+
+
Shares
विचार :

कर्णाली नदी व्यवस्थापन : अवसर र चुनौती उत्तिकै

कर्णाली नदी किनारामा निर्मित सिंचाइ संरचनामा आवश्यक बहाव सुनिश्चित गर्न चिसापानी पुलभन्दा तल निरन्तर गहिरिंदै गइरहेको नदी सतहलाई नियन्त्रण गर्न आवश्यक छ । यसका लागि गेग्य्रान व्यवस्थापन गरी पूर्वी र पश्चिमी भँगालोमा सन्तुलित बहाव कायम गर्नुपर्छ ।

डा. नारायण प्रसाद सुवेदी डा. नारायण प्रसाद सुवेदी
२०८१ भदौ ३१ गते १२:१७

बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित छ । तर यसै क्षेत्र भएर बहने कर्णाली नदीले हरेक वर्ष बाढी, कटान, पटान र डुबानका कारण जनधनको ठूलो क्षति पुर्‍याउँछ । लुम्बिनी प्रदेशमा पर्ने यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर छ । त्यसमध्ये ६८.७६ प्रतिशत भू–भाग तराईको समथर जमिनले ओगटेको छ भने बाँकी ३१.३४ प्रतिशत भाग चुरे पर्वतमा पर्दछ ।

जिल्लाको ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १३, हजार हेक्टर राजापुर सिंचाइ आयोजनाले सिञ्चित छ । कर्णाली नदी बाहेक बबई, औरही, भादा र मान नदीको बाढीले पनि वर्षेनि यहाँ ठूलो क्षति पुर्‍याउँछ । यो आलेख कर्णाली नदीको ‘एलुभियल फ्यान’ (सेडिमेन्ट डिपोजिसनद्वारा बनेको बाढी मैदान) बाट बहने दुई वटा नदीको बहाव मार्गमा आएको बहाव परिवर्तनको कारण, यसले पुर्‍याएको तथा पार्न सक्ने असर र समाधानका तरिका प्रस्तुत गर्नमा केन्द्रित छ ।

कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी हो । यो तिब्बतबाट उत्पन्न भई नेपालको हिमालय पर्वत र मैदानहरू हुँदै भारतमा प्रवेश गर्दछ । हिमालय पहाडहरू पनि समावेश भएको नदीको जलाधार क्षेत्र करिब ४३ हजार वर्ग किलोमिटर छ । गण्डकी/नारायणी र कोशी पछि करिब वार्षिक रूपमा ४४ अर्ब घनमिटर पानी नेपालबाट प्रवाह गर्न सक्ने तेस्रो ठूलो नदीको रूपमा कर्णाली नदी रहेको पाइन्छ ।

यो नदीले बर्दियाको भू–भागलाई दुई भागमा विभाजित गर्दै राजापुर क्षेत्र टापु जस्तै रहेको छ । कर्णाली नदीको पुल भन्दा करिब ६ कि.मी. तलतिरदेखि कर्णाली र गेरुवा गरी नदी दुई वटा पूर्वी र पश्चिमी भँगालो (च्यानल) हरूमा विभाजन भएको पाइन्छ । यी दुई भँगालोहरू लगभग ३२ किलोमिटर तल (डाउन स्ट्रीम) भारतमा गएर पुनः जोडिन्छन् ।

बाढीको प्रभाव, असर र क्षति

कर्णाली नदीको बाढीबाट दायाँ र बायाँ किनारामा अवस्थित क्रमशः राजापुर नगरपालिका र टीकापुर नगरपालिका त्यसैगरी गेरुवा नदीको दायाँ किनारामा गेरुवा गाउँपालिका र बायाँ किनारामा क्रमशः ठाकुरद्वारा गाउँपालिका र मधुवन गाउँपालिका वर्षेनि प्रभावित हुने गरेका छन् ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (२०८०), बर्दियाका अनुसार २०४०, २०५१, २०६३, २०६५, २०७०, २०७१, २०७४, २०७८ र २०७९ सालका बाढीहरूले पनि ठूलो क्षति पुर्‍याएका छन् । तर विशेषगरी २०७१ र २०७४ सालका बाढी सबैभन्दा विनाशकारी भएको पाइन्छ ।

