+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares
फलोअप :

आफ्नै ल्यापटपमा अधिकृतको परीक्षा चलाउन दातृ निकाय ‘सामी’ कै साथ

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ भदौ २५ गते १६:०१

२५ भदौ, काठमाडौं । वैदेशिक रोजगार बोर्डमा अधिृकतको विवादास्पद परीक्षा सञ्चालनमा दातृ संस्थाको समेत संलग्नता भेटिएको छ ।

हेल्भेटास स्वीस इन्टरकोअपरेसनको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)का प्रतिनिधि (पर्यवेक्षक) समेतको रोहबरमा परीक्षार्थीलाई आफ्नै ल्यापटपमा परीक्षा लिएको खुलेको हो ।

बोर्डले सञ्चालन गरेको सो परीक्षाका क्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजना डेपुटी टिम लिटर मनु पन्थी परीवेक्षकको रुपमा उपस्थित थिइन् ।

पन्थीले दातृ निकायका प्रतिनिधिको रुपमा परीक्षाको स्वच्छता कायम गर्ने भूमिका खेल्नुपर्नेमा मुकदर्शक भएर बसेको पाइएको छ । उनी लिखित परीक्षा, प्रस्तुतीकरण र अन्तर्वार्ताका क्रममा पदपूर्ति समितिका संयोजक र सदस्यसँगै बसेकी थिइन् ।

सामी बोर्डमा रहने रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृतका लागि स्रोत उपलब्ध गराउने स्वीस सरकारको सहयोगमा चलिरहेको परियोजना हो ।बोर्डमा रहने अधिकृतका लागि स्रोत उपलब्ध गराउने सम्झौता नहुँदै परीक्षा लिन सामीले सहमति दिएको थियो ।

बोर्डले अपारदर्शी ढंगले ३ जना कार्यक्रम अधिकृत र २ रेस्क्यु एण्ड रिपेट्रियसन अधिकृत छनोट गरेपछि विवाद भइरहेको छ । पदपूर्ति समिति संयोजकसमेत रहेका बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले आफ्नै आफन्त सुष्मिता प्रसाईंलाई नै परीक्षामा पास गराएर नियुक्ति दिलाएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र केही बोर्ड सदस्यको रोजाइका मान्छे अधिकृतका लागि छनोट भएका छन् ।

बोर्डका निर्देशक टीकाराम ढकाल र श्रम मन्त्रालयका उपसचिव दीपेन्द्र पौडेल सदस्य रहेको पदपूर्ति समितिले मिलेमतोमा प्रश्नहरु दिएर पहिल्यै आउट गरेको आशंका परीक्षार्थीहरुको छ । छनोटका लागि तयार गरिएका व्यक्तिहरुलाई ल्यापटपमा उत्तर समेत तयार गरेर ल्याउन छुट दिएको आशंका उनीहरुको छ ।

परीक्षामा पदपूर्ति समितिका अधिकारीहरुसँगै परीक्षा सुपरीवेक्षण गर्न सामीबाट प्रतिनिधि आएपनि परीक्षा सञ्चालनमा अपारदर्शी प्रक्रिया अपनाइएको विषयमा संस्था मौन बसेको छ ।

‘यसमा सामीको समेत मिलेमतो समेत छ’, एक परीक्षार्थीले भने, ‘परीक्षा हलदेखि अन्तर्वार्तासम्म सामीबाट प्रतिनिधिहरु बसे, ल्यापटप समेत परीक्षार्थीकै प्रयोग भएको परीक्षा सामीले चाहेको भए तुरुन्तै रोकिन्थ्यो ।’

बोर्डकै कर्मचारीहरु पनि सामीको साथ नपाई यस्तो नतिजा निकाल्नै नसकिने बताउँछन् । ‘सामीबाट मनु पन्थीजीले परीक्षाको सुरपरीवेक्षण गर्नुभएको हो, उहाँलाई पदपूर्ति समितिले आमन्त्रित गरेको थियो’, बोर्ड स्रोतले भन्यो, ‘जसरी परीक्षा सञ्चालन भयो, उहाँले कुनै आपत्ति जनाउनुभएन, अंक दिने भूमिका नभएपनि उहाँको सहमतिबिना कार्यकारी निर्देशक र मनत्रीका मान्छेहरु छानिने अवस्था नै थिएन ।’

