+

शेयर बजार

३० च्याप्टर
Chapter - 2

शेयर बजार भनेको के हो ? अथवा स्टक मार्केट भनेको के हो ?

२०८० चैत  १४ गते १४:०९ २०८० चैत १४ गते १४:०९

शेयर बजार भनेको धितोपत्रको कारोबार हुने प्राथमिक तथा दोस्रो बजार हो । यसलाई समष्टिगत रूपमा पूँजी बजार समेत भन्ने गरिन्छ । जहाँ विभिन्न तरिकाबाट पूँजीहरूलाई एकत्रित गर्ने तथा एकत्रित गरिएका पूँजीहरूलाई शेयरको रूपमा कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

शेयर बजारलाई अझ स्पष्टसँग व्यक्त गर्नुपर्दा धितोपत्रको दोस्रो बजार अर्थात् स्टक एक्सचेन्जको रूपमा समेत व्यक्त गर्ने गरिन्छ । तर यो दोस्रो बजारको रूपमा मात्रै सीमित नरहेर अझै व्यापक रूपमा रहेको हुन्छ । जस अन्तर्गत प्राथमिक शेयर निष्काशन तथा खरिद–बिक्री, सूचीकृत संस्थाहरूको विभिन्न प्रकारका धितोपत्र तथा वित्तीय औजारहरूको खरिद–बिक्री, सूचीकृत हुने क्रममा रहेका तथा विभिन्न कारणले सूचीकरणबाट बाहिरिएका कम्पनीहरूलाई ओटिसी बजार मार्फत कारोबार गरिने पूर्ण रूपको पारिस्थितिक प्रणाली रहेको हुन्छ ।

हाम्रो देशको शेयर बजारको हकमा हाल विभिन्न प्रकारका कारोबार गर्न योग्य धितोपत्रहरूको कारोबार हुने गरेको छ । शेयर बजार कुनै पनि देशको वित्तीय प्रणालीको एक महत्वपूर्ण अंग हो जहाँ कम्पनीहरूले आफ्नो शेयर तथा अन्य वित्तीय औजारहरूको निष्काशनबाट आफ्नो कम्पनीको लागि आवश्यक रहेको वित्तीय स्रोत जुटाउने गर्दछन् र सूचीकृत हुने गर्दछन् भने त्यस्ता शेयर तथा वित्तीय औजारहरूमा लगानी गर्ने लगानीकर्ता (व्यक्ति र संस्था) हरूले सूचीकृत कम्पनीको शेयर तथा सूचीकृत धितोपत्रहरूको किनबेच गर्छन् । यसले व्यक्ति र संस्थालाई लगानी गर्न, सम्पत्ति निर्माण गर्न, व्यवसाय तथा अर्थतन्त्रको विकासमा सहभागी हुने अवसर प्रदान गर्छ । कम्पनीहरूलाई सार्वजनिक रूपमा शेयर जारी गरेर पूँजी जुटाउन र लगानीकर्तालाई सकेसम्म उच्च प्रतिफल प्राप्त हुने गरी धितोपत्रमा लगानी गर्न यसले सहयोग गर्छ ।

धितोपत्र ऐन २०६३ ले शेयर बजारलाई शेयर वा स्टकमा मात्रै सीमित नराखी धितोपत्र बजारको रूपमा परिभाषित गरेको छ । जहाँ विभिन्न प्रकारका धितोपत्रहरूको कारोबार हुने गर्दछ । धितोपत्र ऐन, २०६३ अनुसार ‘धितोपत्र बजार’ भन्नाले धितोपत्र खरिदकर्ता तथा बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्झनुपर्छ ।

जहाँ धितोपत्र भन्नाले शेयर, स्टक, बण्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनुपर्छ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुनसक्ने वा हस्तान्तरण हुनसक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेत बुझाउँछ भनेर धितोपत्र ऐन, २०६३ मा स्पष्ट व्यवस्था गरिएको छ ।

