+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘फिल्मलाई साहित्यको महत्वपूर्ण विधाको रुपमा स्थापित गर्न जरुरी’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १२:२२

काठमाडौं । फिल्म साहित्यको महत्वपूर्ण विधा हो भन्ने मान्यतालाई नेपालमा स्थापित गर्न जरुरी रहेको फिल्मकर्मी र साहित्यकारहरुले बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा भएको ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तर्कियामा यसबारे जोड दिइएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रुपान्तरणका निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुरा एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ,’ उनले भने ।

कार्यपत्रमाथि आफ्नो धारण राख्दै वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा रहेको बताए । ‘अहिलेको अवस्थामा कला र साहित्यलाई हेर्ने दृष्टिकोण गलत छ, हामीले बदल्नुपर्छ । कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ । चलचित्र पनि मानवीय संवेदनासँग जोडिएको एउटा पाटो हो ,’ उनले भने । पटकथा फिल्म साहित्यको मूल अंश रहेको भन्दै शाहले विश्व बजारका धेरै प्रसिद्ध फिल्महरुको आधार साहित्य नै भएको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले फिल्मको बहसमा एउटा माहोल सिर्जना गर्ने प्रयत्न गरेको बताए । ‘चलचित्र आफैं साहित्य हो । चलचित्र प्रविधिसहितको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधा समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ,’ उनले भने, ‘आफ्नो कथा आफैं भन्ने एउटा बलियो आधार बनेको छ ।’

कार्यक्रमा कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले फिल्मको इतिहास उजागर गरेपनि फिल्म साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रष्ट पार्न नसकेको धारणा राखे । ‘साहित्यका साना-साना विधाहरुलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको देखिन्छ । चलचित्रको व्यावसायिक पाटो एउटा हो तर मौलिक सिनेमा बनाउने कुरा अर्को चुनौती छ नेपाली बजारमा,’ उनले भने, ‘पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको छ ।’

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक, कलाकार सुवास गजुरेल, पत्रकार विजयरत्न तुलाधार, अभिनेत्री विमला केसीलगायतले पनि आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?