+

शेयर बजार

३० च्याप्टर
Chapter - 6

प्राथमिक बजार र दोस्रो बजार भनेको के हो, कसरी लगानी गर्ने ?

२०८० चैत  १९ गते १३:३२ २०८० चैत १९ गते १३:३२

शेयर बजारलाई लगानी प्रकृतिका हिसाबले दुई वर्गमा विभाजन गर्न सकिन्छ । यसरी विभाजन गर्दा बजारलाई प्राथमिक बजार र दोस्रो बजारको रूपमा परिभाषित गरी विभाजन गर्ने गरिएको छ । प्राथमिक बजारमा कम्पनी, संगठित संस्था वा सरकारले धितोपत्र (शेयर, बन्ड तथा ऋणपत्र) जारी गरेर (बिक्री गरी) सर्वसाधारणबाट आवश्यक पूँजी संकलन गर्छन् । यस्तो निष्काशनमा सर्वसाधारणले कम्पनीको चुक्ता मूल्य वा त्यसमा केही प्रिमियम थप गरी लगानी गर्ने वा त्यस्तो निष्काशनमा आवेदन दिई सहभागी हुने गर्दछन् ।

यसैगरी दोस्रो बजारमा प्राथमिक बजारमा निष्काशन भएको धितोपत्रहरूलाई सूचीकृत गराई पुनः कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । विशेषगरी दोस्रो बजारमा प्राथमिक बजारमा सहभागी भएका तथा हुन नपाएकाहरूले सूचीकृत धितोपत्रको खरिद वा बिक्री कार्यमा संलग्न हुने गर्दछन् ।

प्राथमिक बजारका आधारभूत कार्यहरू

शेयर निष्काशनः प्राथमिक बजार अन्तर्गत विभिन्न तरिकाबाट शेयर निष्काशन गर्न सकिन्छ ।

  • आईपीओबाट शेयर निष्काशनः यो कम्पनीले सर्वसाधारणलाई पहिलो पटक शेयर जारी गर्ने प्रक्रिया हो ।
  • एफपीओबाट शेयर निष्काशन : एकपटक आईपिओबाट शेयर निष्काशन गरेका कम्पनीहरूले पुनः सर्वसाधारणलाई शेयर जारी गर्ने प्रक्रिया हो ।
  • हकप्रद (राइट शेयर) बाट शेयर निष्काशनः यो निष्काशन कम्पनीको तोकिएको मितिभित्र कायम शेयरधनीले मात्रै शेयर खरिद गर्न पाउने गरी कम्पनीले शेयर निष्काशन गर्ने प्रक्रिया हो ।
  • बोनस शेयर निष्काशनः यो निष्काशन कम्पनीले तोकिएको मितिभित्र कायम शेयरधनीले थप पैसा नहाली कम्पनीको मुनाफाबाट प्राप्त रकमलाई शेयरमा परिवर्तन गरी शेयर जारी गर्ने प्रक्रिया हो । यस प्रक्रियामा कम्पनीले तोकिएको मितिभित्र कायम शेयरधनीलाई उनीहरूसँग भएको शेयर संख्याको निश्चित प्रतिशत शेयर थप गरेर लाभांशलाई पूँजीमा कायम गर्दछन् ।

पूँजी संकलनः प्राथमिक बजारको प्रमुख कार्य भनेको धितोपत्र जारीकर्ता कम्पनी वा संगठित संस्थालाई पूँजी प्राप्त गर्न वा सर्वसाधारणमा छरिएर रहेको स–सानो पूँजी संकलनको कार्यलाई सहज बनाउनु हो । कम्पनीले व्यवसाय विस्तार, अनुसन्धान तथा विकास वा ऋण चुक्ता गर्ने जस्ता विभिन्न उद्देश्यका लागि आवश्यक पूँजी जुटाउन प्राथमिक बजार मार्फत विभिन्न प्रकृतिका धितोपत्रहरू जारी गर्न सक्दछन् ।

मूल्य निर्धारणः प्राथमिक बजारले निष्काशनकर्ता कम्पनीलाई आफ्नो कम्पनीको शेयर वा विभिन्न धितोपत्रहरूको प्रारम्भिक मूल्य निर्धारण गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा सामान्यतया अंकित मूल्यमै धितोपत्र जारी हुने गरेकोमा हिजोआज वित्तीय अवस्था बलियो रहेको तथा सञ्चालन अवधि लामो रहेको कम्पनीहरूद्वारा प्रिमियम मूल्यमा समेत प्रारम्भिक सार्वजनिक निष्काशन हुने गरेको छ । यसका साथै बुक बिल्डिङ्ग विधिबाट समेत प्रारम्भिक सार्वजनिक निष्काशनको थालनी भइसकेको छ ।