कुनै पनि देशमा धितोपत्र बजारको अनिवार्य आवश्यकता रहेको छ । धितोपत्र बजारको स्थापना र विकास विना पूँजी परिचालन हुन तथा उद्यमशीलताको विकास हुन असम्भवप्रायः रहेको देखिन्छ । देशको आर्थिक विकासको लागि आवश्यक पूँजी परिचालन गर्न शेयर बजारको विकास हुनुपर्दछ । यद्यपि शेयर बजारमा जोखिम पनि निहित हुन्छ । यसमा लगानी गर्ने जो–कोहीले निहित जोखिमको गहन अध्ययन र अनुसन्धान गर्नुपर्छ साथै आफ्नो लगानी उद्देश्य र जोखिम वहन क्षमतालाई पनि विचार गर्नुपर्छ ।
पछिल्ला केही वर्षहरूमा शेयर बजारप्रतिको चासो बढेको छ । प्राथमिक बजारबाट आईपिओ भर्ने र शेयर बजारमा कारोबार गर्ने नयाँ लगानीकर्ता हरेक दिन थपिने गरेका छन् । सरकार, संसद्, मिडिया लगायतका सार्वजनिक स्थलहरूमा समेत यसको चर्चा हुने गरेको छ । युवा पुस्तामा शेयर कारोबारको चस्का लागेको छ ।

अहिलेको वर्तमान समयमा धेरैका लागि शेयरमा लगानी आर्थिक उपार्जन गर्ने र दीर्घकालीन सम्पत्ति निर्माण गर्ने बाटो भएको छ । यस बजारमा हाल व्यक्तिगत मात्रै नभई संस्थागत लगानीकर्ता पनि बढेका छन् । शेयर बजारको दायरा तथा क्षेत्र फराकिलो हुँदै गएको छ । यति हुँदाहँुदै पनि लगानीकर्तामा शेयर बजार सम्बन्धी आधारभूत बुझाइ तथा ज्ञानको कमी छ ।

शेयर बजारका मुख्य पक्षहरू यसप्रकार छन्ः
१.सार्वजनिक कम्पनीः बजारले कम्पनीहरूलाई शेयर सार्वजनिक गरी पूँजी जुटाउन मद्दत गर्छ । यी शेयरले कम्पनीमा तपाईंंको स्वामित्वको प्रतिनिधित्व गर्छ । तपाईंं जस्ता शेयरहरू खरिद गर्ने व्यक्तिहरू शेयरधनी हुन्छन् ।

२.स्टक एक्सचेन्जः विश्वभर शेयर बजार (संगठित एक्सचेन्ज) मा शेयर सहित अन्य धितोपत्रहरू किनबेच गरिन्छ । अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज (NYSE) तथा नास्दाक (NASDAQ), बेलायतको लन्डन स्टक एक्सचेन्ज (LSE), जापानको टोकियो स्टक एक्सचेन्ज (TSE), भारतको बम्बई स्टक एक्सचेन्ज (BSE) र नेशनल स्टक एक्सचेन्ज (NSE) विश्व प्रसिद्ध स्टक एक्सचेन्ज हुन् । नेपालमा दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने संस्था नेपाल स्टक एक्सचेन्ज (NEPSE) हो ।

३.क्रेता र बिक्रेताहरूः शेयर बजारले खरिदकर्ता र बिक्रेताबीचको अन्तरक्रियालाई सहज बनाउँछ । क्रेताहरू सकेसम्म सस्तोमा शेयर खरिद गर्न खोज्छन् । बिक्रेताहरू आफ्नो शेयर सकेसम्म महँगोमा बिक्री गर्ने प्रयास गर्छन् । स्टक एक्सचेन्जले यिनै लगानीकर्ताको खरिद तथा बिक्री आदेशलाई मेल खाने (म्याच गर्ने) संयन्त्र उपलब्ध गराउँछ ।

४.शेयर मूल्यः यसले स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको शेयरको पछिल्लो बजार मूल्यलाई प्रतिनिधित्व गर्छ । लगानीकर्ताले कम्पनीको वित्तीय स्वास्थ्य, वृद्धिको सम्भावना र समग्र बजार अवस्थाकोे मूल्यांकन गरी शेयर खरिदबिक्री गर्छन् । वित्तीय प्रतिवेदन, आर्थिक सूचकहरू, समाचार र संस्थागत घटनाहरूले शेयर मूल्यलाई प्रभाव पार्न सक्छ ।

