+
+

नख्खुमा अनुहारको विकृतिसम्बन्धी समस्याको निःशुल्क उपचार गर्ने अस्पताल बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:२४

७ साउन, काठमाडौं । ललितपुरको नख्खुमा अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्याको निःशुल्क उपचार गर्ने अस्पताल स्थापना हुने भएको छ ।

विश्वविख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा ‘द फेस हस्पिटल’ स्थापना हुन लागेको हो । खुँडोपना तथा अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्या भएका नेपाली नागरिकहरुले निःशुल्क उपचार पाउने भनिएको यो अस्पतालको शनिबार शिलान्यास गरिएको छ ।

डेढ वर्ष भित्र निर्माण सम्पन्न गरी सेवा दिने योजना रहेको नेपालका क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहले जानकारी दिए । उनकै पहलमा नेपालमा ‘द फेस हस्पिटल’ स्थापना हुन लागेको हो । ‘उपचार त निःशुल्क नै छ । उपचारका लागि बिरामीसँग आउने सहयोगीको खाना तथा आउँदा-जाँदाको गाडि भाडा समेत यो संस्थाले व्यहोर्छ,’ डा. सिंहले भने ।

डा. सिंहले नख्खुमा शिलान्यास भएको अस्पताल करिब डेढ वर्षभित्र सञ्चालनमा आउने र बसुन्धारास्थित केडीसी जनरल अस्पतालको सहकार्यमा भने केही दिन भित्रैबाट सेवा दिन सुरु गर्ने बताए ।

उनका अनुसार सुरुवाती चरणमा प्रतिवर्ष करिब ५०० जनालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिने लक्ष्य छ । भविष्यमा भने वाषिर्करुपमा १५ सय जनासम्मलाई निःशुल्क सेवा दिने लक्ष्य लिइएको छ ।

‘नेपालमै पहिलो पटक खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्याको उपचारका लागि उच्चरुपले विशिष्टिकृत सेवा-संस्थाको स्थापना गर्ने मेरो लामो समयदेखिको सपना साकार हुन गइरहेको छ,’ शनिबार केडीसीमा आयोजित पत्रकार सम्मेलनमा डा. सिंहले भने, ‘त्यसमा पनि यस जटिल तथा महंगो उपचार पद्धतीलाई क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलजस्तो विश्वस्तरमा योगदान गरिरहेको संस्थाको आर्थिक सहायतामा निःशुल्क उपचार सेवा केडीसी अस्पतालमा बसुन्धारा र नख्खुमा दिन पाउँदा म अझै हषिर्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?