+
+

मोदीले भने– इटालीपछि नेपाल भ्रमण गर्छु

‘छिमेकी पहिलो’ नीति लिएका आधारमा पनि दक्षिण एसियाबाटै पहिलो विदेश भ्रमण सुरु गर्न र त्यसमा पनि सबैभन्दा पहिला नेपालकै भ्रमण गर्न प्रधानमन्त्री प्रचण्डले मोदीलाई आग्रह गरेको भारतस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते २०:०७

२८ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै तय भएको इटाली भ्रमणपछि पहिलो भ्रमण नेपालबाट सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिएका मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको द्विपक्षीय वार्तामा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ,’ भारत भ्रमणपछि प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा छ ।

‘छिमेकी पहिलो’ नीति लिएका आधारमा पनि दक्षिण एसियाबाटै पहिलो विदेश भ्रमण सुरु गर्न र त्यसमा पनि सबैभन्दा पहिला नेपालकै भ्रमण गर्न प्रधानमन्त्री प्रचण्डले मोदीलाई आग्रह गरेको भारतस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापाले जानकारी दिए ।

‘मोदीले पनि जुन १३ देखि १५ मा इटालीमा हुने जी सेभेन समिटमा जाने पहिल्यै तय भइसकेको छ, त्यसपछिको पहिलो भ्रमण नेपालबाटै गर्ने प्रतिबद्धता गर्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै डा. थापाले भने ।

भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार भारत गएका थिए । उनी सोमबार अपराह्न स्वदेश फर्किएका छन् ।

उनले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार साँझ भएको मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा दक्षिण एसिया लगायत विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुख सहभागी थिए ।

सपथग्रहण समारोहपछि उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका थिए । ‘त्यसक्रममा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवम् कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

सोमबार प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवम् घनिष्ठ सम्बन्ध आगामी दिनमा थप बलियो बनाउने विषयमा छलफल भएको प्रचण्डले बताएका छन् ।

सोमबार नै भारतका विदेशमन्त्री नियुक्त हुन लागेका डा. एस जयशंकरले प्रधानमन्त्रीसँग भेट गरेका थिए । त्यस अवसरमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्ध सुदृढ गर्दै जानेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डले जनाए ।

प्रधानमन्त्री प्रचण्डले भ्रमण क्रममा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) का प्रतिनिधिसँग पनि भेट गरी नेपाल र भारतबीच व्यापार तथा लगानीका विषयमा छलफल गरेका थिए ।

दिल्लीमा रहँदा दाहाल नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए भने भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्रहरू तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग समेत भेटघाट गरेका थिए ।

‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेल्ने मैले विश्वास लिएको छु । त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ,’ काठमाडौं फर्केपछि प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?