संस्थागत सुशासन कायमः प्राथमिक बजारमा धितोपत्र जारी गर्न खोज्ने कम्पनीले विभिन्न नियामक निकायहरूद्वारा जारी गरिएका संस्थागत सुशासनका नियमहरू परिपालना गर्नुपर्ने हुन्छ । विशेषगरी धितोपत्र निष्काशन गर्न चाहने निष्काशनकर्ता कम्पनीले कम्पनी ऐनले पब्लिक लिमिटेड कम्पनीलाई तोकेको नियमनको दायरामा रहेर संस्थागत सुशासन कायम गर्नुका साथै नेपाल धितोपत्र बोर्डले तोकेका नियमहरूलाई पूर्णरूपमा पालना गर्नुपर्छ । यी नियमहरूले कम्पनीका आर्थिक गतिविधिलाई पारदर्शिता प्रदान गर्नुका साथै कम्पनीद्वारा संस्थागत सुशासन कायम हुने विषयलाई सुनिश्चित गर्दैै लगानीकर्ताहरूलाई कम्पनीको गतिविधि प्रति विश्वस्त बनाउन मद्दत गर्दछ ।
प्रत्याभूति (अन्डरराइटिङ): प्रत्याभूति अर्थात् अन्डरराइटिङ भनेको धितोपत्र बिक्रीको ग्यारेन्टी गर्ने प्रक्रिया हो । अन्डरराइटरले ‘धितोपत्र बिक्री नभएको खण्डमा म खरिद गर्छु’ भन्ने आशयको सम्झौता निष्काशनकर्तासँग गर्छ र यसबापत उसले निष्काशनकर्ताबाट निश्चित शुल्क प्राप्त गर्छ ।

लगानी सहजीकरणः प्राथमिक बजारले लगानीकर्तालाई सरकार तथा विभिन्न संगठित संस्थाद्वारा जारी गरिएका नयाँ धितोपत्रहरूमा सीधै लगानी गर्ने अवसर प्रदान गर्दछ । यसले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूलाई ती संगठित संस्थाहरूमा शेयरधनी बन्ने अवसर प्रदान गर्छ ।

जोखिम मापनः प्राथमिक बजारमा शेयर निष्काशन गर्न चाहने कम्पनीहरूले विभिन्न रेटिङ्ग एजेन्सीहरूबाट निष्काशनकर्ता कम्पनीको वर्तमान अवस्थामा निहित जोखिमको अवस्थालाई रेटिङ्ग गराउनुपर्ने हुन्छ । शेयर निष्काशनकर्ता कम्पनीहरूले कम्पनीको शेयर निष्काशन गर्दा होस् वा ऋणपत्र निष्काशन गर्दा वा ५० करोड माथिको बैंकबाट ऋण लिंदा हरेक बखत रेटिङ्ग गराएको हुनुपर्दछ । यसरी रेटिङ्ग गराएपछि ती निकायहरूले निष्काशनकर्ता कम्पनीको विस्तृत अध्ययन विश्लेषण गरेर त्यस्ता कम्पनीमा के–कति जोखिम रहेको छ र कस्तो प्रकृतिको जोखिम रहेको छ भनेर प्रतिवेदन सहित रेटिङ्ग प्रदान गर्दछन् ।

यसरी रेटिङ्ग प्रदान गर्दा डी–रेटिङ्ग पाएका कम्पनीहरूलाई अत्यधिक जोखिमयुक्त रहेको कम्पनीको रूपमा लिइन्छ । यस्तो रेटिङ्ग पाएका कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशनको अनुमति प्रदान गर्दैन । यसबाहेक प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न चाहने कम्पनीहरूले न्यूनतम ट्रिपल बी माइनस रेटिङ्ग प्राप्त गरेको हुनुपर्दछ । अनि मात्र शेयर निष्काशन गर्ने कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर निष्काशन योग्य हुने गर्दछन् ।

प्राथमिक बजारका निष्काशनहरूमा कसरी सहभागी हुने ?
प्राथमिक बजारमा कम्पनीको निष्काशनको विधि अनुसार फरक–फरक ढंगबाट लगानीकर्ताहरूले लगानी गर्न सक्दछन् ।

आईपीओ निष्काशनः आईपीओ निष्काशन भनेको कम्पनीले पहिलो पटक आफ्नो कम्पनीको शेयर सर्वसाधारणमा जारी गरी बिक्री गर्ने प्रक्रिया हो । यसरी गरिएको निष्काशनमा सर्वसाधारण जो–कोही पनि सहभागी भई शेयर खरिद गर्न सक्दछ ।

