+

शेयर बजार

३० च्याप्टर
Chapter - 5

स्मल क्याप, मिड क्याप र लार्ज क्याप शेयरमा के फरक छ ?

२०८० चैत  १९ गते १२:४४ २०८० चैत १९ गते १२:४४

बजार पूँजीकरणलाई बोलीचालीको भाषामा ‘मार्केट क्याप’ भनिन्छ । कम्पनीले जारी गरेको शेयरको संख्यालाई सो कम्पनीको पछिल्लो पटक अन्तिम कारोबार मूल्यले गुणन गर्दा आउने गुणनफललाई बजार पूँजीकरण भनिन्छ ।

बजार पूँजीकरणले कुनै पनि कम्पनीको कुल मूल्यलाई प्रतिनिधित्व गर्छ । लगानीकर्ता, विश्लेषक तथा वित्त क्षेत्रका अन्य पेशाकर्मीका लागि बजार पूँजीकरण एक महत्वपूर्ण तथ्यांक हो किनभने यसले कम्पनीको आकार, बजारको अवस्था तथा अर्थतन्त्रमा समग्र बजारको तुलनात्मक स्थितिको जानकारी दिन्छ ।

सामान्यतया सूचीकृत कम्पनीहरूलाई तिनीहरूको बजार पूँजीकरणको आधारमा तीन भागमा विभाजन गरेर विश्लेषण गर्ने चलन छः

१.लार्ज क्यापः बजार पूँजीकरणका हिसाबले ठूला कम्पनीलाई लार्ज क्याप भनिन्छ । स्मल क्याप र मिड क्यापको तुलनामा लार्ज क्याप भएका कम्पनीको मूल्यमा उतारचढाव कम हुने गरेको पाइन्छ । तसर्थ यस्ता कम्पनीहरूमा गरिने लगानीलाई सुरक्षित र भरपर्दो मानिन्छ । यी कम्पनीहरूको शेयर मूल्य तुलनात्मक रूपमा स्थिर हुन्छन् र लाभांश वितरणको दर पनि सामान्यतया स्थिर हुन्छ ।

नेपालमा सूचीकृत कम्पनीलाई बजार पूँजीकरणको आधारमा लार्ज क्याप, मिड क्याप र स्मल क्यापमा विभाजन गरिसकिएको छैन । तर नेपाल स्टक एक्सचेन्जले हाल सूचीकृत कम्पनीहरूको बजार पूँजीकरणका आधारमा समेत लार्ज, मिड र स्मल क्याप कम्पनीहरूको अलग्गै इन्डेक्स बनाउने तयारी गरेको एक अध्ययनले देखाएको छ ।

तसर्थ सो अध्ययन अनुसार हामीले पनि नेपालमा सम्भावित लार्ज क्याप कम्पनीको सूची तयार गरी पस्कने प्रयास गरेका छौं । यद्यपि नेपाल स्टक एक्सचेन्जले यो सूची आफैंले बनाएर जारी नगरुन्जेल यसलाई नेप्सेले तयार गरेको लार्ज क्याप कम्पनीको सूचक भन्दा पनि हामी अनलाइनखबरले तयार गरेको लार्ज कम्पनीको सूचीको रूपमा यसलाई पेश गर्ने जमर्को गरेका छौं ।

नेप्सेमा सूचीकृत भएका कम्पनीहरूमध्ये २५ अर्बभन्दा माथि बजार पूँजीकरण भएका कम्पनीहरूलाई हामीले लार्ज क्याप कम्पनीको रूपमा पस्कने प्रयास गरेका छौं । यद्यपि लगानीकर्ताहरूले आफ्नो सहुलियत अनुसार आफैंले पनि बजार पूँजीकरणको आकारलाई परिमार्जन गरेर यस्तो सूची बनाउन सक्नुहुनेछ ।