५.लगानी कि कारोबारः शेयर बजारमा लगानीकर्ताहरूले सामान्यतया लामो अवधिको लागि शेयर खरिद गरी होल्ड गर्छन् । लगानीकर्ताले कम्पनीको वृद्धि र नाफाबाट लाभ उठाउने लक्ष्य राखेका हुन्छन् । अर्कोतर्फ छोटो अवधिमा मूल्यको उतारचढावको अनुमानबाट लाभ उठाउने प्रयासमा कारोबारी (ट्रेडर)हरू लागेका हुन्छन् ।

६.सूचकांकः नेप्से (Nepse) पाल स्टक एक्सचेन्जको समग्र बजार सूचकांक हो । यसैगरी व्यवसायको प्रकृति अनुसार विभिन्न समूहमा (वाणिज्य बैंक, इन्स्योरेन्स, व्यापार, उत्पादन आदि) छुट्याइएका कम्पनीका अलग्गै सूचकांक छन् । यी सूचकांकले बजारमा हुने शेयर मूल्यको उतारचढावलाई देखाउँछन् ।

७. नियमनः शेयर बजारलाई निष्पक्ष र पारदर्शी ढंगले चलाउनका लागि नियमन आवश्यक हुन्छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) पूँजी बजारको नियामक हो । लगानीकर्ताको अधिकार सुरक्षा गर्ने गरी नियम–कानुन बनाउने र कार्यान्वयन गर्ने काम सेबोनले गर्छ ।

शेयर बजारले सर्वसाधारणमा छरिएर रहेको पूँजी जुटाएर व्यावसायिक कम्पनीको विकास तथा विस्तारमा सहयोग गरी अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले लगानीकर्तालाई लगानी र सम्पत्ति निर्माण गर्ने अवसर प्रदान गर्छ । लगानीकर्ताले लगानी गर्दा कम्पनीको आर्थिक तथा व्यवस्थापकीय पक्षको अनुसन्धान गर्ने बानी बसाल्नु जरूरी छ ।

यहाँ शेयर बजार बारे जान्नैपर्ने केही बुँदा प्रस्तुत गरिएका छन् ।
प्राथमिक बजारः नयाँ जारी गरिएका शेयर, म्युचुअल फन्डका एकाइ, ऋणपत्र (बन्ड वा डिबेन्चर) लगायतका धितोपत्र सार्वजनिक रूपमा खरिद–बिक्री हुने बजार । यहाँ कम्पनी वा सरकारले धितोपत्र बेचेर पूँजी संकलन गर्छन् ।

डिम्याट खाताः विद्युतीय माध्यममा धितोपत्र भण्डार गर्ने खाता । यसबाट लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको धितोपत्रको जानकारी लिन र कारोबारपछि धितोपत्र प्राप्त गर्न र हस्तान्तरण गर्न सक्छन् ।

आईपीओः विभिन्न संगठित संस्था वा कम्पनीले सार्वजनिक रूपमा धितोपत्र जारी गर्ने प्रक्रिया हो । यसले धितोपत्र निष्काशनकर्ताको व्यवसाय वृद्धि र विस्तारका लागि आवश्यक पूँजी जुटाउन मद्दत गर्छ ।

शेयर प्रमाणपत्रः कुनै पब्लिक कम्पनीको हिस्सेदार/अंशियार/शेयरधनी हो भन्ने प्रमाणपत्र । विगतमा कागजी शेयर प्रमाणपत्रहरू जारी हुन्थे आजकल यसले विद्युतीय रूप लिएको छ । यस्ता विद्युतीय रूपमा रहेका शेयरको कारोबार पनि विद्युतीय (कम्प्युटर) प्रणाली मार्फत हुन्छ ।

स्वामित्वः जब तपाईंं कुनै कम्पनीको शेयर खरिद गर्नुहुन्छ तपाईंं त्यो कम्पनीको अंशियार वा मालिक बन्नुहुन्छ । तपाईंंको स्वामित्वमा रहेको शेयरको संख्याले स्वामित्वको हिस्सा निर्धारण गर्छ । यसले तपाईंंलाई कम्पनीको सञ्चालक बन्ने/बनाउने अधिकार पनि दिन्छ ।

