+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद   

रासस रासस
२०८० असार १६ गते १४:३१

१६ असार, ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।

छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।

गाउँपालिकाले अहिले पालिकास्तरीय अस्पताल, प्रहरी चौकी अक्षते र बहुउद्देश्य सभाहल तथा आयुर्वेदिक अस्पताल सुलडाँडामा बनाउने सहमति भएपछि सामबोटमा प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताए ।

सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारितसमेत गरेको छ । भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड रकम विनियोजन गरिएको प्रवक्ता विकले बताए ।

उनले भने, ‘करिब छ वर्ष अगाडि हामीहरुले बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज सुरु गरेका थियौँ, अहिले पनि सोही घरबाटै काम भइरहेको छ, कार्यालय सञ्चालन भएको घरमा पनि पर्याप्त कोठा छैनन्, त्यसले गर्दा विभिन्न शाखा गाउँपालिकाले भीमसेन प्राविको भवनबाट सञ्चालन गरेको छ ।’

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाले अहिले बल्ल केन्द्रको टुङ्गो लगाएको छ । केही महिनाअगाडि गाउँपालिकाले जग्गा व्यवस्थापनका लागि सूचान आह्वान गरेको सात स्थानमा जग्गा उपलब्ध गराउने आवेदन गरेकामा दुई स्थानमा निःशुल्क, दुई स्थानमा सशुल्क र तीन स्थानमा सार्वजनिक जग्गा उपलब्ध गराउने निवेदन परेको थियो ।

सोहीअनुसार गाउँपालिकाले सामबोटमा जग्गा छनोट गरेको हो । गाउँपालिकाले अहिलेसम्म प्रशानिक भवन बनाउन नसक्दा वार्षिक सात लाख २६ हजार रुपैयाँ गुमाइरहेको छ । हरेक महिना पालिकाले ६० हजार पाँच सय रुपैयाँ कार्यालय भाडा तिर्दै आएको छ । यसै वर्षदेखि भवन निर्माणको कार्य सुरु गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

‘अहिलेसम्म गाउँपालिकाको कामकाज सबै भाडाको घरबाट सञ्चालन भएको छ, एकै घरमा पर्याप्त कोठा नहुँदा ठाउँठाउँमा घर भाडामा लिएका छौँ, सेवाग्राहीले एकै ठाउँबाट सेवा लिन पाउनुभएको छैन, यसले समस्या बनाइरहेको छ’, अध्यक्ष थापाले भने, ‘धेरै समयको कसरतपछि अहिले समबोटमा जग्गा प्राप्त भएको छ, नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै भवन निर्माणको काम सुरु गर्ने गरी बजेटसमेत विनियोजन भएको छ, हाम्रै कार्यकालमा सक्ने गरी काम गर्छौं ।’

सुलडाँडा र अक्षते १५ मिनेटको दूरीमा पर्छन् । अक्षतेमा सानो बजार छ । त्यो बजार मध्यपहाडी लोकमार्गमै पर्छ । अहिले कार्यालय रहेको सुलडाँडा भने लोकमार्गभन्दा केहीमाथि पट्टि पर्छ । गाउँपालिकामा सेवा लिन आएका सेवाग्राही एकै ठाउँमा सबै शाखा नहुँदा छुट्टाछुट्टै ठाउँमा जानुपर्ने बाध्यतामा छन् । प्रशासनिक भवनसहित अन्य संरचना बनाउन स्थानीय लगायतको सहयोग आवश्यक परेको अध्यक्ष थापा बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?