नेप्सेमा सूचीकृत लार्ज क्याप कम्पनीः

Banking NABIL, NICA, GBIME, EBL, NIMB, SCB, HBL, KBL, NMB, PRVU, NBL, SBL, PCBL, ADBL, SANIMA, SBI, CZBIL, MBL, LSL
Dev. Bank GBBL, MNBBL, SHINE
Finance
Hotels CGH, SHL
Hydro CHCL, MBJC, MEN, RHPL, SAHAS, UPPER
Investment CIT, HIDCL, NIFRA
Life Insurance ALICL, HLI, ILI, LICN, NLIC, NLICL, SJLIC, SRLI
Manufacturing BNL, BNT, HDL, SHIVM, UNL
Micro-Finance CBBL, JBLB, NUBL, SKBBL
NonLife Insurance IGI, NIL, RBCL, SALICO, SICL, SPIL
Others NRIC, NTC
Trading

लार्ज क्याप स्टकको विशेषता

कम जोखिम– सामान्यतया लार्ज क्याप कम्पनी बलियो र स्थिर वित्तीय पूर्वाधार भएका हुन्छन् । शेयर बजारको उतारचढाव तथा अस्थिरताबाट लार्ज क्याप कम्पनी कम प्रभावित हुन्छन् । प्रतिकूल परिस्थितिमा पनि कम्पनी धराशायी हुने जोखिम तुलनात्मक रूपमा कम हुन्छ । बजार हल्लाले यस्ता कम्पनीको व्यवसायमा प्रत्यक्ष असर गर्दैन ।

मध्यम प्रतिफल– लार्ज क्याप कम्पनीहरू बजारमा स्थापित र सञ्चालनमा आएको लामो समय हुन्छ । यसै कारण तिनीहरूमा वित्तीय स्थिरता हुन्छ । यसले तिनीहरूको शेयरको मूल्यलाई असर गर्छ । सबै लार्ज कम्पनीले उच्च दरमा लाभांश प्रदान गर्छन् भन्ने हुँदैन । बरु हरेक वर्ष लाभांश एकनासले प्रदान गर्ने नीति यस्ता कम्पनीले बनाएका हुन्छन् ।

मूल्य– बजारमा लगानीका लागि उपलब्ध अरू विकल्पहरूको तुलनामा लार्ज क्याप स्टकहरू सामान्यतया धेरै महँगो हुँदैनन् । किनकि बजारमा आपूर्ति धेरै हुने भएकाले सामान्यतया सजिलै खरिद–बिक्री गर्न सकिन्छ ।

तरलता– बजारमा लार्ज क्याप स्टकको माग र आपूर्ति पर्याप्त हुन्छ । यसकारण लगानीकर्ताले लार्ज क्यापमा उच्चतम तरलता प्राप्त गर्छन् ।
लार्ज क्याप स्टकमा लगानीको फाइदा

अधिकतम स्थायित्व– लार्ज क्याप शेयरले तपाईंको पोर्टफोलियोमा अधिकतम स्थायित्व प्रदान गर्छ । बजारमा ठूलो संकट आउँदा पनि लार्ज क्याप कम्पनी स्थिर हुन्छन् । बजार घटेको अवस्थामा आफ्नो पोर्टफोलियोमा यस्ता शेयर भए भने धेरै घाटा भोग्नुपर्दैन ।

निरन्तर आय प्रवाह– लार्ज क्याप स्टकबाट प्राप्त हुने आम्दानीको प्रमुख स्रोत मूल्यवृद्धि होइन, लाभांश हो । यस्ता शेयर खरिद–बिक्रीबाट उच्च दरमा पर्याप्त पूँजीगत लाभ नभए पनि तपाईंले नियमित लाभांश प्राप्त गर्नुहुनेछ । यसले नियमित प्रतिफलको सम्भावित अभावलाई समाधान गर्छ ।

