+

काभा यू-२० महिला भलिबल : पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजित

२०८१ साउन  ४ गते १:१७ २०८१ साउन ४ गते १:१७
काभा यू-२० महिला भलिबल : पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजित

३ असार, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भयो ।  नेपालले जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्य राखेपनि सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा पहिलो खेलमै पराजित भयो ।

पहिलो सेट श्रीलंकाले २५-२० ले जित्दै खेलमा अग्रता लिएको थियो । नेपालले प्रतिस्पर्धात्मक दोस्रो सेट टाईब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याएको थियो । तर तेस्रो सेटमा नेपालको प्रदर्शन खराब हुँदा श्रीलंकाले २५-११ ले सहजै आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो । त्यसपछि चौथो सेट पनि २५-१८ ले जित्दै श्रीलंका विजयी भयो ।

नेपालले पहिलो खेलमा सोचे अनुसार प्रदर्शन गर्न नसकेको मुख्य प्रशिक्षक कुमार राईले बताए । पहिलो खेल भएकोले नेपाली टिममा तालमेलको अभाव देखिएको थियो ।

नेपालका लागि सलिना बुढा मगर र मिना सुनारले राम्रो प्रदर्शन गरेपनि अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । सलिनाले सर्वाधिक २० अंक स्कोर गर्दा मिना सुनारले १२ अंक स्कोर गरिन् ।

बिहीबारै भएको पहिलो खेलमा कीर्गिस्तानले घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा हराएर विजयी सुरुवात गरेको छ । कीर्गिस्तानले माल्दिभ्सलाई २५-११,  २५-११, २५-१७ ले पराजित गरेको हो ।

अब नेपालले शुक्रबार कीर्गिस्तानसँग खेल्नेछ भने श्रीलंका र माल्दिभ्सबीच शुक्रबारै अर्को खेल हुनेछ ।

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय