+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिद्धबाबा सुरुङमार्गको पूर्वतयारीका काम धमाधम

टोपराज शर्मा टोपराज शर्मा
२०७९ चैत १३ गते ११:३२

१३ चैत, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा सुरुङमार्ग खन्न सुरु गर्नुअघि पूर्व तयारीको काम जारी छ । रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भको थियो । सम्झौता अनुरूप काम भए अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।

हाल बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू फागुन दोस्रो हप्तादेखि जारी छ ।

सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ ।

‘सुरुङमार्ग निर्माण गर्नु अघि बनाउनुपर्ने कामहरु धमाधम भइरहेका छन्’ सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय प्रमुख होमबहादुर एसीले भने, ‘सुरुङको प्रवेशस्थल रामापिथेकस पार्क (ड्यामसाइट) मा डाइभर्सन बनिरहेको छ, डिजाइन स्वीकृत हुने वित्तिकै सुरुङ मार्गको काम पनि अघि बढ्छ ।’

स्वीस कम्पनीले गरेको अध्ययन प्रतिवेदन अनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी गत वर्ष ग्लोबल टेण्डर आह्वान गरिएको थियो । कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाएपछि विभागले सुझाव सहित थप परिमार्जनका लागि स्वीस कम्पनीलाई पठाएको छ । स्वीस कम्पनीबाट  अन्तिम डिजाइन आएपछि त्यसलाई स्वीकृत गरेर सुरुङ निर्माण सुरु हुने एसीले बताए ।

सुरुङमार्ग तिनाउ गाउँपालिकाको विकास र समृद्धिमा कोशेढुंगा सावित हुनेमा आशावादी रहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् । ‘वर्षौंसम्म भाषण मात्र हुने काम नहुने गर्दा सुरुङमार्ग गफ मात्रै हो भन्ने लाग्थ्यो,’ तिनाउ गाउँपालिकाका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘तर अहिले फिल्डमै काम धमाधम भएको देख्दा अब सुरुङ मार्गको सपना पूरा हुन्छ भन्ने विश्वास पलाएको छ ।’

सुरुङ मार्गको बीच–बीचमा ३ वटा ठाउँमा केही भाग खुला (स्केप) राखिने छ । सुरुङको बीचमा केही घटना भइहाले त्यहीँबाट बाहिर निस्कन सकिने छ ।

सुरुङ मार्ग डिजाइन एण्ड बिल्ड मोडालिटीमा निर्माण हुन थालेको हो । राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम प्रक्रिया पूरा गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गर्न समेत भनिएको छ । सुरुङ मार्ग निर्माणपछि चिनियाँ कम्पनीले पाँच वर्षसम्म मर्मत तथा सञ्चालन गर्नुपर्ने छ ।

यसअघि स्वीस कम्पनीले गरेको एक अध्ययनले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा देखि दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र अत्यन्तै जोखिमयुक्त रहेको निष्कर्ष निकालेको थियो ।

सिद्धबाबा क्षेत्रको तीन किलोमिटर क्षेत्रमा बर्सेनि माथिबाट पहिरो र ढुंगा खसेर हुने दुर्घटनाले जनधनको क्षति हुने गरेको थियो । पछिल्लो १० वर्षमा यही क्षेत्रमा करिब ७० जनाले ज्यान गुमाएका छन् । १० वर्षको अवधिमा यहाँ १८ वटा बस, ७ वटा ट्रक, कार जीप ९ वटा र १९ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

२०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले पाल्पाको दोभान खण्डसहित देशका विभिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । विष्णु पौडेल अर्थमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले २०७७ मंसिरमा १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?