सूचनाको पहुँच– ठूला कम्पनीले आफ्ना महत्वपूर्ण विवरण (वासलात, व्यवसायको अवस्था, नीति, योजना आदि) सार्वजनिक गरेको हुन्छ । यस्ता विवरण सर्वसाधारणको पहुँचमा हुन्छन् । कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत गर्नु भनेकै त्यसको सञ्चालन र प्रतिफललाई पारदर्शी बनाउने हो । सूचनामा पहुँचको लागि कम्पनीले वित्तीय तथा अन्य व्यवस्थापकीय पक्षको जानकारी प्रदान गर्न सूचना अधिकारी वा प्रवक्ता राखेको हुन्छ ।

समग्रमा दीर्घकालीन लगानीका लागि उचित विकल्प लार्ज क्याप स्टक हुन् । यसमा थोरै लगानीमा धेरै स्टक किन्न सकिन्छ र निरन्तर प्रतिफलको आशा गर्न सकिन्छ ।

२. मिड क्यापः

यो वर्गमा मध्यम बजार पूँजीकरण भएका कम्पनी हुन्छन् । सामान्यतः १० अर्बभन्दा धेरै तथा २५ अर्बभन्दा कम बजार पूँजीकरण भएका कम्पनीहरूलाई मिड क्याप कम्पनीको रूपमा नेपालको परिप्रेक्ष्यमा हेर्न सकिन्छ ।

मिड क्याप कम्पनीहरू लार्ज क्याप र स्मल क्याप कम्पनी बीचमा पर्छन् । यस्ता कम्पनीहरूमा लगानी उचित हुन्छ । किनकि प्रायः तिनीहरूको नाफा, बजार हिस्सा, मूल्य र उत्पादकत्व बढ्ने अपेक्षा गरिएको हुन्छ ।

यी कम्पनी वृद्धिको चरणमा प्रवेश गरेका हुन्छन् । यसकारण बजारमा उनीहरूको उपस्थिति अस्थिर किसिमको हुन्छ । यही अस्थिरताकै कारण मिड क्याप स्टकहरू लार्ज क्यापभन्दा जोखिमपूर्ण मानिन्छ । मिड क्याप कम्पनीले लगानीकर्तालाई प्रदान गर्ने प्रतिफल (नगद लाभांश वा बोनस शेयर) एकनाशको र निरन्तर भने हुँदैन ।

बजार पूँजीकरणका आधारमा २५ अर्बभन्दा कम तथा १० अर्बभन्दा धेरै बजार पूँजीकरण भएका सूचीकृत मिड क्याप कम्पनीहरूको सूची निम्नानुसार पेश गरेका छौं । यद्यपि लगानीकर्ताहरूले यसलाई आफ्नो आवश्यकता तथा सहुलियत अनुसार बजार पूँजीकरणको आकारमा फेरबदल गरी यस्ता कम्पनीको सूची आफ्नो हिसाबले समेत तयार गर्न सक्नुहुनेछ ।

Banking
Dev. Bank EDBL, JBBL, KSBBL, LBBL, MDB, MLBL, SADBL
Finance BFC, CFCL, GFCL, GMFIL, GUFL, ICFC, JFL, MFIL, NFS, PFL, PROFL, RLFL, SFCL, SIFC
Hotels CITY, KDL, OHL, TRH
Hydro AHPC, AKPL, API, BHDC, BHL, BPCL, DORDI, GLH, GVL, HDHPC, HHL, HPPL, HURJA, KPCL, LEC, MEL, MHNL, NGPL, NHPC, NYADI, PHCL, PPCL, RADHI, RIDI, RURU, SGHC, SHEL, SHPC, SIKLES, SJCL, SMH, SMHL, SMJC, SPDL, SSHL, TAMOR, UPCL, USHEC
Investment CHDC, ENL, NRN
Life Insurance RNLI, SNLI
Manufacturing GCIL
Micro-Finance ALBSL, CYCL, DDCL, FMDBL, FOWAD, GBLBS, GILB, HLBSL, ILBS, KLBSL, KMCDB, LLBS, MERO, MLBSL, NMFDB, MSLB, NADEP, NESDO, NICLBSL, NLBBL, NMBMF, NMFBS, RSDC, SDLBSL, SMATA, SWBBL, SWMF, VLBS
NonLife Insurance HEI, NICL, NLG, PRIN, SGIC, UAIL
Others NRM
Trading STC