सामी परियोजनाका टिम लिडर सीता घिमिरे बोर्डको परीक्षाबारे भएको विवादबारे गोलमटोल जवाफ दिन्छिन् । पदपूर्तिको निर्णयमा सामीकी प्रतिनिधि पन्थीको हस्ताक्षर नभएको उनले बताइन् । ‘त्यसमा हाम्रो संलग्नता र सहमति पटक्कै छैन’, उनले भनिन्, ‘निर्णय गर्ने बैठकमा हाम्रो प्रतिनिधि हुनुहुन्न । तयारी गर्ने बेलामा र क्राइटेरिया बनाउने बेलामा मात्रै हाम्रो भूमिका थियो ।’

परीक्षामा पन्थीले सुपरीवेक्षण गरेको भने घिमिरेले स्वीकार गरिन् । तर, परीक्षाको नतिजामा भने आफ्नो प्रतिनिधिको हात नरहेको उनको दाबी छ । ‘त्यहाँ सही किन गरेन भनेर बुझ्नुस् न’, घिमिरेले भनिन् । परीक्षाको नतिजामा सामीकी प्रतिनिधिले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो त ? भन्ने अनलाइनखबरको प्रश्नमा घिमिरेले अघि भनिन्, ‘असहमति पक्कै पनि थियो, तर उहाँ निर्णय दिने भूमिकामा नै हुनुहुन्थेन ।’

आफ्नै ल्यापटपमा आपरदर्शी परीक्षा चलाएको विषयमा सामीलाई डेपुटी टिम लिडरले संस्थामा जानकारी नगराएको उनले स्वीकारिन् ।
‘हाम्रो भूमिका यसमा हुँदैन, हामीले इएन्फ्लुयन्स गर्न सकिन्छ कि भनेर प्रयास गर्ने हो’, घिमिरेले भनिन्, ‘नतिजामा हाम्रो हात छैन ।’

यसमा सामीले के एक्सन लिन्छ त ? भन्ने प्रश्नमा घिमिरेले छलफल भइरहेको बताइन् । ‘हाम्रो पोजिसन बनिसकेको छैन, अहिले सहमति वा असहमति छैन’, उनले भनिन् ।

टिम लिडर घिमिरेले अधिकृतहरु राख्न बोर्डलाई सामीबाट सहयोग उपलब्ध गराउने परियोजना नै भर्खर स्वीकृत हुने क्रममा रहेको समेत बताइन् । परियोजना नै स्वीकृत नभई कसरी बोर्डले अधिृकत राख्ने विज्ञापन गर्‍यो त भन्ने प्रश्नमा घिमिरेले भनिन्, ‘कसरी भयो, त्यहाँ पनि उहाँहरु (बोर्ड)लाई नै सोध्नुपर्छ ।’

स्वीकृत भइनसकेको परियोजनाका लागि अधिकृत राख्ने परीक्षामा सामीले आफ्नो प्रतिनिधि पठायो त ? भन्ने प्रश्नमा घिमिरेले भनिन्, ‘स्वीकृत हुन्छ भन्ने भएपछि गरौंला भन्ने हिसाबले गरेको होला ।’

यस्तो विवादमा कसरी मुछियो त भन्ने अनलाइनखबरको थप प्रश्नमा टिम लिडर घिमिरेले भनिन्, ‘तपाईंहरुको चासो जेन्युन हो, यसमा हाम्रो हात छैन ?’

उनले अनलाइनखबरसँग ‘यस्तो विषय (समाचार) लेख्नैपर्ने हो र ?’ भन्ने प्रश्न समेत गरिन् । सामीले यसमा ठीक बेठीक भन्ने धारणा बनाइनसकेकाले सकेसम्म समाचार नलेखिदिन उनले अनुरोध गरिन् ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?