+

गाउँपालिका प्रमुखले हाँकेको परिवर्तन

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
विद्यार्थी आन्दोलन हुँदै गाउँपालिका अध्यक्षको कुर्सीसम्म आइपुगेका चुमानले नागरिकमा आशा जगाउने प्रयत्न गरेका छन् । सरल व्यवहार र लवाइखवाइ तथा साधारण जीवनशैलीमा विकासदेखि सेवाप्रवाहसम्म चुस्त बनाउन लागिपरिरहेका चुमान युवाहरूका निम्ति प्रेरणा बनेका छन् ।
शुक्र चुमान

स्थानीय चुनावअघि शुक्र चुमानको न ठूलो नाम थियो, न ठूलो ज्यान । चुनावी अभियानका क्रममा हिलेखर्क भन्ने गुरुङ गाउँ पुग्दा धेरैले आँबुखैरेनी गाउँपालिकाको उम्मेदवार शुक्र चुमान खोइ त भन्दै सोधे ।
‘मै हो शुक्र’ भन्दै चिनाएर भोट माग्दा गाउँलेहरू गलल्ल हाँसे । उनीहरूलाई लागेको रहेछ, उम्मेदवार अलि पाको र भुँडी लागेको होला । उनीहरूले भने, ‘थप्ले (ठूलो) मान्छे होला भनेको त च्याउने (सानो) पो रहेछ !’

हिलेखर्क त एउटा उदाहरण मात्रै हो, २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा धेरै बुढाबुढीले शुक्रलाई चिनेकै थिएनन् । ३४ वर्षीय ठिटोले आँबुखैरेनी पालिकावासीलाई बुझाए, आशाको दियो जगाए । देशभर नेपाली कांग्रेस–नेकपा माओवादी सहितको गठबन्धन बनेर निर्वाचनमा होमिंदा शुक्र बागी उम्मेदवार जस्तो बन्न पुगेका थिए ।

गाउँपालिका प्रमुख चलाइसकेका गिरबहादुर थापालाई कांग्रेसले फेरि उठाएको थियो । एमालेबाट ऋषि केसी उम्मेदवार थिए । चुमानको उम्मेदवारी फिर्ता गराउन माओवादी शीर्ष नेतृत्वबाट दबाब आएको थियो तर, उनी पछि हटेनन् । तर, शुक्रले यसरी चुनावी अभियान चलाए, जनताले उनीमाथि विश्वास गरे । युवा र नयाँप्रति देशभर एकखालको लहर चलिरहेका बेला शुक्रमा गाउँवासीले परिवर्तनको संकेत देखे ।

तनहुँका १० पालिकामध्ये माओवादीबाट जित्ने एक मात्र उम्मेदवार बने शुक्र । चुनावी अभियानताका धेरैले नपत्याएका, नचिनेका शुक्रलाई आँबुखैरेनीवासीले मत दिएर विजयी गराए । अहिले तिनै शुक्रले एक जना व्यक्तिले एउटा पालिकामा कति फरक पर्छ भन्ने प्रमाणित गरेका छन् ।

गण्डकी प्रदेशका ८५ स्थानीय तहले नै प्रशंसा गर्ने गरी चुमानले काम गरिरहेका छन् । जनताको जीवनलाई केन्द्रमा राख्दै स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर उनी काम गरिरहेका छन् । चुमानले आफू अध्यक्ष भएपछि नै पालिकाको आफ्नै अस्पताल मात्रै चलाएनन्, पालिकास्तरमै डायलाइसिस गर्ने देशभरिकै पहिलो गाउँपालिका बन्यो ।

 

पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्ने मानिसहरूले रोकिएर पिसाब फेर्ने र मानिसहरूले दिल बहलाउने ऐना पहरामा चुमानले सिर्जनशील काम गरेर चकित पारिदिएका छन् । विद्यालय मर्ज गरेर टाढाका विद्यार्थीलाई अर्को विद्यालयसम्म पुर्‍याउन पालिका आफैंले बस चलाए भने ग्रामीण क्षेत्रका विद्यार्थीका लागि जीपको व्यवस्था गरेका छन् ।

