+
+

गण्डकी विश्वविद्यालयले भन्यो : व्यवस्थापन र कानुनको डिन तोक्ने तयारीमा छौं

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १३:५१

२३ पुस, पोखरा । गण्डकी विश्वविद्यालयले चाँडै नै कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी थालेको छ । विश्वविद्यालयले कार्यक्रमलाई आधार बनाएर त्यहाँ पढाइ हुने सबै संकायको एउटै डिन नियुक्त गरेको थियो ।

फरक विषयलाई पनि एउटै संकायमा राखेर पढाउँदा विद्यार्थीको प्रमाणपत्र नै अवैधानिक हुनेमात्रै नभएर अन्य विश्वविद्यालयले समकक्षताको मान्यता नै नदिने जोखिम बढेको थियो ।

विश्वविद्यालयले त्यहाँ पढाइ हुने खेलकुद व्यवस्थापन (बीएसएम), ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आर्ट्स ब्याचलर्स अफ ल (बीएलएलबी) लाई पनि ‘विज्ञान तथा प्रविधि’ संकायमै राखेर पढाउँदै आइरहेको छ । जबकी बीएसएम र बीबीए व्यवस्थापन संकायअन्तर्गत पर्दछन् भने बीएलएलबी कानुन संकायअन्तर्गत पर्दछ ।

विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले तत्काललाई कानुन र व्यवस्थापनको डिन नियुक्ति प्रक्रिया सुरु गर्न प्रशासनबाट स्वीकृत भइसकेको जानकारी दिए । उनका अनुसार उक्त निर्णय विश्वविद्यालयको न्यासिक परिषदमा पुगिसकेको छ ।

‘हामीलेमात्रै भनेर पनि हुँदैन । हामीभन्दा माथि १७ सदस्यीय न्यासिक परिषद् हुन्छ । त्यसले निर्णय गरेपछिमात्रै डिन नियुक्त हुने हो’, तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘प्रक्रिया केही लामो होला तर, विद्यार्थीहरु ग्राजुएट हुँदासम्म आफ्नै डिनबाट प्रमाणपत्र पाउँछन् ।’

न्यासिक परिषदमा विश्वविद्यालयका कुलपति, शिक्षा क्षेत्र हेर्ने प्रदेश सरकारको मन्त्रालयका प्रदेश सचिवसहित विभिन्न क्षेत्रका बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व १५ जना गरी १७ जना सदस्य रहन सक्ने गण्डकी विश्वविद्यालय ऐन २०७६ ले व्यवस्था गरेको छ । उक्त ऐनको परिच्छेद ४ को बुँदा ९ (ञ) र (ठ)ले विश्वविद्यालयको आवश्यक संकाय तथा शिक्षण संस्थासम्बन्धी व्यवस्था उल्लेख छ ।

विश्वविद्यालयकै नियमावलीमा प्रत्येक संकायको फरकफरक डिन हुनुपर्ने प्रष्ट उल्लेख छ । गण्डकी विश्वविद्यालयको ऐन २०७६ को दफा ९ अनुसार प्रत्येक संकायको एक जना डिन हुनपर्ने स्पष्ट कानुनी व्यवस्था छ ।

तर, उक्त ऐन विपरीत विश्वविद्यालयले त्यहाँ पढाइ हुने ५ वटै विषयको डिनको जिम्मेवारी डा. कपिल अधिकारीलाई दिएको छ । विश्वविद्यालयको सबै संकायको डिन एउटै हुँदा विद्यार्थीको प्रमाणपत्र नै अवैध हुने जोखिम बढेको भन्दै अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।

डिन डा. अधिकारीले अर्को व्यवस्था नहुँदासम्म आफूलाई सबै कार्यक्रमको जिम्मेवारी दिइएको र अर्को व्यवस्था भएपश्चात आफू छोड्न तयार रहेको अनलाइनखबरलाई बताए । ‘सबै डिन एकैपटक नियुक्त गर्दा विश्वविद्यालयलाई गाह्रो हुन्थ्यो । त्यसले अल्पकालीन रुपमा मलाई जिम्मेवारी दिइएको हो’, उनले भने, ‘तत्कालका लागि अहिले चलिरहेका कार्यक्रम अहिलेकै डिनले सम्हाल्ने भन्ने सहमतिमात्रै हो ।’

सबै विषयको डिन एउटै हुँदा विश्वविद्यालय सञ्चालनमा आएको करिब ४ वर्षसम्म निश्चित पाठ्यक्रमबिनै पढाइ भइरहेकोसमेत खुलेको छ । रजिस्ट्रार तिमिल्सिनाले कानुन र व्यवस्थापन विषयका डिन नियुक्त गर्न केही समय अघि नै निर्णय भएर न्यासिक परिषद्लाई भनिसकेको दाबी गरेका हुन् ।

तिमिल्सिनाले विश्वविद्यालयको स्रोत र साधनको सीमितताले एकैचोटि सबै विषयको डिन नियुक्त गर्न नसकिएको जानकारी दिए । ‘भर्खरै खुलेको विश्वविद्यालय हो । हामीले पहिले कार्यक्रम ल्याएर त्यसलाई बल्ल संकायमा लैजादैछौं । सुरुमा त श्रोतको अभावले नै सबै डिन हायर गर्न नसकिएको हो’, उनले भने, ‘अब न्यासिक समितिबाट पारित भएपछि यो समस्या पनि हट्छ ।’

गण्डकी विश्वविद्यालय (जीयू) मा खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआइटी), फार्मेसी (बीफर्मा), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल (बीएलएलबी) विषयमा पढाइ हुँदै आएको छ ।

अहिले विश्वविद्यालयमा पढाइ हुने ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र र ब्याचलर्स अफ आर्ट्स ब्याचलर अफ ल (बीएलएलबी)तर्फ पाँचौं र खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआइटी)तर्फ छैटौं सेमेस्टरको पढाइ भइरहेको छ । विश्वविद्यालयमा अहिले ४७५ जना विद्यार्थी अध्ययनरत छन् ।

गण्डकी विश्वविद्यालय प्रदेशको आफ्नै विश्वविद्यालय हो । सातै प्रदेशभरिमा गण्डकी प्रदेशले सबैभन्दा पहिले विश्वविद्यालय स्थापना गरेको थियो । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक २०७६ पारित भएर विश्वविद्यालय स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?