+

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्यबारे बहस आवश्यक

२०८१ साउन  १५ गते १७:३२ २०८१ साउन १५ गते १७:३२
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्यबारे बहस आवश्यक

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ का अनुसार ‘अपांगता भएका व्यक्ति’ भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झिनुपर्छ ।

सन् २०२१ को जनगणनाअनुसार नेपालमा अपांगता भएका जनसंख्याको २.२ प्रतिशत रहेको छ, जुन २०११ मा १.९४ प्रतिशतले थियो भने सन् २००१ को जनगणनाअनुसार नेपालमा ०.४६ प्रतिशत मानिसहरूमा कुनै न कुनै किसिमको अपांगता रहेको पाइएको छ । त्यसमा ५४.२ प्रतिशत पुरुष र ४५.८ प्रतिशत महिला छन् ।

यसरी हेर्दा कुल अपांगता भएकामध्ये ३७ प्रतिशत मानिसहरुमा शारीरिक अपांगता, २२ प्रतिशतमा दृष्टि सम्बन्धी, १६ प्रतिशतमा कान नसुन्ने समस्या, २ प्रतिशत मा आँखा र कान दुवैसम्बन्धी, ६ प्रतिशतमा बोलीसम्बन्धी, ९ प्रतिशतमा बहुअपांगता, ४ प्रतिशतमा मनोसामाजिक, २ प्रतिशतमा बौद्धिक अपांगता र बाँकी ३ प्रतिशत व्यक्तिमा अन्य किसिमको अपांगता रहेको पाइएको छ । ऐनले अपांगता भएका व्यक्तिको सम्मान र अधिकारको सुरक्षा गर्छ र समाजका अन्य सदस्यहरूसँग पूर्ण रूपमा समान आधारमा भागीदारी गर्न सहायता प्रदान गर्छ ।

यौन तथा प्रजनन् स्वास्थ्य हरेक मानिसको स्वस्थताको एउटा प्रमुख सूचक हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको प्रजनन् प्रणाली र यसले गर्ने कार्यहरू स्वस्थ ढंगले नियमित रुपमा सुचारु भई सुरक्षित तथा सन्तुष्ट यौन जीवनयापन गर्न र आफूले चाहेको समयमा आवश्यकताअनुसार स्वतन्त्र ढंगले सन्तान उत्पादन गर्न योग्य हुनु प्रजनन् स्वास्थ्यको प्रमुख ध्येय हो । अपांगता भएका व्यक्तिका लागि प्रजनन् स्वास्थ्यको प्रमुख ध्येयमा गर्दै उनीहरूलाई उचित सेवा प्रदान गर्न अत्यावश्यक छ । उनीहरूले गर्भवती हुनु तथा मातृत्वको अवस्था वा आमा हुन पाउने अधिकार हुन्छ र यसको उपभोग गर्न सक्छन् ।

अपांगता भएका व्यक्तिले पनि अपांगता नभएका मानिसहरू जस्तै आफ्नो शरीर, यौन सम्बन्ध, यौनिकता र यौन स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्ने र आवश्यकताअनुसार गुणस्तरीय सेवा लिन पाउने अधिकार संविधान तथा अन्य नीतिगत तथा कानुनी रुपमा सुरक्षित छ । यसैगरी यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच र उपयोगको समानता र सुरक्षा गर्न अपांगता भएका व्यक्तिलाई पनि अधिकार प्रदान गर्न अत्यावश्यक छ । उनीहरूले पनि आफ्नो यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्नुपर्छ र उपयोगका साथै आफ्नो स्वास्थ्य र सम्बन्धहरूको रेखदेख गर्न सक्नुपर्छ ।

अपांगता भएका व्यक्तिलाई परिपूर्तिका साथै यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच र उपयोगमा समानता र सुरक्षा प्रदान गर्न सक्ने सूचना, संवाद र सहयोग गर्नुपर्छ । यस्ता सेवाले उनीहरूको स्वास्थ्य र परिवारको भलाइमा मद्दत गर्नेछन् । उनीहरूलाई सामाजिक, आर्थिक र व्यक्तिगत स्तरमा सहयोग प्रदान गर्ने कार्यक्रमको प्रावधान गर्न प्रयास गर्नुपर्छ । अपांगता भएका व्यक्तिको सम्मान र अधिकारको रक्षा गर्ने कानुन तथा नीतिहरूको समर्थन गर्न आवश्यक छ । अपांगता भएका व्यक्तिहरूले पनि समाजले प्राप्त गर्नुपर्ने सहभागिता, अधिकार र सुरक्षा भागीदारीका रूपमा स्वीकार गर्न पाउने गर्व र आत्मविश्वास गर्न सक्नुपर्छ ।