सामुदायिक विद्यालय निजीभन्दा कम छैन भन्ने उदाहरण शुक्र नेतृत्वको पालिकाले पेश गरिरहेको छ । सयपत्री फूल पहिलो पटक कतार निर्यात गरेको आँबुखैरेनीले गुजारा चलाइरहेका किसानलाई करेसाबाट व्यावसायिक कृषितर्फ उन्मुख गराइरहेको छ । उनले पालिकामा हाटबजारको सुरुआत गरेका छन् ।

कृषि उत्पादन र पर्यटनलाई जोडेका शुक्रले छिम्केश्वरी, आँधीमुल जस्ता ठाउँलाई चम्काउन जुटिरहेका छन् । मर्स्याङ्दीमा मोटरबोट चलाएर पर्यटकलाई जलविहार गराएर आन्तरिक स्रोत समेत बढाइरहेका छन् । बाँस र फलामको सामग्री उत्पादनलाई औद्योगिक ग्राममा बदल्दै छन् जुन पूर्ण रूपमा सुरु हुँदा कम्तीमा १०० जनाले जागिर पाउने छन् ।

स्वास्थ्यको हब बन्दै आँबुखैरेनी

गत साउन ६ गते आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा सायदै देख्न पाइने दुर्लभ दृश्य देखियो । सरकारी अस्पतालको सेवातिरभन्दा निजी मेडिकल तथा अस्पताललाई प्राथमिकता दिन्छन् भन्ने भाष्य विपरीत आँबुखैरेनीमा त निजी अस्पताल सरकारीमा गाभिंदै थियो ।

आँबुखैरेनी गाउँपालिका कार्यालयको गेटैनेर छ, आँबुखैरेनी अस्पताल । अस्पतालका प्रायः बेड खाली छैनन् भने बिहानैदेखि जाँच गराउन आउने बिरामीको बाक्लो उपस्थिति छ । चिकित्सकहरूलाई बिहानैदेखि उपचार गर्न भ्याईनभ्याई छ ।

आँबुखैरेनी क्षेत्रलाई स्वास्थ्यको हब बनाउने व्यवसायी र गाउँपालिकाको लक्ष्य मिलेपछि निजी अस्पताल नै सरकारीमा समायोजन भएको हो ।

गत मंसिर १ गते १५ श्ययाको अस्पताल उद्घाटन गरी विशेषज्ञ सहित स्वास्थ्य सेवा थालेको गाउँपालिकाले डायलाइसिस सहित विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको हो । छिट्टै एपेन्डिक्स, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा दिन अप्रेसन थिएटर निर्माण गरिसकेको छ ।

आँबुखैरेनी गाउँपालिका कार्यालयको गेटैनेर छ, आँबुखैरेनी अस्पताल । अस्पतालका प्रायः बेड खाली छैनन् भने बिहानैदेखि जाँच गराउन आउने बिरामीको बाक्लो उपस्थिति छ । चिकित्सकहरूलाई बिहानैदेखि उपचार गर्न भ्याईनभ्याई छ ।

आँबुखैरेनी गाउँपालिकाले गोरखा, लमजुङ र पूर्वी तनहुँ क्षेत्रलाई आधार बनाएर स्वास्थ्यको हब बनाउने उद्घोष सहित पूर्वाधार निर्माणदेखि सेवा विस्तारसम्मको काम थालेपछि आँबुखैरेनी बजारमा सञ्चालित निजी अस्पताललाई नै व्यवसायीले सरकारीमा समायोजन गराएका हुन् । आँबुखैरेनीका ३३ जना व्यवसायीले सञ्चालन गरेको करिब साढे ४ करोड लगानीका छिम्केश्वरी अस्पताल प्रालि नै आँबुखैरेनी अस्पतालमा गाभ्ने सम्झौता गरेका छन् ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र र छिम्केश्वरी अस्पताल प्रालिका कृष्णमान तामाङले अस्पताल गाभ्ने सम्झौता गरेका हुन् । गण्डकीको पूर्वी क्षेत्रको उपक्षेत्रीय स्वास्थ्य हब बनाउने मनसायबाट अभिप्रेरित भई पालिकाबाट सञ्चालित आँबुखैरेनी अस्पताललाई निकट भविष्यमा नै ५० श्ययाको अस्पताल बनाउने लक्ष्यलाई सघाउन छिम्केश्वरी अस्पतालका सबै सेयर सदस्य सहमत भएपछि सरकारीमा समायोजन गरिएको हो ।

