+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

युक्रेनको हिरासतबाट सिद्धार्थ ढकाल र विकास राई : ‘सुरक्षित छौं, रिहा हुन्छौं कि हुँदैनौं थाहा छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते २१:०९

२७ मंसिर काठमाडौं । रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ ।

रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ । छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् ।

‘अहिले म युक्रेनको कष्टडीमा छु, आजको दिनसम्म राम्रै छ, सुरक्षित नै छु’, काभ्रेका सिद्धार्थ ढकालले भनेका छन्, ‘म रिहा हुन्छु कि हुदिनँ थाहा छैन । पछि के हुन्छ भनेर भन्न सकिदैन । सकुशल नै हुन्छु होला ।’

३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि रुसी सेनामा भर्ना भएर धेरै दुःख पाएको बताएका छन् । ‘पैसाका लागि रुसी सेनामा भर्ना हुँदा मैले धेरै नै दुःख पाएँ’ उनले भनेका छन् ।

विकासले रुसमा धेरै जोखिम भएकाले पैसाका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् । ‘यहाँ धेरै गाह्रो छ, जिन्दगीको सवाल छ’, उनले भनेका छन््, ‘जो–जो यहाँ आउने सोचमा हुनुहुन्छ, कृपया नआउनु होला । उनीहरु हामीलाई जंगली जनावर जस्तै व्यवहार गर्छन् । यहाँ बाँच्न धेरै गाह्रो छ ।’ उनले रुसी सेनामा भर्ना भएका आफ्ना केही साथीहरु मारिएको समेत खुलाएका छन् ।

तीन महिनाअघि अध्ययनका लागि मस्को गएका २२ वर्षीय ढकाल रुसी सेनामा भर्ना भएका थिए । मंसिर १८ गते युक्रेनी सेनाले भिडियो सार्वजनिक गरेसँगै उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो ।

युक्रेनमा बन्दी बनाइएका मोरङ लेटाङ नगरपालिका– ३ का विकास राईले नोभेम्बर ५ तारिखदेखि युद्धमा सहभागी भएको र १० दिनअघि युक्रेनमा पक्राउ परेको बताएका छन् । ‘म भाग्यमानी रहेछु, यहाँ (युक्रेन) आएर पक्राउ परेँ र सकुशल हुन पाएँ,’ उनले भने, ‘तर सबैको त्यस्तो हुन सक्दैन ।’

२ मिनेट ४८ सेकेण्डको भिडियो सन्देशमा रुस–युक्रेन युद्ध एकदमै भयानक भएको भन्दै यहाँ नआउन आग्रह गरेका छन् ।

‘यो २१ औं शताब्दीको युद्ध हो । यहाँ मेशिनरी हतियार प्रयोग हुन्छ । यो युद्ध हामीले सोचेको भन्दा एकदमै भयानक छ’ उनले भनेका छन्, ‘मैले आँखै अगाडि साथीहरु ज्यान गुमाएको देखेको छु ।’ उनले नेपालमै भविष्य बनाउन सकिने बताउँदै पैसाको पछाडि परेर ज्यान फाल्नका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?