२०७१ सालमा ३२ जनाको मृत्यु, १४ जना बेपत्ता र २ जना घाइते भएका थिए भने २०७४ सालमा ४ जनाको मृत्यु र २ जना घाइते भएका थिए । राजापुर क्षेत्रमा विशेषगरी गेरुवा गाउँपालिकाको वडा नं. १, २, ३, ४, ६ र राजापुर नगरपालिकाको वडा नं. १, ३, ४, १० बाढीको कारण ज्यादै असुरिक्षत छन् ।

जसमा पाताभार, तिघ्रा, मनाउ, खौरीचन्दनपुर, गोला, दौलतपुर, राजापुर र भिम्मापुर गाउँहरू लगायत अन्य नदी तटीय क्षेत्रमा वर्षेनि रूपमा आउने बाढी तथा डुबानले बढी क्षति गर्ने गरेको छ । सोही स्थानमा बसोबास गर्ने विशेषगरी विपन्न वर्गका समुदायका बासिन्दाहरू वर्षेनि हुने बाढी तथा डुबानका कारण थप असुरक्षित हुने गरेको पाइन्छ ।

तसर्थ विगतदेखि हालसम्मका बाढीका घटनाहरूले पुर्‍याएको जनधनको क्षति र कृषि भूमिमा भएको कटान र पटानका कारण खाद्य सुरक्षामा उच्च जोखिम निम्त्याउने भएकोले स्थानीय कृषकहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न गई आर्थिक–सामाजिक जोखिमहरू खडा हुन सक्ने देखिन्छ ।

त्यसकारण मानव गतिविधिले निम्त्याएको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्नका लागि एकीकृत नदी व्यवस्थापन तथा सेडिमेन्ट व्यवस्थापन योजना कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।

तटीय क्षेत्रको अवस्था

कर्णाली नदीका दुई भँगालो (पश्चिम कर्णाली र गेरुवा नदी) को बीचमा रहेको राजापुर क्षेत्र देशकै अन्नभण्डारका रूपमा परिचित छ । ब्रेडेड च्यानलहरूको कारणले पानीको मार्ग परिवर्तन भैरहँदा दुई भँगालोमा हुने जल प्रवाहको मात्रामा सापेक्षिक रूपमा असर परेको छ । एक अध्ययन अनुसार पूर्वी भँगालोको तुलनामा पश्चिमी भँगालोमा च्यानल स्थानान्तरण बढी र अस्थिर भएको देखिन्छ ।

नदीमा भएको सेडिमेन्टहरू सिंचाइ कुलो मार्फत किसानको खेतमा गएको पाइन्छ भने कतिपय नहरहरूमा त नहरको सतहमा वृद्धि भई वरपरको खेतको सतहभन्दा उच्च भएकोले एकातिर सिंचाइ नहुने अर्कोतिर पटानका कारणले उब्जाउ नहुने, र भएपनि कम हुने समस्याले समेत कृषकहरू आक्रान्त भएको पाइन्छ ।

यस क्षेत्रको समय शृङ्खला उपग्रह तस्बिरहरू (टाइम सेरिज सेटेलाइट इमेजेज) अवलोकन गर्दा रानी–जमरा–कुलरिया सिंचाइ हेडवर्क र बुडीकुलो सिंचाइ हेडवर्क बीच सन् १९७२ देखि २०२२ सम्मको अवधिमा भूमिको पटान र कटान भएको देखिन्छ । यी दुई भँगालोहरूमा आएको बहाव परिवर्तनहरूले नदी प्रवाह मार्गलाई अस्थिर बनाई दुई भँगालो बीचको जलप्रवाह वितरणलाई समेत असर गरेको पाइन्छ ।

त्यसैगरी, विगतको अध्ययनका अनुसार माथिल्लो क्षेत्रका ब्रेडेड च्यानलहरू (अर्थात्, राजापुर क्षेत्रको माथिल्लो भाग) को तुलनामा तल्लो क्षेत्रका ब्रेडेड च्यानलहरू (अर्थात्, खैरीचन्दनपुर, गेरुवा क्षेत्र) नजिकको क्षेत्रमा अधिकतम बहाव मार्ग परिवर्तन भएको पाइन्छ ।

