+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते २१:२९

१७ जेठ, धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सरकारले बजेटमा गेटामा विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेले सरकार आफ्नै निर्णयबाट पछि हटेका कारण बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने बताए । पाण्डेले चक्काजाम गर्ने, प्रदेश प्रमुख, मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउनेलगायतका आन्दोलनको कार्यक्रम रहेको जानकारी दिए ।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले जनप्रतिनिधि र राजनीतिक दलसँग अन्तर्क्रिया गरेर थप आन्दोलनका कार्यक्रम तय गरिने बताए । उनले गेटामा मेडिकल विश्वविद्यालय नबनाएसम्म आन्दोलन नरोकिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिवद्धता जनाएका थिए । सरकारको नीति तथा कार्यक्रममा पनि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने उल्लेख थियो ।

तर बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले विश्वविद्यालय बनाउन नदिने चलखेल भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बजेटमा १०० शय्याको अस्ताल र स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको छ ।

निर्णय सच्याऊ : एमाले

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले पनि सरकारले आफ्नै निर्णयविरुद्ध गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर बजेटमा समावेश गरेकोप्रति विरोध जनाएको छ ।

प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले बुधबार विज्ञप्ति जारी गर्र्दै मन्त्रिपरिषद्को निर्णय, सरकारको नीति तथा कार्यक्रमको समेत विपरीत हुनेगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा खेदजनक भएको उल्लेख गरेका छन् ।

६ सय शय्याको अस्पताल सञ्चालन गर्नेगरी भौतिक संरचना निर्माण भइसक्दा एक सय शय्याको अस्पताल र प्रतिष्ठान बनाउन बजेट विनियोजन गर्ने निर्णय सरकारले प्रदेशबासीसँग गरेको सहमति विपरीत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपाल सरकारको यो घोषणाले गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भन्दा पनि निर्माण भएको अर्बौंको संरचनालाई अलपत्र पारेर १०० शय्याको अस्पताल सञ्चालन गर्ने नियत देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्णय तत्काल सच्याउदै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न जोडदार माग गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?