+
+

‘नम्बरी सुन’बारे गौरव पहारी : ‘मेरो करिअरकै स्मरणीय फिल्म’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १७:३३

काठमाडौं । गौरव पहारीले फिल्मी करिअरमा धेरै चरित्र बाँचे । हास्य, प्रेम, द्वन्द्व, देशप्रेम जस्ता कथाका फिल्ममा उनी प्रस्तुत भए । शुक्रबारदेखि प्रदर्शन हुने ‘नम्बरी सुन’ले उनलाई चरित्रको नयाँ गहिराइमा लैजान्छ ।

यो फिल्ममा उनले कमेडी, रोमान्स, ड्रामा, एक्सन अवतारमा आफूलाई प्रस्तुत गरेका छन् । यी पात्र गर्दा चुनौती भएको उनको अनुभव छ । ‘सबै चरित्र एउटै क्यारेक्टरमा देखिनुपर्ने भएकाले फिल्म गर्न सहमति भएँ,’ उनले भने ।

फिल्मले मुख्य पात्रको वर्गीय प्रेमको कथा भन्छ । उनको पात्रले मुखियाकी छोरीसँग प्रेम गर्छ । उनले कथित निम्न वर्गको चरित्र निर्वाह गरेका छन् ।

‘फिल्ममा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । त्यो समयमा अहिलेको जस्तो टोलटोलमा सुन पसल हुँदैन थियो,’ उनले भने, ‘यसका लागि गाउँ-गाउँ डुलेर महिनौं बिताएर सुन बनाउनुपर्ने हुन्थ्यो ।’

पहारीका अनुसार फिल्ममा उनको चरित्र दयालु र सहयोगी छ । गाउँको यो कथामा उनको पात्र बेरोजगार छ । तर अरुलाई आइपर्दा नतिजाको पर्वाह नगरीकन मद्दत गर्न तयार हुन्छ । परिणामले ऊ खुसी हुन्छ र पछुताउँछ पनि ।

आफू एक्लैले बहुचरित्र निर्वाह गर्दा असहज नभएको ठम्याइ उनको छ । ‘किनकि मलाई अन्य कलाकारले सहयोग गर्नुभयो,’ पहारी भन्छन्, ‘आज एउटा र भोलि अर्को जनरामा काम गर्दा चरित्रमा मिश्रण भएन । म कट हुने बित्तिकै त्यो जोनबाट हटिहाल्थें ।’

फिल्ममा पहारीले राजेन्द्र खड्गीसँग द्वन्द्वको दृश्य गरेका छन् । यो दृश्य खिचिरहँदा उनी नर्भस भए । त्यो एक्सन खिच्दा उनले खड्गीको टाउकोमा छुनुपर्ने थियो तर गल्तीवश उनलाई चोट लाग्यो । ‘एक्सन गर्ने भनेपछि भित्रबाट त्यो खालको जोश आइहाल्छ, नियन्त्रणमा हुँदैन,’ उनले सम्झिए ।

उनले सम्झिए, ‘उहाँले छोड्नु भएको थिएन । म आफैं नर्भस भएर ‘क्यामरा कट’ भनेर रोकें । अनि अंकलले ‘गौरव किन रोकेको कन्टिन्यु गर्नुपर्थ्यो नि’ भन्नुभयो । मैले ‘म नर्भस भएँ । त्यसकारण रोकें’ भनेपछि उहाँले कुरा बुझ्नुभयो ।’

‘नम्बरी सुन’ आफ्नो करिअरको स्मरणीय फिल्म बन्ने गौरव बताउँछन् । जनराले आफूलाई आकर्षित गरेको उनले बताए । ‘किनभने मलाई यसको जनरा मनपरेको छ । एक्सन, प्रेम, कमेडी सबै छ । सायद भोलि गएर अरु फिल्ममा यस्तो गर्न पाउँछु कि पाउँदिनँ,’ उनले भने ।

खड्गी, सरोज खनालसँग स्क्रिन सेयर गर्ने मौका मिल्नु आफ्ना लागि ठूलो अवसर रहेको उनको ठम्याइ छ । उनलाई खलपात्रको रोल गर्न मन लाग्छ । तर उनलाई देख्दा भन्दा बानी व्यहोराले फिल्म देखिओस् भन्ने लाग्छ ।

‘उसको परिचय नै भिलेन होइन, तर काम गर्दै गएपछि लास्टमा ‘ए भिलेन यो पो रहेछ’ भन्ने किसिमको भान दर्शकमा होस्’ उनले भने । ‘नम्बरी सुन’लाई राजु गिरीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?