यस क्षेत्रमा हुने बहाव मार्ग परिवर्तनले गर्दा नदीको दोभानबाट तलसम्म प्रत्येक च्यानलमा बाढी बहावको सम्भावना बढेको देखिन्छ । बाढीको समयमा सम्भावित बाढीको मार्ग, बाढीबाट हुनसक्ने प्रभाव र क्षतिहरूको आकलन र पहिचान गर्न सक्ने संयन्त्रको विकास गरी तदनुसार जोखिम न्यूनीकरणका योजनाहरूलाई कार्यान्वयन गर्न तल्लो तटीय क्षेत्रमा सतर्क रहनुपर्ने देखिन्छ ।

सन् १९७५ देखि २०१५ को बीचमा गरिएको अध्ययनले तटीय क्षेत्र वरपर बाढी बहावका कारण भएका केही प्रभावहरूलाई नजिकबाट अवलोकन गरेको छ । जस अनुसार यी तटीय क्षेत्रहरूमा (१) नदी बीचको भू–भागमा (फ्लड प्लेन) भएका मानवीय आवास र संरचनाहरूलाई पुनस्र्थापना गरिनुपर्ने, (२) बाढी व्यवस्थापनको दृष्टिकोणले ब्रेडेड च्यानलहरूको पुनःसंरचना गर्नुपर्ने र (३) ब्रेडेड च्यानल वरपर जम्मा भएको पटानको आवश्यक व्यवस्थापन गर्नुपर्ने देखिन्छ । बाढी बहाव र ब्रेडेड च्यानलका प्रभावहरूको रोकथामका लागि दुवै भँगालोमा भएका ब्रेडेड च्यानलहरूको अवलोकन, अध्ययन र सुधार कार्यहरूलाई समयमै कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

गेग्य्रान कटान, पटान र रिभर मर्फोलोजी

दुई भँगालो (पश्चिम कर्णाली र गेरुवा नदी) मा सन्तुलित जलप्रवाह दर कायम गर्न नदी मर्फोलोजीमा अनपेक्षित परिवर्तन आउनुहुँदैन । सन्तुलित जलप्रवाह दर भनेको दुई भँगालोको बीचमा एकमा कम्तीमा ४० प्रतिशत र अर्कोमा बढीमा ६० प्रतिशत जलप्रवाह दर कायम भएको अवस्था हो ।

नदीमा हुनसक्ने गेग्य्रान कटान तथा पटानका कारणले एकातिर नदीको बेड लेभल गहिरिंदै जान्छ जसले गर्दा ब्याङ्क इरोजन अत्यधिक हुन गई बहाव क्षमतामा अनपेक्षित वृद्धि हुन जाने गर्दछ । अर्कोतिर गेग्य्रान पटानले नदीको बेड लेभल क्रमशः बढ्दै जानाले नदीको सेडिमेन्ट क्यारिङ क्यापासिटीमा क्रमशः ह्रास आई उत्तिकै बहावले पनि थप गेग्य्रान पटान हुन गई तटीय क्षेत्रमा डुबान हुनसक्ने देखिन्छ ।

नदीमा भएको सेडिमेन्टहरू सिंचाइ कुलो मार्फत किसानको खेतमा गएको पाइन्छ भने कतिपय नहरहरूमा त नहरको सतहमा वृद्धि भई वरपरको खेतको सतहभन्दा उच्च भएकोले एकातिर सिंचाइ नहुने अर्कोतिर पटानका कारणले उब्जाउ नहुने, र भएपनि कम हुने समस्याले समेत कृषकहरू आक्रान्त भएको पाइन्छ ।

दीर्घकालीन समाधानका लागि बाढीका घटनाहरूबाट हुने सम्भावित जोखिमहरूलाई कम गर्न नदी किनारको क्षेत्रमा सशक्त संरक्षण कार्यहरू र तटबन्ध प्रणालीहरूको निर्माण आवश्यक छ । यसका लागी हाल नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत कर्णाली नदी व्यवस्थापन आयोजना स्थापना भइसकेको छ ।

