर्न सहज हुने लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. कार्कीले बताए । ‘संघको समस्या मैले राम्रोसँग बुझेको छु,’ डा. कार्की भने, ‘अघिल्लो समितिका अधुरा काम र नयाँ योजनासहित काम गर्ने अठोट लिएको छु ।’

अघिल्लो कार्यकालमा पनि राम्रो काम गरेकाले र लोकतान्त्रिक समूहले सबै वर्गको सम्मिश्रण भएको बलियो टिम उतारेका कारण पनि निर्वाचनमा आफ्नै प्यानलको जित निश्चित भएको डा. कार्कीको दाबी छ ।

‘राज्यले पढ्नका लागि शुल्क तोकिदिएको छ, तर श्रम तथा पैसा खर्चिएर डाक्टर बनेपछि योग्यताअनुसारको तलब तोकिदिएको अवस्था छैन,’ कार्की भन्छन्, ‘नयाँ कार्यसमितिले डाक्टरको योग्यता अनुसारको तलबको विषय सरकारसमक्ष जोडदार रूपमा प्रस्तुत गर्छ ।’

स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुन कार्यान्वयनमा जोड दिने, स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, पिजीको सिट संख्या बढाउन पहल गर्ने र पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्था हटाउन पैरवी गर्ने संघको छुट्टै अनुसन्धान विभाग बनाउने, चिकित्सकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन लगायतका विषय पनि एजेण्डामा राखिएको छ ।

अध्यक्षमा डा. कार्की रहेको यो समूहले उपाध्यक्षमा मधेश प्रदेशबाट डा. निरजकुमार सिंह, बागमतीबाट डा. प्रकाश बुढाथोकी, गण्डकीबाट डा. रिजन श्रेष्ठ र सुदूरपश्चिमबाट प्रशान्त भट्टलाई अगाडी सारेको छ ।

त्यसैगरी, महासचिवमा डा. सचिव तिवारी हुँदा सदस्यहरुमा डा. अमृत रञ्जन मिश्र, डा. सिर्जना विष्ट, डा. किशोर खत्री , डा. योञ्जनकुमार झा लगायतका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह–सचिवमा डा. लिर्जन महर्जन र सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल निविरोध निर्वाचित भएका छन् ।

प्रदेश १ बाट उपाध्यक्षमा डा. विपेश आचार्य, लुम्बिनी प्रदेशबाट डा. नन्दकुमारी गुरुङ, कर्णाली प्रदेशबाट डा. किशोरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की र प्रगतिशील समूहबाट डा. सन्तोष पौडेल र स्वतन्त्रबाट डा. शिवजी विक्रम सिलवालबीच चुनावी प्रतिस्पर्धा हुने छ ।

संघको २९ औं केन्द्रीय कार्यकारिणीसमितिमा एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सह कोषाध्यक्ष एक र ६ जना सदस्य गरी १९ जना रहने व्यवस्था छ । संघको चुनाव काठमाडौं उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र १९, २० र २१ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?