स्टक एक्सचेन्जः विभिन्न किसिमका धितोपत्रहरूको दोस्रो बजार कारोबार गर्ने (एउटा लगानीकर्ताले अर्कोलाई बेच्ने)स्थान स्टक एक्सचेन्ज हो । हाल मुलुकमा दोस्रो बजारको रूपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (Nepse) सञ्चालनमा छ ।

ब्रोकर (धितोपत्र दलाल): एक इजाजतपत्र प्राप्त वित्तीय मध्यस्तकर्ता कम्पनी हो जसले लगानीकर्ता र स्टक एक्सचेन्ज बीच मध्यस्तकर्ताको भूमिका निर्वाह गर्छ । यसले लगानीकर्तालाई धितोपत्र खरिद–बिक्रीमा सहयोग गर्छ ।

दोस्रो बजारः पहिले जारी गरिएका धितोपत्र (शेयर, म्युचुअल फन्ड, डिबेन्चर) खरिद–बिक्री गर्ने बजार हो । यसले लगानीकर्तालाई धितोपत्रमा तरलता (बिक्री गरी नगदमा परिणत गर्न सकिने) प्रदान गर्छ ।

ब्लु चिप शेयरः आर्थिक रूपमा सबल, व्यवस्थापकीय दक्षता र निरन्तर प्रतिफल दिएको इतिहास बोकेको कम्पनीको शेयर ।

लाभांशः धेरै कम्पनीहरूले लाभांशको रूपमा शेयरधनीलाई आफ्नो नाफा वितरण गर्छन् । तपाईंंले प्राप्त गर्ने लाभांश कम्पनीमा तपाईंंको स्वामित्वमा रहेको शेयरको हिस्सा बराबर हुन्छ ।

पूँजीगत लाभः लगानीकर्ताले किनेको भन्दा बढी मूल्यमा धितोपत्र बेच्न सक्छन् । यस्तो नाफालाई पूँजीगत लाभ भनिन्छ ।

बुलिस मार्केटः एउटा यस्तो बजार जसमा धितोपत्रको मूल्य निरन्तर बढिरहेको हुन्छ, लगानीकर्ताको आत्मबल उच्च हुन्छ, ठूलो परिमाणमा धितोपत्र किनबेच हुन्छन् ।

बियरिस मार्केटः एउटा यस्तो बजार जसमा धितोपत्रको मूल्य निरन्तर घटिरहेको हुन्छ, लगानीकर्ताको मनोबल कमजोर हुन्छ, थोरै परिमाणमा धितोपत्र किनबेच हुन्छन् ।

साइडवेज बजारः एउटा यस्तो बजार जसमा धितोपत्रको मूल्यमा खास घटबढ हुँदैन, लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा हुन्छन् ।

जोखिम र प्रतिफलः शेयर बजारमा सामान्यतया जोखिम र प्रतिफलबीच सकारात्मक सम्बन्ध हुन्छ । बढी जोखिम लिनेले बढी कमाउँछ । तर यसका अपवाद पनि हुन्छन् भन्ने जानकारी एक सचेत लगानीकर्तालाई हुन्छ ।

ओटीसी बजारः सूचीकृत हुने अवस्था नभइसकेका तथा हुने क्रममा रहेका पब्लिक लिमिटेड कम्पनी वा सूचीकरणबाट निष्काशित वा बाहिरिएका पब्लिक लिमिटेड कम्पनीहरूको शेयर कारोबार हुने बजार हो । जहाँ लगानीकर्ताहरूले त्यस्ता कम्पनीका संस्थापक शेयरमा लगानी गर्न सक्दछन् ।

धेरै पढिएका

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?

आफ्नो सबै लगानी एउटै स्टकमा मात्रै नगर्नुहोस् । पोर्टफोलियो विविधीकरणले विभिन्न स्टकमा जोखिम वितरण गर्न मद्दत गर्न सक्छ । विभिन्न...

0 %

पढिसक्नुभयो !