आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन् । कम्पनीले शेयर बिक्री गरेर पूँजी वृद्धि गर्दैगर्दा लगानीकर्ताले बढीभन्दा बढी मूल्य तिरुन् भन्ने निष्काशनकर्ताको चाहना हुन्छ भने लगानीकर्ता कमभन्दा कम मूल्यमा शेयर प्राप्त गर्न खोज्छन् । यसकारण दुवै पक्षले जित्ने गरी आईपीओको मूल्य निर्धारण गर्न विभिन्न प्रस्ताव गरेको पाइन्छ ।
१. मूल्यांकन : आईपीओ अघि कम्पनी र यसका अन्डरराइटरले गहन मूल्यांकन विश्लेषण गर्छन् । यसमा कम्पनीको वित्तीय अवस्था, वृद्धिको सम्भावना, प्रतिस्पर्धाको स्थिति र औद्योगिक वातावरणको मूल्यांकन समावेश हुन्छ । विभिन्न मूल्यांकन विधि जस्तै डिस्काउन्टेड क्यास फ्लो, नेट एसेट मेथड, डिभिडेन्ड यिल्ड, अर्निङ मल्टिपल प्रयोग गर्न सकिन्छ ।
२. मूल्य सीमा : मूल्यांकन विश्लेषण र लगानीकर्ताको प्रतिक्रियाको आधारमा, अन्डरराइटरहरूले आईपीओको लागि मूल्य सीमा आकलन गर्छन् । यस सीमामा न्यूनतम मूल्य र अधिकतम मूल्य समावेश हुन्छ । कम्पनी र यसका अन्डरराइटरले उचित मूल्यमा लगानीकर्तालाई आकर्षित गर्न र आम्दानीलाई अधिकतम बनाउने उद्देश्यबीच उचित सन्तुलन कायम गर्ने प्रयास गर्छन् ।
३. बुक बिल्डिङ : आईपीओ आउनु अघि योग्य संस्थागत लगानीकर्ताहरू बुक बिल्डिङ प्रक्रियामा संलग्न हुन्छन् । यस अवधिमा स्थापित मूल्य सीमाभित्र संस्थागत लगानीकर्ता विभिन्न मूल्यमा शेयरको लागि बोली लगाउँछन् । बिक्री प्रबन्धकले शेयरको माग र लगानीकर्ताको आशय पहिल्याउन यो प्रक्रियामा गएका हुन्छन् ।
४. मूल्य निर्धारण : बुक बिल्डिङ प्रक्रिया पूरा भएपछि, बिक्री प्रबन्धक र कम्पनीको व्यवस्थापनले बुक बिल्डिङ विधिबाट प्राप्त सबै आवेदनहरूलाई लिई सबैभन्दा माथिल्लो मूल्यमा आवेदन भएको शेयर कित्ता बाँडफाँट गर्छन् । माथिको मूल्यबाट तलको मूल्यतर्फ बाँडफाँट गर्दै आउँदा जुन मूल्यमा आएर निष्काशन गरिएको कित्ता सकिन्छ त्यो मूल्यमा बिक्री कट अफ गरिन्छ र कट अफ मूल्य घोषणा गरिन्छ । यसरी कट अफ गरिएको मूल्यबाट १० प्रतिशत डिस्काउन्ट गरेर सर्वसाधारणमा शेयर बिक्री गर्ने आईपीओको मूल्य घोषणा गरिन्छ ।
यसबाहेक कम्पनीले चुक्ता मूल्यमै आईपीओ निष्काशन गर्ने गरी शेयर जारी गर्न सक्छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न चाहेको खण्डमा तोकिएको निश्चित शर्त पूरा गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डले कम्पनीको नेटवर्थ तथा भविष्यमा प्राप्त हुनसक्ने नगद प्रवाहका आधारमा प्रिमियम मूल्य तोकी आईपीओ विधिबाट शेयर निष्काशन गर्न अनुमति दिंदै आएको छ ।
५. सूचीकरण : आईपीओ पश्चात् कम्पनीका शेयरहरू स्टक एक्सचेन्जमा सूचीकरण हुन्छन् । यसरी सूचीकरण हुन आएका कम्पनीको पहिलो कारोबार कम्पनीको नेटवर्थ वा त्यसको तीन गुणा अधिकतम राखेर कारोबार सुरु हुने मूल्य सीमा तोकिन्छ । यसरी मूल्य सीमा तोकेपछि पहिलो कारोबार जुन मूल्यबाट सुरु हुन्छ त्यसपश्चात् नियमित बजार सञ्चालनको पद्धति अनुसार मूल्य कायम हुँदै दोस्रो बजारमा कम्पनीको शेयर मूल्य कायम हुँदै जान्छ ।
प्रिमियममा आईपीओ निष्काशन गर्ने विधि र यसको जोखिम
प्रारम्भिक सार्वजनिक निष्काशनका लागि नेपालमा प्रचलनमा रहेको अर्को लोकप्रिय विधि हो प्रिमियम मूल्यमा शेयर निष्काशन । यस विधि अन्तर्गत शेयर निष्काशन गर्ने कम्पनीले आफ्नो कम्पनीको शेयर प्रारम्भिक सार्वजनिक विधिबाट निष्काशन गर्दा कम्पनीको चुक्ता मूल्यमा थप मूल्य जोडेर निष्काशन गर्ने अनुमति पाएको हुन्छ । यस्तो प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले तोकेको शर्तहरू पूरा गरेको हुनुपर्छ ।
प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशनका प्रक्रियाहरू निम्नानुसार रहेको छ ।
१. प्रिमियममा शेयर निष्काशन गर्न चाहने कम्पनीले स्वयंले निम्नानुसारको शर्त पूरा गरेको हुनुपर्छ ।
