+
+

रौतहटमा एकै दिन २ युवाको शव फेला

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८१ असार २ गते १०:३८

२ असार, रौतहट । रौतहटका अलग–अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ । मृतक दुवै गौर नगरपालिका क्षेत्रका हुन् ।

सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको थियो भने त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन । प्रहरीले भने शव फेला परे पनि हत्या भएको हो वा अन्य कुनै कारणले उनीहरुको मृत्यु भएको हो भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ ।

गौर नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवशंकर यादवले भने मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको आशंका गरे । ‘२० वर्षीय युवक राहुल मेहताको शव जुन अवस्थामा भेटिएको छ त्यसले हत्या भएको हो भन्ने देखाउँछ,’ उनले भने ।

यसैगरी गौर नगरपालिका ४ मा रहेको लालबकैया नदी किनारको केराघारीमा मृत फेला परेका रोहित सहनीको पनि हत्या भएको हुन सक्ने उनका दाजु सञ्जय सहनीले बताएका छन् । ‘राहुलले लगाएको सर्ट उसको घाँटी निर बेरिएको छ, अण्डकोष, नाक र आँखाबाट रगत बगेको छ,’ सञ्जयले भने, ‘शव फेला परेको स्थान केराघारीमा घिसारिएका दागहरु पनि छन् ।’ घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने भन्दै उनले प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक दिलिप घिमिरेले शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि मात्र हत्या हो कि होइन भन्ने पत्ता लाग्ने उनले बताए । यद्यपि घटनाका सम्बन्धमा परिवारजनले दिएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको खोजी तथा अनुसन्धान भने गरिरहेको उनले जानकारी दिए ।

‘हत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेका छौं । दुवै युवाको शवलाई पोष्टमार्टमका लागि काठमाडौं पठाउँदै छौं,’ उनले भने ।

एक साता अघि मात्रै रौतहटको राजपुर नगरपालिका १ मा ४५ वर्षीय पुरुषको घाँटी रेटेर हत्या गरिएको अवश्थामा शव फेला परेको थियो । अहिले फेरि शनिबार एकै दिन दुई युवकको मृत्युको घटनाले स्थानीय बासिन्दा आतंकित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?