छिम्केश्वरी अस्पतालका अध्यक्ष कृष्णमान तामाङले आँबुखैरेनी क्षेत्रका बासिन्दाका निम्ति एउटा पनि अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रमा केही त गरौं भनेर व्यवसायी मिलेर अस्पताल खोलिएको र अहिले गाउँपालिकाले नै अस्पताल चलाएर ५० शय्याको बनाउने लक्ष्य नै राखेपछि हस्तान्तरण गरिएको बताउँछन् ।

युवा नेतृत्व आएर अस्पताल स्थापना गरी गाउँपालिकाहरूमध्येमै पहिलो पटक डायलाइसिस सेवा र अन्य विशेषज्ञ सेवा पनि सुरु गरेर स्वास्थ्य एकेडेमी सहित ५० बेडको अस्पताल बनाउने लक्ष्य राखेपछि सेयर सदस्यहरूको सल्लाहले पालिकालाई नै हस्तान्तरण गरेर साथ दिने निर्णयमा पुगेको तामाङले बताए ।

आँबुखैरेनी बजारको इतिहास लामो छैन, २०२३ सालतिरबाट बल्ल यो बजार बस्न थालेको हो । पृथ्वीराजमार्ग बनेपछि विस्तार हुँदै गयो । आँबुखैरेनी बजार मात्र होइन, ग्रामीण क्षेत्रका नागरिकले पनि अहिले सहज र सुलभ सेवा पाएका छन् ।

यसरी निजी अस्पताल नै सरकारीमा हस्तान्तरण हुनु सायद नेपालकै पहिलो घटना हुनसक्ने बताउँछन्, चुमान । गाउँपालिकाको अभियानमा त्यहाँका कर्मचारीले समेत साथ दिएका छन् । कर्मचारीले पैसा उठाएर आँबुखैरेनी अस्पताललाई विभिन्न ल्याब टेस्ट गर्ने १० लाख रुपैयाँ बराबरको मेसिन खरिद गरेर सहयोग गरेका थिए ।

अस्पतालमा दैनिक कम्तीमा १०० जना बिरामी ओपीडी सेवा लिन आइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. डीबी क्षेत्रीले जानकारी दिए । गाउँपालिकाले आँबुखैरेनी अस्पतालमै १५ युनिट डायलाइसिस सेवा दिने क्षमता छ ।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी लगायत सेवा प्रदान गरिएको छ । अप्रेसन थिएटर निर्माण गरेर छिट्टै सेवा दिने योजना चुमानको छ ।

आँबुखैरेनीमा मेडिकलहरू भए पनि अस्पताल थिएन । ओछ्यानमै मर्नुपर्ने परिस्थितिको अन्त्य गर्ने उनले कसम खाएका थिए । ‘अस्पतालबाट करिब २५ हजारले उपचार लिइसकेका छन् । ३ हजारभन्दा बढीले निःशुल्क उपचार पाइसकेका छन्’ चुमानले भने, ‘जोसँग पैसा छैन निःशुल्क उपचार गर्ने, जोसँग केही पैसा छ भने सरकारी शुल्क लिएर सेवा दिने हो ।’ आफ्ना नागरिकका निम्ति निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका चुमानले गरिब तथा विपन्नका निम्ति ५० हजारसम्मको उपचार निःशुल्क गरेका छन् ।

गाउँपालिका अध्यक्ष शुक्र आफैं बिरामीसँग नमस्कार गर्दै अस्पताल आउनुको कारण सोधिरहेका हुन्छन् । कार्यालय छिर्नुअघि अस्पताल घुम्दै बिरामी र चिकित्सकसँग कुराकानी गर्छन्, अवस्था बुझ्छन् । बुढाबुढीले अध्यक्ष शुक्रको हात समाउँदै आशीर्वाद दिन्छन् ।

