+
+

देशभरका वनमा डढेलो, फैलियो वायु प्रदूषण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १४:१८

१ वैशाख, काठमाडौं । देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ९२ स्थानमा डढेलो लागिरहेको छ ।

तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको छ । चितवन, पर्सा प्युठान लगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराई, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।

वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार प्युठानका १५ , चितवनका १४ र पर्साका १० मा डढेलो लागिरहेको छ । पाल्पाका ७, दाङका ६ र गोर्खाका ५ स्थानमा डढेलो सक्रिय छ ।

डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

वैज्ञानिक विधि र प्रविधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको र डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् ।

एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ । २०६७ मा बनेको रणनीति कार्यान्वयनका लागि अहिले पनि कार्ययोजना नै बनेको छैन ।

वातावरण विभागका अनुसार डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको पाइएको छ । ‘यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएको छ । प्रदूषणको बढ्दो स्तरका कारण तपाईं हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किनुहुन र सबै नागरिकले घर बाहिर निस्किंदा विशेष सावधानी अपनाउनु हुन अपिल गरिन्छ,’ विभागले भनेको छ ।

वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आमसमुदायलाई विभागले आग्रह गरेको छ ।

फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न र वायु प्रदूषण मौसममा पनि भर पर्ने तथा डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?