किन मिड क्याप स्टकहरू छनोट गर्ने ?
विज्ञहरूका अनुसार लगानीको जोखिम कम गर्न पोर्टफोलियोमा विविधीकरण गर्नुपर्छ । त्यसकारण एक लगानीकर्तासँग लार्जक्याप, मिडक्याप र स्मलक्याप स्टकहरूको मिश्रण हुनुपर्छ । मिडक्याप कम्पनीहरू स्मलक्याप भन्दा कम जोखिममा हुने भएकाले तिनीहरूले प्रतिकूल समयमा घाटा कम गर्न सहयोग गर्छन् र लार्ज क्यापको तुलनामा उच्च प्रतिफल दिन्छन् ।

मिड क्याप स्टकहरू कसरी छनोट गर्ने ?
लाभः नाफा र नोक्सान हुर्किरहेको कम्पनीको अभिन्न भाग हो । नाफा–नोक्सानले स्टकको वर्तमान र भविष्यको बजार मूल्यलाई ठूलो प्रभाव पार्छ । कम्पनीले कमाएको नाफा शेयर बजार मूल्यसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । यसको अर्थ कम्पनीको आम्दानीमा भएको वृद्धिले शेयर मूल्यलाई बढाउन सक्छ । त्यसैगरी सम्भावित घाटा पनि कम्पनीको महत्वपूर्ण पक्ष हो । कम्पनीले पर्याप्त रकम कमाएको छैैन तर घाटा लगातार घटिरहेको छ भने लगानीकर्ताको लागि यो राम्रो संकेत मानिन्छ ।

वृद्धिः मिड क्याप कम्पनी समयसँगै लार्ज क्यापमा परिणत हुने प्रशस्त सम्भावना हुन्छ । कम्पनी परिपक्व हुने चरणमा पुग्छ । कम्पनीले नाफा टिकाउन सक्छ । शेयर खरिदकर्ताले कम्पनीको बिक्री तथा नाफाको अनुगमन गर्न सक्छन् । ठूला कम्पनीसँग तुलना गर्दा कम्पनीको बिक्री दु्रत रूपमा बढिरहेको छ भने यसलाई यो राम्रो संकेत मान्नुपर्छ ।

कम्पनीको बिक्री स्थिर छ भने शेयर खरिद गर्ने विषयमा सावधानी अपनाउनुपर्छ । यसबाहेक कम्पनीको शेयर मूल्यसँग उसको आम्दानी वा नाफा मेल खाएको छ कि छैन लगायत लगानीका लागि ठोस कारण पत्ता लगाउनुपर्छ ।

अनुसन्धानः कुनै पनि लगानी वा शेयर बजार सम्बन्धी निर्णय गर्नुअघि अनुसन्धान गर्नैपर्छ । सुरुवाती लगानीकर्ता हुन् वा अनुभवी शेयर बजारको नयाँ प्रवृत्ति, आगामी वा विद्यमान व्यवसाय, कम्पनीको नाफा–नोक्सान, व्यवस्थापन पक्ष, लाभांश वितरण नीति जानकारी लिनु आवश्यक हुन्छ ।

व्यक्तिले गरेको सूक्ष्म अनुसन्धानमा आधारित लगानीमा सामान्यतया मिड क्याप स्टकहरू केवल कारोबारका लागि उपयुक्त हुन्छन् । खरिदकर्ता ती कम्पनीको शेयर मूल्यमा हुने दैनिक परिवर्तनसँग समायोजनका लागि तयारी अवस्थामा हुनुपर्छ ।

