१८ चैत, धनगढी । धनगढीमा भएको छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा खेलमा ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टारले प्रतियोगिताको उपाधि जितेको हो ।
थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे । अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयको चौंथो मिनेटमा कप्तान बिक्रम लामाले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाएका हुन् । उपाधि जितेसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।
थ्री स्टार क्लब पहिलो पटक सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी थ्रीस्टार क्लबका कप्तान विक्रम लामा भए । उनले नगद एक लाख प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक थ्रीस्टारका मोहमद ताहा, उत्कृष्ट रक्षक थ्रीस्टारकै पिटर सेगनु, उत्कृष्ट मिडफिल्डर मनाङका विसोन गुरुङ, सर्वाधिक गोलकर्ता मनाङकै सायीजमल, उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र उदयमान खेलाडी सुदुरपश्चिम ११ का दिपेन्द्र मलासी भए । उनीहरुले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टिमको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबर्द्धक रहेको प्रतियोगिताको विजेतालाई प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा लगायतले पुरस्कृत गरेका छन् ।
प्रतिक्रिया 4