चुमान प्रत्येक महिना विद्यालयहरूको अनुगमन गर्छन् । आफैं कक्षा लिएर विद्यार्थीका कुरा सुन्छन् । शुक्रले पालिका अध्यक्ष भएर आउनेबित्तिकै थालेको अर्को काम, शिक्षा क्षेत्र सुधारको हो । राम शाह माविमा मात्र अघिल्लो वर्ष ३० पटक अनुगमन गरे ।

चुमान अध्यक्ष भएर आएपछि गाउँपालिकाकै आफ्नै अस्पताल सञ्चालन गरेका छन्, १५ शय्याको । विशेषज्ञ डाक्टर सहित ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पतालबाट सेवा दिइरहेका छन् ।

चुमान अध्यक्ष भएर आएपछि पहिलो काम नै अस्पताल सञ्चालनमा ल्याएर नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिन जुटेका हुन् । गरिबले निःशुल्क उपचार पाउँछन् भने पैसा हुनेले ५० रुपैयाँमा जाँच तथा उपचार पाउँछन् ।

शुक्रले गरिब तथा विपन्नको उपचारका लागि नागरिक उपचार कोष नै स्थापना गरेका छन् । गाउँपालिकाले अस्पताल चलाएपछि नागरिकले स्वास्थ्य सेवा पाएका छन्, अध्यक्ष शुक्रले बिरामीको आशीर्वाद ।
आफ्ना नागरिकलाई स्वास्थ्य सेवा दिन कम्मर कसेर लागेका शुक्रले धेरैभन्दा धेरै उपचार दिन सुविधा पनि थप्दै गइरहेका छन् । शुक्र आँबुखैरेनीलाई स्वास्थ्यको हब नै बनाउन लागिपरेका हुन् ।

इच्छाकामना गाउँपालिका गोरखाका रामप्रसाद बोहोरा यसअघि उपचारका लागि भरतपुर वा पोखरा जान्थे । ठूलै समस्या परे काठमाडौं हानिन्थे । तर, अहिले आँबुखैरेनी गाउँपालिका आफैंले विशेषज्ञ सेवा सहितको अस्पताल सुरु गरेपछि यहीं आउन थालेका छन् ।

आँबुखैरेनीकै ७० वर्षीया सानुमाया थापा यसअघि नसा सम्बन्धी समस्याले कहिले भरतपुर त कहिले पोखरा गइरहनुपर्थ्यो । अहिले आँबुखैरेनी बजारमा अस्पताल खुलेपछि उनलाई हाइसन्चो भएको छ । नागरिकको खुसीले हौसला पाएका चुमानले स्वास्थ्य एकेडेमी नै चलाउने योजना बुनेका छन् ।

शिक्षा सुधार अभियान

आँबुखैरेनी बजारमै छ, राम शाह मावि । राम शाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने अघिल्लो दिन विद्यालय नआएका विद्यार्थीका अभिभावकसँग सोधपुछ गरिरहेका छन् । विद्यार्थी स्कुल आएन भने त्यो सजाय उसले पाउँदैन, बरु जवाफ अभिभावकले दिनुपर्छ ।

अभिभावक अनिवार्य विद्यालयमा उपस्थित भएर जानकारी नगराई बस्नुको कारण बताउनुपर्ने नियम यहाँ बसालिएको छ । राम शाह माविमा झण्डै १९०० विद्यार्थी छन् । भव्य भवन सहितको पूर्वाधार छ । एसईईमा पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क ट्युसन सहितको छात्रावास चलाइएको छ ।