अपांगताको प्रकार हेरेर अपांगता भएका व्यक्तिहरूको सञ्चारको तरिका फरक-फरक हुनसक्छ । त्यसैले यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी शिक्षा तथा सूचना प्रदान गर्दा अपांगता भएका हरेक व्यक्तिको रुचि, प्राथमिकता र सीमालाई ध्यान दिएर उपयुक्त सञ्चारको तरिका अपनाउनुपर्छ । अपांगता भएका व्यक्तिका लागि विस्तृत र समावेशी यौन शिक्षा आवश्यक छ ।

अपांगता भएका व्यक्तिलाई पनि अरु मानिस जस्तै यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी आवश्यकता, चाहना तथा सीमाहरुको बारेमा खुलेर सञ्चार गर्न सशक्त बनाउनु जरुरी छ । यसले उनीहरूलाई सम्मानजनक ढंगले जीवन यापन गर्न सहयोग पुग्छ भने सुरक्षित, गोप्य तथा सम्मानजनक वातावरणमा उनीहरूले खुलेर कुरा गर्न सक्छन् र आफ्नो प्रजनन् स्वास्थ्य तथा परिवार योजनाको निर्णय आफैं गर्न सक्छन् । अपांगता भएका व्यक्तिहरू प्रायजसो अनेक मिथ्या, अवहेलना तथा अपूरो बुझाइको सिकार भइरहेका हुन्छन् । अपांगता भएका व्यक्तिहरूले गर्भनिरोधक प्रयोग गर्न र यौनजन्य गतिविधिका लागि आफू अनुकूल उपयुक्त यौन आसन, सहयोगी सामग्रीको प्रयोग आदि अपनाउन सक्छन् ।

अपांगता भएका व्यक्तिमा हुने लैंगिक असमानता र भिन्नतालाई सम्मान तथा आदरभावले हेरेर सबैलाई आवश्यक सेवा तथा सूचना प्रदान गर्नु जरुरी छ । आवश्यकताअनुसार आफ्नो यौन स्वास्थ्यसम्बन्धी निर्णय गर्न, जबरजस्ती करणी, यौन शोषण वा दुरुपयोग विरुद्ध कदम चाल्न, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको प्रयोग गर्ने जस्ता कानुनी र नैतिक पाटोहरुको बारेमा अपांगता भएका व्यक्तिसहित उनीहरुका सहयोगी र नजिकका व्यक्ति लगायत सबैलाई यसबारेमा सुसूचित गराउन आवश्यक छ ।

अपांगता भएका व्यक्तिले आफ्नो अवस्थाअनुसारको गर्भनिरोधकलाई लामो समयका लागि भरपर्दो विधिको रुपमा अपनाएर गुणस्तरीय जीवन यापन गर्न सक्छन् । तर अपांगताको किसिमअनुसार गर्भनिरोधकले उनीहरुको स्वास्थ्यमा पार्न सक्ने प्रभावको बारेमा सुसूचित हुनुपर्छ । नियमित जाँच तथा फलोअप आवश्यक पर्ने गर्भनिरोधक अपांगता भएका व्यक्तिहरुका लागि प्रभावकारी भए नभएको र अपाङ्गमैत्री भए नभएको यकिन गर्नुपर्छ । अवस्थाअनुसार गर्भनिरोधकलाई सुचारु गर्ने नगर्ने निर्णय लिनुपर्छ । अपांगता भएका व्यक्तिलाई कुनै पनि गर्भनिरोधक प्रदान गर्नुअघि उनीहरुको सुसूचित सहमति लिएर र सम्मानजनक अन्तरक्रियाबाट मात्र सेवा दिनु पर्छ ।

(अनुसन्धाता अधिकारी अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत छन् ।)

अपाङ्गता यौन तथा प्रजनन्
लेखक
अनुप अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?