+

आईपीओ

२३ च्याप्टर
Chapter - 10

आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ

२०८० चैत  १५ गते १९:४९ २०८० चैत १५ गते १९:४९

आईपीओ : कम्पनीले पहिलो पटक सर्वसाधारणलाई शेयर बिक्री गरी स्वामित्व प्रदान गर्छ भने यस्तो प्रक्रियालाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भनिन्छ । यस्तो शेयर स्टक एक्सचेन्जमा सूचीबद्ध हुन्छ र त्यहाँ खरिद र बिक्री गर्न सकिन्छ । कम्पनीले प्रायः ऋण तिर्न, व्यवसाय विकास र विस्तार गर्ने उद्देश्यले आईपीओमार्फत पूँजी संकलन गर्छन् ।

एफपीओ : एक पटक आईपीओबाट सर्वसाधारणमा शेयर निष्काशन गरिसकेको कम्पनीले पुनः शेयर जारी गर्छ भने यस्तो प्रक्रियालाई फरदर पब्लिक अफरिङ (एफपीओ) भनिन्छ । एफपीओलाई व्यवसाय विस्तार गर्न, ऋण तिर्न वा अर्को कम्पनी खरिद गर्ने लगायत विभिन्न उद्देश्यका लागि अतिरिक्त रकम प्राप्त गर्न प्रयोग गरिन्छ ।

सेबोन : नेपाल धितोपत्र बोर्ड (सेबन) नेपाल सरकारले धितोपत्र बजारको शीर्ष नियामकको रूपमा २५ जेठ २०५० मा स्थापना गरेको थियो । यसले धितोपत्र ऐन, २०६३ अन्तर्गत बजारलाई नियमन तथा सुपरीवेक्षण गर्दै आएको छ । सेबोनको सञ्चालक समितिमा सरकारले चार वर्षको कार्यकालका लागि नियुक्त गरेको एक जना पूर्णकालिक अध्यक्ष सहित सातजना सदस्यहरू हुन्छन् । सेबोनले धितोपत्र दर्ता गर्ने, लाइसेन्स जारी गर्ने, नियम कानून बनाउने, सुपरीवेक्षण तथा नियमन गर्ने कार्य गर्छ ।

नेप्से : कम्पनी ऐन–२०६३ अन्तर्गत स्थापना भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) धितोपत्र ऐन–२०६३ अन्तर्गत सञ्चालित छ । नेप्सेले सर्वसाधारणमा जारी भएका धितोपत्र सूचीकरण गरी कारोबारको व्यवस्था मिलाएको हुन्छ । शेयर ब्रोकरहरू नेप्सेको सदस्य हुन्छन् । नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, प्रभु बैंक र अन्य धितोपत्र व्यवसायी नेप्सेका शेयरधनी हुन् ।

विवरणपत्र (प्रोस्पेक्टस) : विवरणपत्र भनेर चिनिने यो आधिकारिक प्रतिवेदनले सम्भावित लगानीकर्तालाई कम्पनीका बारेमा विस्तृत जानकारी प्रदान गरी लगानी गर्ने वा नगर्ने निर्णय गर्न सहयोग पुर्‍याउँछ । स्टक, बन्ड, म्युचुअल फन्डका एकाई जारी गर्ने समयमा विवरणपत्र प्रकाशित गरिन्छ ।

बाँडफाँट : कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँटले लगानीकर्ताहरूलाई शेयर वितरण गर्ने प्रक्रियालाई बुझाउँछ । आईपीओमा माग बराबरको आवेदन परेमा लगानीकर्ताले दिएको आवेदनको आधारमा शेयर बाँडफाँट गरिन्छ भने माग भन्दा बढी आवेदन परेमा गोलाप्रथाद्वारा शेयर बाँडफाँट गरिन्छ ।

बुक बिल्डिङ : बुक बिल्डिङ भनेको शेयर जारी गर्र्दा प्रयोग गरिने मूल्यको खोजीको प्रक्रिया हो । यसमा धितोपत्रको मूल्य निर्धारण गर्न लगानीकर्ताको माग संकलन गर्ने र मूल्यांकन गर्ने गरिन्छ । कम्पनीले विभिन्न चरणमा सम्भावित लगानीकर्ताहरूलाई उनीहरूले तिर्न चाहेको मूल्य पेश गर्न आह्वान गर्छन् । यसरी संकलन गरिएको मूल्यहरूको आधारमा एक किसिमको औसत मूल्य निकालिन्छ र सोही मूल्यको सेरोफेरोमा पुनः बोल–कबोल गर्न भनिन्छ । बुक बिल्डिङलाई निष्पक्ष तथा प्रभावकारी मूल्य निर्धारण तथा वितरण विधि मानिन्छ । यसले शेयर जारीकर्ता र लगानीकर्ता दुवैलाई फाइदा पु¥याउँछ ।

फेस भ्यालु (अंकित मूल्य) : शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले तोकेको हुन्छ ।

मानौं एक लगानीकर्ताले एबीसी कम्पनीको आईपीओ १० कित्ता शेयर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा खरिद गरिरहेको छ भने उसले कुल एक हजार रुपैयाँ लगानी गर्नुपर्छ । तर, स्टक एक्सचेन्जमा सूचीकृत भएपछि लगानीकर्ताको माग र आपूर्तिको आधारमा उक्तशेयरको बजार मूल्य तल–माथि हुन सक्छ ।

आस्वा : आईपीओ, एफपीओ र हकप्रद शेयर जारी गर्दा कम्पनीले ASBA (Application Supported by Blocked Amount) प्रयोग गर्छन् । शेयर खरिद गर्न आवेदन दिने क्रममा लगानीकर्ताले शेयर खरिदका लागि पैसा नपठाई बैंक खातामै आवश्यक पैसालाई ब्लक गरी शेयरको लागि आवेदन दिन सक्छन् । आवेदकलाई आवेदन अनुसारको शेयर एलोटमेन्ट भएको खण्डमा बैंक खाताबाट भुक्तानी हुन्छ । शेयर माग गर्ने तर सो बमोजिम रकम नतिर्ने समस्यालाई ASBA ले समाधान गर्छ ।

सब्स्क्रिप्सन : आईपीओ मार्फत शेयर सार्वजनिक हुँदा लगानीकर्ताले खरिद गर्न चाहेको अवस्थालाई सब्स्क्रिप्सन भनिन्छ । सब्स्क्रिप्सन आईपीओ प्रक्रियाको एक महत्वपूर्ण भाग हो किनभने यसैका आधारमा कम्पनी र अन्डरराइटरलाई लगानीकर्ताको माग अनुसार शेयर बाँडफाँट गर्न सहयोग पुग्छ ।

अन्डरराइटिङ : कम्पनीले शेयर जारी गर्दा सबै बिक्री नभएको खण्डमा ‘म खरिद गर्छु’ भनेर सुनिश्चित गर्ने कार्यलाई अन्डरराइटिङ भनिन्छ । यसबापत अन्डरराइटरले निश्चित शुल्क लिन्छन् । यसले शेयर निष्काशन सफलतापूर्वक सम्पन्न हुन्छ भन्ने सुनिश्चित गर्छ ।

अभौतिकीकरण : भौतिक शेयर प्रमाणपत्रहरूलाई इलेक्ट्रोनिक वा अभौतिकीका रूपमा रूपान्तरण गर्ने प्रक्रियालाई अभौतिकीकरण भनिन्छ । यसले धितोपत्रलाई सुरक्षित गरी राख्न र हस्तान्तरण गर्न सजिलो बनाउँछ । यसबाट धितोपत्रहरू चोरी हुने, नष्ट हुने, च्यातिने जोखिम रहँदैन । अभौतिकीकरण गरिएको शेयर तपाईंको डिम्याट खातामा हुन्छ र त्यसमा पहुँचको लागि मेरो शेयरको सदस्यता लिनुपर्छ ।

सूचीकरण : आईपीओ सफलतापूर्वक सम्पन्न भएपछि कम्पनीले स्टक एक्सचेन्जमा आफ्नो शेयर सूचीबद्ध गर्छन् । यसका लागि स्टक एक्सचेन्ज र कम्पनीको बीचमा सम्झौता हुन्छ । सूचीकरण भएका धितोपत्र मात्रै स्टक एक्सचेन्जमा कारोबार हुन्छन् ।

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

आईपीओ

फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...

आईपीओ

बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

0 %

पढिसक्नुभयो !