अध्यक्ष शुक्रले पूर्वाधार, शिक्षक र बजेटको अभाव भए आफूलाई भन्नुपर्ने र शिक्षाको गुणस्तर तथा शैली भने परिवर्तन गर्न निर्देशनै दिएका छन् । ‘पूर्वाधार भएन, शिक्षक भएन, स्रोत पुगेन भने मलाई भन्नुस्, तपाईंहरूले चिन्ता लिनुपर्दैन तर शैक्षिक गुणस्तर र नतिजा भने सुध्रिनुपर्छ, त्यसको जवाफ चाहिन्छ, उहाँको निर्देशन नै छ’ प्रधानाध्यापक रामराजले भने, ‘प्रधानाध्यापकहरूले बैठकमै शैक्षिक गुणस्तर सुधार्न प्रतिबद्धता गराउनुभएको छ ।’

चुमान प्रत्येक महिना विद्यालयहरूको अनुगमन गर्छन् । आफैं कक्षा लिएर विद्यार्थीका कुरा सुन्छन् । शुक्रले पालिका अध्यक्ष भएर आउनेबित्तिकै थालेको अर्को काम, शिक्षा क्षेत्र सुधारको हो । राम शाह माविमा मात्र अघिल्लो वर्ष ३० पटक अनुगमन गरे ।

विद्यार्थी पर्याप्त भएका विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने र नभएका विद्यालय मर्ज गरेर गाडीको व्यवस्था गरेका छन् । ७ वटा विद्यालय मर्ज गरेर गाडी मार्फत विद्यार्थीलाई स्कुल पुर्‍याउने अभियान उनले चलाएका छन् । पालिकाले दुई वटा स्कुल बसै चलाएको छ भने ग्रामीण क्षेत्रका विद्यार्थीका लागि भाडामा जीपको व्यवस्था गरेका छन् ।

चुमान आउनेबित्तिकै शिक्षक कम भएका विद्यालयका लागि अध्यापक र शैक्षिक सुधारका लागि ५० जना स्वयंसेवक शिक्षक नियुक्त गरे । विद्यालयको जग नै प्राथमिक तह भएकाले त्यहींबाटै शैक्षिक गुणस्तर सुधार्ने रणनीति उनले लिएका हुन् ।

‘एसईई र प्लसटुमा अहिले नै नतिजामा ठूलो सुधार आउन कठिन छ । प्राथमिक तहबाटै भएको सुधारको नतिजा देखिन समय लाग्छ’ चुमानले भने, ‘अहिले नै प्राथमिक तहका विद्यार्थी जिल्लाका उत्कृष्ट भनिएका विद्यालय र निजीका भन्दा कम छैनन् भन्ने दाबीका साथ भन्न सक्छु ।’ सामुदायिक तथा सरकारी शिक्षाप्रति नागरिकको विश्वास बढेको र पालिकासँग पर्याप्त स्रोत भएको भए केही निजी विद्यालय नै पालिकालाई हस्तान्तरण गर्न तयार रहेको चुमानले सुनाए ।

कक्षा ११ र १२ का विद्यार्थीलाई पालिकाले १० प्रतिशत छात्रवृत्ति बेहोर्छ । गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई खाना र आवासको सुविधा दिएको छ । अहिले पालिकाका कुनै पनि विद्यालयमा पूर्वाधारको अभाव छैन तर शैक्षिक गुणस्तर बढाउन शिक्षक र प्रधानाध्यापकलाई दबाब बढेको छ । देशकै अब्बल भनिएका विद्यालयको अध्ययन अवलोकनदेखि शैक्षिक प्रदर्शनीसम्म पालिकाले नै गराउने गरेको छ ।

गरिब तथा विपन्न विद्यार्थीका लागि अध्ययनदेखि शैक्षिक गुणस्तर सुधारका निम्ति पालिकाले कोष नै खडा गरेको छ । सो कोषमा अहिलेसम्म करिब ४० लाख रुपैयाँ जम्मा भइसकेको छ । विद्यार्थी, शिक्षकको जन्मदिनमा गर्ने आर्थिक सहयोगदेखि दाताले दिने सहयोगसम्म यो कोषमा जम्मा हुन्छ ।

गाउँपालिकाले रूप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार वटा विषयलाई प्राथमिकता दिएको छ । रूप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्ट उपलब्ध गराइएको छ ।

शैक्षिक सुधार अभियान अन्तर्गत विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क–बेन्च फेर्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्टटिभी राखी सिकाइ सहज गर्ने र विद्यालयमा बस उपलब्ध गराउने छ ।

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारलाई कर छुट दिने नीति पालिकाको छ । सामुदायिक विद्यालयमा छोरीछोरी पढाउने परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा गरिदिने अभियान चुमानले अगाडि सारेका छन् । बजेटमा पनि स्वास्थ्य शिक्षालाई पालिकाले प्राथमिकता दिएको छ ।

प्रकृति र आकृतिको ऐना पहरा

आकर्षक झरना, त्यसले फाल्ने चिसो हावा र बग्दै मस्र्याङ्दीमा झर्ने खोला, झरनासँगै रहेको बडेमानको ढुंगालाई खोपेर बनाइएको हात्ती, आमा–शिशुको मातृत्व झल्किने चित्र, हरियाली, चीनको ग्रेटवालकै झल्को दिने गरी बनाइएको झरनासम्म पुग्ने बाटो र पार्क तथा फूलले मनमोहक बनेको ऐना पहरामा अचेल पर्यटकको मेला नै लाग्ने गरेको छ ।

‘फालेको ढुंगा पनि काम लाग्छ भनेको यही होला । ऐना पहरामा मिल्किएका ढुंगालाई कुँदेर प्रकृतिकै अंगका रूपमा बनाइएको सिर्जनाले मनै हर्छ । त्यो बाटो आउजाउ गर्नेले हेरेर रमाउने तर गन्तव्य नबनेको ऐना पहरा सायद आज आफैंलाई हेरेर मुस्कुराएको छ’ स्थानीय सौगात पोखरेलले भने, ‘नेतृत्वले चाह्यो भने कस्तो ठाउँमा पनि सम्भावना फक्रिन्छ भन्ने यो गतिलो उदाहरण हो ।’

पृथ्वी राजमार्ग भएर आउ–जाउ गर्नेहरूले गाडी रोकैर झरनाको फोटो खिच्ने गरेको अध्यक्ष चुमानले देखेका थिए । उनले सोचे, यही ठाउँको प्राकृतिक स्वरूपलाई नबिगारिकन बनाउन सकिन्छ । त्यसो त गाउँपालिकाका पूर्व अध्यक्ष गिरबहादुरकै पालामा झरनामा पूर्वाधार विकासको योजना अगाडि सरेको थियो । तर, ढुंगालाई खोपेर विभिन्न आकृति बनाउने योजना चुमानले साकार पारेपछि अहिले दैनिक २/४ हजारसम्म मानिस पुग्ने गरेका छन् ।

पोखरातिरबाट पृथ्वी राजमार्ग हुँदै जाँदा मुग्लिन नपुग्दै आँबुखैरेनी बजारबाट एक किलोमिटरको दूरीमा छ, ऐना पहरा । तनहुँकै अग्लो पर्वत शृंखला छिम्केश्वरीको फेदीबाट बग्दै आउने सिउदी खोला अन्तिम विन्दु ऐना पहरा झरनासँगै पालिकाले बनाएको आकृति देशकै चर्चाको विषय बन्न पुगेको छ भने त्यहाँका तस्वीर सामाजिक सञ्चालमा समेत भाइरल बन्दै आएका छन् ।

अर्को गन्तव्य मर्स्याङ्दीमा बोट

साहसिकहरूको रोजाइ र्‍याफ्टिङका लागि एक गन्तव्य हो, मर्स्याङ्दी नदी । पर्यटनसँग जोडेर नयाँ केही गर्ने हुटहुटी हुँदा गाउँपालिका अध्यक्ष चुमानले जुक्ति लगाए, अब मस्याङ्दीको जलाशयमा मोटरबोट चलाउने ।

पृथ्वी राजमार्ग भएर दैनिक आउ–जाउ हजारौं यात्रु, पानी र प्रकृतिसँग रमाउने केही प्रतिशत मात्रै आइदिए भने गाउँपालिकाको नाम रोशन हुन्छ र आन्तरिक स्रोत पनि बढ्छ भन्ने चुमानको निष्कर्ष थियो ।
मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटर बोट चलाउन पालिकाले बोलपत्र आह्वान गर्‍यो । मोटर बोट सेवा प्रदायक कम्पनी बोटेबोरा आफैंले बोट चलाउने जिम्मा पाएपछि आँबुखैरेनीको अर्को गन्तव्य बन्न पुगेको छ ।