तसर्थ थप अध्ययनका आधारहरूमा कर्णाली र गेरुवा नदीको भँगालोको उद्गमस्थलतर्फ अनपेक्षित रूपमा हुने क्रमशः कटान र पटानलाई न्यूनीकरण गर्न रोकथापका उपायहरूको कार्यान्वयन गर्न जरूरी देखिन्छ । दुई भँगालोको बीच अखरियामा रहेको बुडिकुलो सिंचाइ हेडवर्कमा पानीको सतह र कर्णाली नदीमा वातावरणीय प्रवाह कायम राख्न पनि गेरुवा नदीमा सन्तुलित जलप्रवाह कायम राख्नुपर्ने देखिन्छ ।

सम्भावित पर्यावरणीय असर

कर्णाली नदीमा जलप्रवाहको असन्तुलनले पर्यावरणीय असर पुर्‍याउँछ । स्थानीय बासिन्दाका अनुसार २०६६ साल अगाडि गेरुवा र कर्णाली नदीमा क्रमशः करिब ६० र ४० प्रतिशतको अनुपातमा जलप्रवाह थियो । जसले गर्दा निर्मित सिंचाइ संरचनाहरू मार्फत किसानहरूले आवश्यक पानी प्राप्त गरिरहेका थिए भने दुवै भँगालोहरूमा वातावरणीय प्रवाह कायम भएको थियो ।

तर २०७५ सालपछि गेरुवा नदीमा बहाव घट्दा बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा नदीको तल्लो तटीय क्षेत्रका स्थानहरूमा पानीको अभावले वातावरणीय समस्या तथा कृषि उत्पादनमा अनपेक्षित कमी आइरहेको देखिन्छ । यसले गर्दा स्थानीयहरू परम्परागत कृषि पेशाबाट समेत विस्थापित हुने तथा स्थानीय र सिंचाइ आयोजना बीच रहेको हार्दिकता समेत घट्दै जाने देखिन्छ ।

साथै पूर्वी भँगालोमा पानी कम हुँदा निकुञ्जका वन्यजन्तु समेत पानीको खोजीमा पश्चिम भँगालो जाने क्रममा तटीय क्षेत्रका बासिन्दाका बीचमा मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने निश्चित देखिन्छ । अर्कोतर्फ कर्णाली नदीमा क्रमिक रूपमा भइरहेको थप बहावका कारण तटीय क्षेत्रमा निरन्तर रूपमा बाढी, पटान तथा कटानले थप मानवीय तथा भौतिक क्षति भइरहेको छ ।

तसर्थ; पूर्वी भँगालोमा जलप्रवाह कम हँुदै जाँदा भँगालोबाट करिब ३० कि.मि. तल कोटियाघाटमा निर्मित नेपालकै सबैभन्दा लामो १०१५ मिटर लामो पुलको औचित्य समेत पुष्टि गर्नुपर्ने देखिन्छ ।

क्षति न्यूनीकरणका उपाय

कर्णाली नदीको बाढी जोखिमको तत्काल न्यूनीकरणका लागि बाढी पूर्व तयारी, चेतावनी प्रणाली र बाढीपछिको पुनस्र्थापना लगायत समाधानका उपायहरू अपनाउनुपर्छ । हाल सीमित सूचना र तथ्यांकको आधारमा गरिएको अध्ययनबाट तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप कम गर्न नदीका साना–ठूला भँगालोहरूको व्यवस्थापन गर्न जरूरी देखिन्छ ।

दीर्घकालीन समाधानका लागि बाढीका घटनाहरूबाट हुने सम्भावित जोखिमहरूलाई कम गर्न नदी किनारको क्षेत्रमा सशक्त संरक्षण कार्यहरू र तटबन्ध प्रणालीहरूको निर्माण आवश्यक छ । यसका लागी हाल नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत कर्णाली नदी व्यवस्थापन आयोजना स्थापना भइसकेको छ ।

