+
+

खानेपानीको राजनीतिमा एमाले : जिल्लाको उम्मेदवारलाई असहयोग गर्दा नगर अध्यक्षको सदस्यता खोसियो

हरि अधिकारी हरि अधिकारी
२०८१ असार २ गते ११:०५

२ असार, विराटनगर । विराटनगर महानगरपालिका-३ मा रहेको मानगढ खानेपानी आयोजना उपभोक्ता समितिको अध्यक्षमा नेकपा एमाले मोरङ नेतृत्वले अघि सारेको उम्मेदवारलाई असहयोग गर्दा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा पार्टीबाट निस्कासित भएका छन् ।

२०७९ सालमा एमालेबाट विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवार थापा शुक्रबार साधारण सदस्य समेत नरहनेगरी निस्कासित भएका हुन् ।

मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्षमा नेकपा एमाले मोरङ नेतृत्वले रामबहादुर घिमिरेलाई समर्थन गरेको थियो । तर, नगर कमिटी अध्यक्ष सागर थापाले पार्टी कमिटी वडा नम्बर ३ का अध्यक्ष लालमणी भट्टराईलाई समर्थन गरे । नेपाली कांग्रेसले दुर्गा चापागाईंलाई अघि सारेको थियो ।

खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि १९ जेठमा मतदान भएको थियो । तर, विवाद भएका कारण मतपत्र लिएका सबै मतदाताले मतदान गर्न पाएनन् ।

मतदानका क्रममा विवाद बढेपछि निर्वाचन समितिले २० जेठमा बाँकी रहेको मतदान प्रक्रिया अघि बढाउने सूचना प्रकाशित गरेको थियो । तर २० गते मतदान नगरी निर्वाचन समितिले राजीनामा दिएको थियो ।

निर्वाचन समितिले नै राजीनामा दिएपछि के गर्ने भन्ने अन्योल छ । उपभोक्ता समितिको मतदान प्रक्रियाको विवाद हाल उच्च अदालत विराटनगरमा पुगेको छ । उच्च अदालतले मतपेटीकालाई सुरक्षित राख्न आदेश जारी गर्दै अन्तरिम आदेशका लागि ३ असारमा पेशी तोकेको छ ।

एमालेका दुई उम्मेदवार

रामबहादुर घिमिरे पछिल्लो एक दशकभन्दा बढी समयदेखि मानगढ खानेपानी उपभोक्ता समितिको अध्यक्ष छन् । एमाले जिल्ला अध्यक्ष तथा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले घिमिरेलाई अध्यक्षमा समर्थन गरेका थिए ।

जेठ ७ गते एमालेले घिमिरेलाई अध्यक्ष र अर्का अध्यक्षको दाबेदार लालमणी भट्टराईलाई उपाध्यक्षमा उम्मेदवारी दिन निर्देशन दियो । तर भट्टराई तयार भएनन् र अध्यक्षमा उम्मेदवारी दिए । भट्टराईको निर्वाचनको प्रचारप्रसारमा नेकपा एमाले नगर अध्यक्ष सागर थापासहितका नेताहरु खटिए । घिमिरेको पक्षमा जिल्ला अध्यक्ष पोखरेल निकट नेताहरु हिँडे ।

निर्वाचनको प्रकिया सुरु भएपछि भट्टराईको पक्षमा लागेकालाई फिर्ता हुन एमालेले निर्देशन दियो । तर अटेर गरेपछि एमाले जिल्ला समितिले महानगर अध्यक्ष सागर थापा र नवराज नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गर्याे ।

शुक्रबार जिल्ला संगठन समितिको अध्यक्ष बाबुराम कार्कीले हस्ताक्षर गरेर उनीहरुलाई कारवाहीको पत्र पठाएका थिए ।

कार्कीलाई अध्यक्ष ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापति भएका कारण नभ्याउने भन्दै जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिएका छन् ।

खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीको निर्णय कार्यान्वयन नभएपछि एमाले जिल्ला समितिको जेठ १८ गते छानविनका लागि जिल्ला कमिटी उपसचिव शान्ति लिम्बूको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेतसदस्य रहने गरी समिति बनाएको थियो ।

समितिको सिफारिसका आधारमा नेकपा एमाले मोरङले विराटनगर अध्यक्ष सागर थापा, महानगर कमिटी कार्यालय सहसचिव नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षका उम्मेदवार तथा एमाले वडा कमिटी ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको थियो । वडा नम्बर ३ का वडा सदस्य सुरज न्यौपाने र जिल्ला सदस्य मुकेश बुढाथोकीलाई स्पष्टीकरण सोधेको थियो ।

शुक्रबार नगर अध्यक्ष थापा पार्टीबाट निस्कासनमा परेपछि एमालेको १९ वटै वडा कमिटीले २४ घण्टाभित्र कारवाही फिर्ता लिन आग्रह गर्दै जिल्ला अध्यक्ष कार्कीलाई शनिबार ज्ञापनपत्र बुझाएका छन् ।

पार्टीको आधिकारिक निर्णय समेत नभएको विषयमा कामचलाउ जिल्ला संगठन समितिको अध्यक्ष बाबुराम कार्कीले जिल्ला कमिटीको बैठकमा निर्णय र माइन्यूट नै नभएको विषयमा कारबाहीको चिठ्ठी दिएको उनीहरुको गुनासो छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?