- निष्काशनकर्ता कम्पनी लगातार पछिल्लो तीन वर्षसम्म खुद नाफामा सञ्चालनमा रहेको हुनुपर्छ । तर यदि यस्तो कम्पनीको कम्तीमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी भई पछिल्लो दुई वर्ष नाफामा रहेको भएमा यस्तो कम्पनीले समेत प्रिमियममा धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्नेछ ।
- संगठित संस्थाको प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ ।
- संगठित संस्थाको साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्नेछ ।
- संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन तयार गरेको हुनुपर्नेछ ।
- संगठित संस्थाले कम्तीमा BBB- (ट्रिपल बी माइनस) वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।
२. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन प्रिमियम मूल्य विधिमार्फत निष्काशन गर्न चाहने कम्पनीको प्रिमियम मूल्य निर्धारण गर्दा देहाय बमोजिम हुने गरी प्रिमियम मूल्य निर्धारण गरेको हुनुपर्नेछ ।
- कम्तीमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको हकमा कम्पनीको साधारणसभाबाट स्वीकृत पछिल्लो दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र प्रचलित नेपाल कानूनबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकन विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य ।
- माथि उल्लेख भएका बाहेक अन्य कम्पनीको हकमा कम्पनीको साधारणसभाबाट स्वीकृत पछिल्लो तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनका आधारमा पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र प्रचलित नेपाल कानूनबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकन विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य ।
- माथि दिइए बमोजिम निर्धारण गरिएको प्रिमियम मूल्यलाई सम्बन्धित प्रत्याभूतिकर्ताले समेत प्रमाणित गरी पेस गर्नुपर्छ ।
- माथि दिइए बमोजिम कायम भएको औसत मूल्य र सङ्गठित संस्थाको साधारणसभाबाट स्वीकृत पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम सहितको मूल्य कायम गर्नुपर्नेछ ।
३. उपरोक्त शर्त पूरा भएका कम्पनीहरूले निष्काशनका लागि निष्काशनकर्ता कम्पनीहरू अर्थात् बिक्री प्रबन्धक छनोट गरी नियुक्ति गर्नुपर्छ ।
४. बिक्री प्रबन्धक छनोट भएपछि निष्काशन गर्न लागिएको शेयरको रकम र प्रिमियम रकम बराबरको प्रत्याभूति गर्नका लागि अन्डरराइटिङ गर्ने कम्पनीहरू छनोट गर्नुपर्ने हुन्छ । यसरी छनोट भएको प्रत्याभूतिकर्ताले प्रिमियम मूल्यलाई प्रमाणित गरी पेश गर्नुपर्ने हुन्छ ।
५. यस पछि निष्काशनकर्ता कम्पनीले इक्विटी रेटिङ गराउनका लागि रेटिङ एजेन्सी कम्पनीसँग सम्झौता गरी कम्पनीको रेटिङ गराउनुपर्ने हुन्छ । तर यसरी रेटिङ गराउँदा BBB- रेटिङ वा सोभन्दा माथिको रेटिङ आउनुपर्ने हुन्छ । सोभन्दा तलको रेटिङ आएको खण्डमा प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने अनुमति पाइन्न ।
६. माथिसम्मको सबै कामहरू सकिएपछि बिक्री प्रबन्धकले निष्काशनकर्ता कम्पनीको विवरणपत्र तयार गरी धितोपत्र बोर्डसमक्ष निष्काशन अनुमतिका लागि निवेदन दर्ता गराउँदछ ।
७. यसरी निष्काशनका लागि निवेदन प्राप्त गरेपछि धितोपत्र बोर्डबाट कम्पनीको विवरणपत्र उपर छानबिन कागजपत्र पुगे नपुगेको र नपुगेको भएमा कमेन्ट दिई थप कागजात माग गर्ने काम गरिन्छ । यसका साथै प्रिमियम मूल्यको विधि समेत छानबिन गरेर यस्तो प्रिमियम मूल्य धेरै भएको खण्डमा यसलाई पुनः घटाएर ल्याउनका लागि आदेश दिने काम गर्छ ।
८. बैंक वित्तीय संस्था वा बीमा कम्पनीको हकमा स्थलगत निरीक्षण नगरी र हाइड्रोपावर तथा उत्पादनमूलक कम्पनीहरूको हकमा स्थलगत भ्रमण र निरीक्षण गरी सोको आधारमा तोकिए अनुसारको कम्पनीले भौतिक प्रगति पूरा गरे/नगरेको चेकजाँच गर्ने कार्य सम्पन्न गरिन्छ ।
९. यसरी सबै कार्यहरू सम्पन्न भएपछि निष्काशनकर्ता कम्पनीलाई शेयर निष्काशन गर्न मनासिब देखिएमा नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गर्छ ।
प्रिमियम मूल्यमा आईपीओमा लगानी गर्दा जोखिम बढ्छ । यसका केही कारण छन् :