यस परियोजनाले राजापुर क्षेत्रको खेतीयोग्य जमिनमा कटान र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न गुरुयोजना स्वीकृत गरी हालसम्म २० किलोमिटर तटबन्ध निर्माण भइसकेको देखिन्छ । तर नदीको सतहमा निरन्तर भइरहेको रिभर बेड एग्रेडेशन तथा रिभर बेड डिग्रिडेसन लगायत परिवर्तनको अध्ययन गरी भूकम्प लगायत अन्य नदी मर्फोलोजीमा हुने परिवर्तनबाट आपूर्ति र यसले समग्र तटीय क्षेत्रको आर्थिक, सामाजिक, वातावरणीय र पारिस्थितिकीय प्रणालीमा पार्न सक्ने प्रभाव, असर र क्षतिको बारेमा निरन्तर मापन गर्न आवश्यक देखिन्छ ।

यसबाट प्राप्त सूचना र तथ्यांकको विश्लेषण गरी भविष्यमा क्षति न्यूनीकरणका योजनाहरू थप प्रभावकारी रूपमा कार्यन्वयन गर्न सकिन्छ । तर हालसम्म यस्ता प्रकोपहरूको गहन अध्ययन गरी जोखिम र क्षतिको मूल्याङ्कन तथा वैज्ञानिक रूपमा तथ्यांक संकलन गरेको विरलै मात्र पाइन्छ । सम्भावित जोखिम तथा क्षतिको आधारमा जोखिम नक्सा अनुसार जग्गा वर्गीकरण गरी उपयोग गर्न जग्गा उपयोग नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

साथै पश्चिम भँगालोतिर भइरहेको तथा हुनसक्ने कटान एवं पूर्वी भँगालो तथा यसको उद्गमस्थल वरपर भइरहेको पटानलाई व्यवस्थापन गरी सन्तुलित बहाव कायम गराउनुपर्ने हुन्छ । त्यसका लागि पश्चिम भँगालोतिर नदी कटान रोकथामको लागि स्पर लगायत संरचनाहरू निर्माण तथा उद्गम स्थल वरपर र पूर्वी भँगालोको केही तलसम्म नदी च्यानलाइजेसन गर्न जरूरी देखिन्छ ।

साथसाथै गेग्य्रान थुप्रिएका पूर्ववत् ब्रेडेड च्यानलहरूमा गेग्य्रान उत्खनन् गरी दुवै भँगालोमा सन्तुलित बहावको सुनिश्चितता गर्नुपर्ने हुन्छ । त्यसैगरी कर्णाली नदी किनारामा निर्मित सिंचाइ संरचनामा आवश्यक बहाव सुनिश्चित गर्नका लागि चिसापानी पुल भन्दा तलतिर निरन्तर रूपमा गहिरिंदै गइरहेको नदीको सतहलाई नियन्त्रण गर्न अत्यावश्यक देखिन्छ ।

कर्णाली नदी व्यवस्थापनको लागि सेडिमेन्ट डिपोजिसन र गेग्य्रान व्यवस्थापन गरी पूर्वी र पश्चिमी भँगालोमा सन्तुलित बहाव कायम गर्न आवश्यक छ । यसले आर्थिक, सामाजिक, वातावरणीय र पारिस्थितिकीय सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ ।

यसको लागि जोखिम नक्साका आधारमा संरचनात्मक तथा गैरसंरचनात्मक उपायहरू मार्फत सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिने देखिन्छ । साथै बाढी तथा विपद् प्रतिरोधी संरचना तथा स्वयं व्यक्तिको प्रतिरोधी क्षमता समेत बढाउने गरी नीतिगत रूपमा व्यवस्था गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

(जलस्रोत तथा सिंचाइ विभागमा कार्यरत इन्जिनियर सुवेदीले ‘नेशनल ग्य्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडी जापान’ बाट बाढी, डुबान, कटान र पटानबाट हुने जोखिम तथा क्षति सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् ।)

लेखकको बारेमा
डा. नारायण प्रसाद सुवेदी

जलस्रोत तथा सिंचाइ विभागमा कार्यरत इन्जिनियर सुवेदीले ‘नेशनल ग्य्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडी जापान’ बाट बाढी, डुबान, कटान र पटानबाट हुने जोखिम तथा क्षति सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?