३. स्मल क्याप
नाम अनुसार स्मल क्याप स्टक भनेका सानो बजार पूँजीकरण भएका कम्पनीका स्टक हुन् । स्मल क्याप स्टक तुरुन्तै र उच्चदरमा नाफा खोज्ने लगानीकर्ताका लागि हो । यस्ता स्टकमा ठूला र स्थापित कम्पनीहरूको तुलनामा जोखिम बढी हुन्छ । साना कम्पनीहरू प्रायः नयाँ हुन्छन्, वित्तीय स्थिरता कमजोर हुन्छ र बजार अस्थिरताबाट तत्काल प्रभावित हुन्छन् । तिनीहरूले उच्च वृद्धि र प्रतिफलको सम्भावना पनि बोकेका हुन्छन् ।

सानै भए पनि कम्पनी व्यवसाय विस्तार गर्न सफल छ भने तिनीहरूको शेयरमा लगानी गर्ने बारेमा सोच्नुपर्छ । नेपालको शेयर बजारमा वाणिज्य बैंकका हकमा १० अर्ब भन्दा कम चुक्ता पूँजी भएका कम्पनीहरूलाई स्मल क्याप कम्पनीको सूचीमा राखेर हेर्न सकिन्छ ।

स्मल क्याप स्टकमा रुचि राख्ने लगानीकर्ताले पनि लगानी गर्नुअघि गहन अनुसन्धान गर्नै पर्छ । उनीहरूले आफ्नो जोखिम वहन क्षमतालाई विचार गर्नुपर्छ किनकि यी स्टक मूल्य उतारचढावप्रति बढी संवेदनशील हुन्छन् ।

अनलाइनखबरले १० अर्बभन्दा थोरै बजार पूँजीकरण भएका बैंकहरूलाई  स्मल क्याप कम्पनीको रूपमा निम्नानुसारको सूची पेश गरेको छ । यद्यपि लगानीकर्ताहरूले यस्तो सूची आफ्नो आवश्यकता तथा सहुलियत अनुसार फेरबदल गरी अलग्गै तयार समेत गर्न सक्नुहुनेछ । यस्तो सूची लगानी सुझावका लागि भन्दा पनि अध्ययन सन्दर्भ सामग्रीका रूपमा पेश गरिएको हो ।

Banking
Dev. Bank CORBL, GRDBL, KRBL, NABBC, SAPDBL, SINDU
Finance MPFL
Hotels
Hydro AHL, AKJCL, BARUN, BEDC, BHPL, BNHC, CHL, DHPL, DOLTI, EHPL, GHL, IHL, JOSHI, KBSH, KKHC, MAKAR, MHCL, MHL, MKHC, MKHL, MKJC, NHDL, PMHPL, PPL, RAWA, RFPL, RHGCL, SPC, SPHL, SPL, TPC, TSHL, UHEWA, ULHC, UMHL, UMRH, UNHPL, USHL
Investment
Life Insurance CLI
Manufacturing NLO
Micro-Finance ACLBSL, ANLB, AVYAN, BPW, DLBS. GLBSL, GMFBS, JALPA, JSLBB, MKLB, MLBBL, MLBS, SABSL, SAMAJ, SHLB, SLBSL,SMB, SMFBS, ULBSL, UNLB, WNLB
NonLife Insurance
Others
Trading BBC

बजार पूँजीकरणले लगानीकर्ताहरूलाई कम्पनीको जोखिम र सम्भावित प्रतिफल मापन गर्न मद्दत गर्छ । यसलाई लगानी रणनीति र सूचकांकहरूमा शेयर वर्गीकरण गर्न पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि अमेरिकामा S&P 500 सूचकांकले ५०० र भारतमा Nifty 50 ले ५० ठूला कम्पनीहरूलाई मार्केट क्यापद्वारा वर्गीकरण गर्छन् । वित्त बजारमा यसको प्रयोग समग्र रणनीतिक निर्णयहरू लागू गर्न, लगानीकर्ताहरूलाई आकर्षित गर्न, वित्तीय सुरक्षा प्रदान गर्ने कम्पनीको दक्षता मूल्यांकन गर्ने लगायत कार्यमा हुन्छ ।

धेरै पढिएका

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...

0 %

पढिसक्नुभयो !