थप शेयर निष्काशनः एक पटक आईपिओ निष्काशन गरिसकेको कम्पनीले पुनः सर्वसाधारणमा आईपिओ जस्तै गरेर शेयर निष्काशन गर्दछ भने त्यसलाई थप शेयर निष्काशन अर्थात् एफपिओ भनिन्छ । यस्तो एफपिओ निष्काशनमा सर्वसाधारण जो–कोही पनि सहभागी भई तोकिएको मूल्यमा शेयर खरिद गर्न सक्दछन् । यसरी एफपिओमा शेयर निष्काशन गर्न चाहने कम्पनीले आईपिओबाट शेयर निष्काशन गर्नुका साथै तोकिएको निश्चित योग्यताहरू पूरा गरेको हुनुपर्दछ ।

हकप्रद शेयर निष्काशनः कम्पनीले आफ्नो शेयरधनीलाई मात्रै सहभागी हुने अवसर दिई आफ्नो थप शेयर जारी गर्दछ भने यस्तो निष्काशनलाई हकप्रद शेयर निष्काशन भनिन्छ । यस्तो निष्काशनमा सर्वसाधारण जो कोहीलाई शेयर खरिद गर्ने अवसर हुँदैन । यस्तो निष्काशनमा सहभागी हुन कम्पनीले तोकेको मितिसम्म कम्पनीको शेयरधनी भइसकेको हुनुपर्दछ अनि मात्रै यस्तो निष्काशनमा सहभागी भई शेयर खरिद गर्ने अवसर प्राप्त हुन्छ ।

बोनस शेयर निष्काशनः कम्पनी आफूले गरेको व्यावसायिक गतिविधिबाट प्राप्त मुनाफाबाट शेयरधनीहरूलाई नगद लाभांश नदिई कम्पनीको व्यवसाय विस्तार वा अन्य वित्तीय आवश्यकता पूरा गर्न बोनस शेयर प्रदान गर्दछ भने यस्तो कार्यलाई बोनस शेयर निष्काशन भनिन्छ । नेपालको पूँजी बजारमा लगानीकर्ताहरूले नगद लाभांश प्रदान गर्ने कम्पनीलाई भन्दा बोनस शेयर निष्काशन गर्ने कम्पनीलाई प्राथमिकतामा राखी लगानी गर्ने गर्दछन् । बोनस शेयर प्राप्त भएपछि शेयरधनीहरूको पहिले भएको शेयर कित्ता संख्यामा वृद्धि हुन्छ । यसरी कम्पनीले प्रदान गर्ने बोनस शेयर प्राप्त गर्नका लागि कम्पनीले तोकेको मितिसम्म कम्पनीको शेयरधनी भइसकेको हुनुपर्दछ अनि मात्रै यस्ता बोनस शेयरमा सहभागी भई थप शेयर प्राप्त गर्न सकिन्छ । यसरी बोनस शेयर प्राप्त गर्दा लगानीकर्ताहरूले कुनै पनि थप लगानी गर्नुपर्दैन ।

दोस्रो बजार
दोस्रो बजारमा प्राथमिक बजारमा निष्काशन भएको धितोपत्रहरूलाई सूचीकृत गराई पुनः कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । विशेषगरी दोस्रो बजारमा प्राथमिक बजारमा सहभागी भएका तथा हुन नपाएकाहरू लगानीकर्ताहरूले सूचीकृत धितोपत्रको खरिद वा बिक्री कार्यमा संलग्न हुने गर्दछन् ।

यसमा प्राथमिक बजारबाट शेयर प्राप्त गरेका लगानीकर्ताहरूले आफ्नो मूल्य पाएको ठानेमा वा आफ्नो लगानी आवश्यकता पूरा भएको देखेमा बिक्री गर्न खोज्दछन् भने प्राथमिक बजारमा विभिन्न कारणबाट सहभागी हुन नसकेको लगानीकर्ताहरूले दोस्रो बजारमा कम्पनी सूचीकृत भइसकेपछि बिक्रेताबाट शेयर खरिद गरी शेयरधनी बन्ने मौका खोजिरहेका हुन्छन् । यस सन्दर्भमा दोस्रो बजारले खरिद गर्न चाहने तथा बिक्री गर्न चाहने लगानीकर्तालाई खरिद–बिक्रीका लागि आवश्यक तरलता प्रदान गर्दछ ।

लगानीकर्ताहरूले गर्ने धितोपत्रको आपूर्ति र मागले निर्धारण गरेको मूल्यको आधारमा दोस्रो बजारमा कारोबार हुन्छ । धितोपत्रको माग बढी भएमा मूल्य बढ्छ र कम भए घट्छ । यो गतिशील मूल्य निर्धारण संयन्त्रले धितोपत्रहरूको प्रभावकारी रूपमा मूल्य निर्धारण गर्न र लगानीकर्ताहरूले उचित मूल्य प्राप्त गर्ने सुनिश्चितता प्रदान गर्दछ ।
दोस्रो बजारको मुख्य फाइदाहरूमध्ये एक तरलता हो । यसले लगानीकर्ताहरूलाई धितोपत्रहरू सजिलै र छिटो किन्न र बेच्न सक्ने सुविधा दिन्छ ।