१. अस्थिरता : आईपीओहरू प्रायः स्थापित स्टकहरू भन्दा बढी अस्थिर हुन्छन् । शेयरको मूल्यमा प्रारम्भिक दिन वा कारोबारको केही सातासम्म तीव्र उतारचढाव हुनसक्छ । यो अस्थिरताले अवसर र जोखिम दुवै समान रूपमा प्रस्तुत गर्छ ।
२. सीमित जानकारी : आईपीओहरूमा प्रायः सीमित र विगतका वित्तीय जानकारी र सञ्चालन इतिहास उपलब्ध हुन्छ । कम्पनीको वित्तीय स्वस्थता र कार्यसम्पादनको राम्रोसँग मूल्यांकन गर्नु चुनौतीपूर्ण हुन्छ ।
३. लक–इन अवधि : प्रारम्भिक लगानीकर्ताहरूलाई सामान्यतया लक–इन अवधि लागू हुन्छ । यस अवधिमा उनीहरूले आफ्नो शेयर बेच्न सक्दैनन् । लक–इन अवधि समाप्त भएपछि बिक्रीको दबाब बढ्न सक्छ शेयरको मूल्यलाई असर गर्न सक्छ ।
४. बजारको अवस्था : समष्टिगत आर्थिक वातावरण र बजार अवस्थाले आईपीओको सफलतालाई प्रभाव पार्न सक्छ । उतारचढावयुक्त बजारले नयाँ स्टकको लागि लगानीकर्ताको इच्छालाई असर गर्न सक्छ ।
५. कम्पनी–विशेष जोखिम : प्रत्येक आईपीओ अद्वितीय हुन्छ । कुनै कम्पनी विशेषसँग सम्बन्धित जोखिमहरू अर्कोसँग व्यापक रूपमा भिन्न हुन सक्छन् । उद्योगको गतिशीलता, प्रतिस्पर्धी क्षमता र नियामकीय चुनौती लगायतले आईपीओको सफलतालाई असर गर्न सक्छन् ।
६. दीर्घकालीन व्यवहार : केही आईपीओले छोटो अवधिमा राम्रो प्रदर्शन गरे पनि दीर्घकालीन सफलताको ग्यारेन्टी हुँदैन । लगानीकर्ताहरूले कम्पनीको वृद्धि सम्भावना, प्रतिस्पर्धात्मक लाभ र समग्र व्यापार रणनीतिको मूल्यांकन गर्नुपर्छ ।
७. अन्डरराइटरको प्रभाव : आईपीओका अन्डरराइटरहरूले जारी हुने शेयरको मूल्य निर्धारण र त्यसको प्रचारप्रसारमा महत्वपूर्ण प्रभाव पार्न सक्छन् । लगानीकर्ताहरू यस बारेमा सचेत हुनुपर्छ ।
प्रिमियम–मूल्यको आईपीओमा लगानी गर्नुअघि अनुसन्धान गर्न, कम्पनीको व्यापार मोडेल बुझ्न, यसको वित्तीय मूल्यांकन गर्न र फराकिलो बजार अवस्था विचार गर्न महत्वपूर्ण हुन्छ । धेरै लगानीकर्ता आईपीओ पछि थप स्थिर मूल्य र कम्पनीको सूचीकरण पछिको अवस्था बारे थप जानकारी संकलन गर्न केही समय पर्खन रुचाउँछन् ।
धेरै पढिएका
सूचीकरण र खारेजीको नालीबेली
आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...
आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...
विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।
फेस भ्यालु भनेको के हो ?
शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...
बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...
आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?
- कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?
- आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
- आईपीओमा कसरी आवेदन गर्ने ?
- आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?
- आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?
- आईपीओमा लगानी किन गर्ने ?
- आईपीओ र एफपीओमा अन्तर
- विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
- आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ
- कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?
- आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा
- आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?
- आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
- बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
- फेस भ्यालु भनेको के हो ?
- ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?
- एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?
- सूचीकरण र खारेजीको नालीबेली
- आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
- आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
- इस्यु म्यानेजरले के काम गर्छ ?
- नेपालका केही ठूला आईपीओको नालीबेली
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।