मोटरबोट आँबुखैरेनीका लागि नयाँ प्रोडक्ट बन्न पुगेको हो । त्योसँगै अब आसपासमा नयाँ होटल तथा रिसोर्टमा लगानी गर्ने आकर्षण पनि बढ्ने र खोजी गर्नेहरू पनि आइरहेको चुमानले बताए ।

मोटर बोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटर बोटमा सयर गर्न २५० रुपैयाँ प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

कम्पनी आफैंले पनि ३ करोड रुपैयाँ थप लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटर बोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना बुनिरहेको छ ।

‘मोटरबोट आँबुखैरेनीको अर्को चिनारी हुनसक्ने देखिन्छ । यसले पर्यटन र पालिकाको स्रोतको विकास गर्छ’, स्थानीय श्रीराम भट्टराईले भने ।

कृषि हाटबजारले किसान करेसाबाट व्यवसायतिर

आँबुखैरेनी गाउँपालिकाभित्र पृथ्वी राजमार्ग आसपास व्यावसायिक कृषि तथा पशुपालन हुने क्षेत्र हो । यहाँका किसानले कृषि तथा पशुपालनबाटै मनग्य आम्दानी गरिरहेका छन् र तिनीहरूको सुरक्षाको काम पालिकाले गरिरहेको छ ।

चुमान नेतृत्वको गाउँपालिकाले भने साना ग्रामीण भेगका किसानलाई लक्षित गरेर कृषि हाटबजार सुरु गरेको छ ।

‘यो साना किसानका निम्ति निकै फलदायी बनेको छ । किसानलाई करेसाबारीबाट व्यवसायतिर यसले जोड्ने काम गरेको छ’ आँबुखैरेनी–१ याङचोकटारकी सुनिता आलेमगर भन्छिन्, ‘परम्परागत हिसाबले गाउँमा जे–जे फल्छ, त्यो पनि हाटबजारसम्म पुगेको छ, साना किसानको हातसम्म पैसा आइपुगेको छ ।’

कृषि हाटबजारका लागि पालिकाले आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएको छ । पालिकाले नै ट्रष्ट निर्माण गरिदिएको छ भने किसानको उब्जनीको ढुवानी पनि पालिका आफैंले गरिदिने गरेको छ ।

वार्षिक दुई लाख ५० हजार भाडा बुझाउने शर्तमा पालिकाले जग्गा भाडामा लिएर हाटबजारका लागि किसानलाई उपलब्ध गराएको छ । पृथ्वीराजमार्गको छेउमै कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारी लगायत स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ ।

साना किसानले उत्पादन गरेका साग, फर्सी, पिंडालु, बोडीदेखि गिट्ठा, तरुलसम्मका उत्पादन हाटबजारबाट बिक्ने गरेको छ । ‘आँधीमुल, छिम्केश्वरी जस्ता ग्रामीण क्षेत्रका किसानलाई यो हाटबजारले धेरै सजिलो बनाएको छ । गाउँघरमै फलेको उत्पादनले बजार पाएको छ’, सन्तोष केसीले भने ।

सयपत्री कतार निर्यात, नबिकेको सयपत्रीबाट अगरबत्ती

गत साल आँबुखैरेनी गाउँपालिकाले सयपत्री फूल कतार निर्यात गर्‍यो । आँबुखैरेनी–१ याङ्चोकटारका आमाहरूले उत्पादन गरेको सयपत्री फूल कतार पठाउने समन्वय पालिकाले गरेको थियो ।

पहिलो पटक सयपत्री विदेश नै गएपछि र आमाहरूका हातमा धेरैथोरै पैसा समेत परेपछि सामूहिक रूपमा फूलखेती गर्ने योजना बनाएको याङ्चोकटारकी सुनिता आलेले बताइन् ।