दोस्रो बजारमा लगानी गर्दा जोखिम पनि हुन्छ । धितोपत्रहरूको मूल्य अस्थिर हुन्छ । लगानीकर्ताले सधैं आफूले चाहेकै मूल्यमा धितोपत्र बिक्री गर्न सक्छन् भन्ने हुँदैन । दोस्रो बजारमा सिपालु खेलाडीले सिकारु र नवप्रवेशी लगानीकर्तालाई झुक्यानमा पार्ने जोखिम पनि हुन्छ । दोस्रो बजारको कारोबार भनेको एक किसिमको प्रतिस्पर्धा हो । यसमा एउटा लगानीकर्ताले सिंगो बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले बजारसँग तालमेल मिलाउनका लागि आधारभूत सीप आवश्यक हुन्छ ।

दोस्रो बजारका कार्यहरू
दोस्रो बजारले मूलतः एक प्लेटफर्मको रूपमा काम गर्छ । यसले सर्वसाधारणलाई कम्पनीका शेयरहरूमा लगानी गर्ने अवसर दिन्छ । दोस्रो बजारले सक्रिय, निरन्तर कारोबारलाई सहज बनाउने सहजकर्ताको रूपमा कार्य गर्छ । यसले वित्तीय सम्पत्तिलाई तरल बनाउन र तिनको मूल्यांकनलाई निरन्तर परिमार्जन गर्ने अवसर दिन्छ ।

यसबाट लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको धितोपत्र विना झन्झट, छिटो र न्यूनतम शुल्कमा बिक्री गरेर नगद प्राप्त गर्छन् । माग र आपूर्तिको आधारमा धितोपत्रको मूल्य निर्धारण हुने भएकाले यहाँ कायम हुने मूल्य सर्वस्वीकार्य हुन्छ । यसबाटै राष्ट्रको अर्थतन्त्रको अवस्था पनि अनुमान गर्न सकिन्छ ।
दोस्रो बजारमा लगानी गर्ने प्रक्रियाः
१. बैंक खाता खोल्ने
२. डिम्याट खाता खोल्ने
३. ट्रेडिङ खाता खोल्ने

क) ब्रोकर खाता खोल्नको लागि आफूलाई पायक पर्ने र धेरै लगानीकर्ताले रुचाएको दलाल (ब्रोकर) को कार्यालयमा गएर वा अनलाइन खाता खोल्न सकिन्छ ।
ख) डिम्याटको जस्तै कारोबार खाता (TMS) को लागि फारम भर्नुपर्छ ।
ग) फारम भरिसकेपछि तपाईंलाई इमेलमा TMS को Client ID र पासवर्ड Reset को लिंक आउँछ । तपाईंले आफ्नो पासवर्ड बनाउनुपर्ने हुन्छ ।
घ) पासवर्ड परिवर्तन पछि पुनः लगइन गर्नुपर्छ । लगइन पछि यस्तो प्रकारको Screen खुल्छ ।

 

ङ) जसमा तपाईंले खरिद गर्नुभन्दा अगाडि Collateral Load गर्नुपर्ने हुन्छ । अन्यथा खरिद–बिक्रीको अनुमति हुँदैन ।
च) Collateral Load  गर्नको लागि Fund Management मा जानुपर्ने हुन्छ ।

छ) Fund Management मा गएपछि Collateral Management- Load Collateral जानुपर्ने हुन्छ । त्यसपछि Bank – Payment Method – Amount छानेर Remarks मा तपाईंको ClientID र तपाईंको नाम राख्नुपर्छ ।

ज) त्यसपछि Submit गर्नुहोस् । तपाईंको ग्लोबल आईएमई बैंकको खाता छैन भने Connect IPS  बाट पनि Payment गर्न सक्नुहुन्छ ।
झ) बैंकबाट तिर्ने लगानीकर्ताले बैंक लगइन गर्ने । अर्कोतर्फ ConnectIPS बाट तिर्न चाहने लगानीकर्ताले Connect IPS Login गरेर भुक्तानी गर्न सक्नुहुन्छ ।
अब तपाईं धितोपत्र खरिद–बिक्री गर्न सक्नुहुन्छ । तपाईंले पहिलेबाटै आईपीओ भरिरहनुभएको छ र बेच्न चाहनुहुन्छ भने Collateral Load गर्नुपर्दैन । सीधै खातामा भएको शेयर बजार मूल्यमा बेच्न सक्नुहुन्छ ।
शेयर बेचेपछि पनि केही अरू प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसको लागि WACC, Holding Check and EDIS (Share Transfer) कसरी गर्ने ? भन्ने खण्ड अध्ययन गर्नुहोस् ।

 

धेरै पढिएका

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...

0 %

पढिसक्नुभयो !