सयपत्रीबाट साढे २ लाख रुपैयाँ उनीहरूले हात पारेका थिए । तर, आमाहरूको योजनालाई पालिकाले सहयोग मात्र गरेन्, सारथि नै बनिदियो ।

यसअघि २० रोपनीमा फूल खेती गरेका आमाहरूले यसपटक ३० रोपनीमा गरेका छन् । दुई वटा आमा समूह मिलेर उद्यमशील समूह बनाएर सयपत्री खेती र अगरबत्ती बनाउन लागिपरेका छन् ।

विद्यार्थी आन्दोलन हुँदै गाउँपालिका अध्यक्षको कुर्सीसम्म आइपुगेका चुमानले नागरिकमा आशा जगाउने प्रयत्न गरेका छन् । सरल व्यवहार र लवाइखवाइ तथा साधारण जीवनशैलीमा विकासदेखि सेवाप्रवाहसम्म चुस्त बनाउन लागिपरिरहेका चुमान युवाहरूका निम्ति प्रेरणा बनेका छन् ।

उनीहरूले सयपत्री याङ्चोकटार लघुउद्यमी महिला समूह बनाएका छन् । अघिल्लो पटक शतप्रतिशत अनुदान दिएको पालिकाले यसपटक ८५ प्रतिशत अनुदान दिएको छ भने बजारको व्यवस्थापन पनि गाउँपालिका अध्यक्ष आफैंले गरिदिने भएपछि महिलाहरू हौसिएका छन् ।

‘राम्रो सयपत्री बिक्री गर्ने तर नबिकेको सयपत्रीबाट अगरबत्ती बगाउने काम गरिरहेका छौं । फुर्सद मिलेको बेलामा बनाइएको अगरबत्तीले ठूलो नभएपछि दैनिकी चलेको छ’ सुनिताले सुनाइन्, ‘पालिकाले अगरबत्ती बनाउने मेसिन दिएको छ ।’

पालिकाले बाँस र फलामका सामग्री बनाउने उद्योग ग्राम चलाइरहेको छ । त्यो पूर्णरूपमा सञ्चालनमा आउँदा १०० जनासम्मले रोजगारी पाउने छन् । वडा नम्बर २ मा मार्कीचोक नजिकै उद्योग ग्रामबाट बाँस र फलामका सामग्री बनाएर पालिका आफैंले प्रयोग गरिरहेको छ ।

पालिकाका निम्ति सामग्री, विद्यालयमा खेलकुदका सामग्री, खुला व्यायामशालाका लागि आवश्यक सामग्री त्यही ग्राममा निर्माण भइरहेको छ ।

भुजेल, चेपाङ बस्तीमै गएर बाँस र फलामका सामग्री बनाउन तालिम दिएको छ । ग्राम स्थापना भएपछि ४५ दिनको तालिम नै दिइएको थियो । ९९ रोपनी जग्गा संघीय सरकारबाट अनुमति लिएर खुलेको ग्रामका निम्ति ३० रोपनी जग्गा प्रयोग भइरहेको छ ।

आँधीमूलका लागि साढे २ करोड रुपैयाँमा पर्या–पर्यटनलाई जोडेर गुरुयोजना बनाउने कामलाई पालिकाले अगाडि बढाएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन मार्फत नागरिकमा आशा जगाउने काम भइरहेको छ ।

विद्यार्थी आन्दोलन हुँदै गाउँपालिका अध्यक्षको कुर्सीसम्म आइपुगेका चुमानले नागरिकमा आशा जगाउने प्रयत्न गरेका छन् । सरल व्यवहार र लवाइखवाइ तथा साधारण जीवनशैलीमा विकासदेखि सेवाप्रवाहसम्म चुस्त बनाउन लागिपरिरहेका चुमान युवाहरूका निम्ति प्रेरणा बनेका छन् । यसै कारण उनी अनलाइनखबरको चालीस वर्षभन्दा मुनिका चालीसको सूचीमा समेटिन पुगेका छन् ।

अमृत सुवेदी

तस्वीर : सरोज अधिकारी