+

नाकमा पलाउने ट्युमर क्यान्सर पनि हुनसक्छ

२०८१ भदौ  ३१ गते १७:१३ २०८१ भदौ ३१ गते १७:१३
नाकमा पलाउने ट्युमर क्यान्सर पनि हुनसक्छ

शरीरका विभिन्न भागमा हुने क्यान्सर नाकमा पनि हुनसक्छ । श्वासप्रश्वासको मुख्य माध्यम नाकमा क्यान्सर भएमा कति गम्भीर समस्या हुनसक्ला भन्ने कल्पना गर्न पनि कठिन हुन्छ ।

वास्तवमा, नाकमा म्युकस (तरल पदार्थ जसमा कीटाणुलाई मार्ने एन्टीबडी हुन्छ) उत्पादन गर्ने कोषिकाहरू पनि हुन्छन् । जब यी म्युकस उत्पादन गर्ने कोषिकाहरू नाकको नजिक सामान्य रूपमा बढ्न थाल्छन्, तब यसले क्यान्सरको रूप लिन्छ ।

प्रायः धेरै धुम्रपान गर्ने मानिसमा मात्र नाकको क्यान्सर जस्ता समस्या हुने गरेको देखिन्छ । नाकको मुख्य काम भनेको बास्ना, गन्ध र सुगन्धबारे मस्तिष्कलाई जानकारी दिनु र श्वास लिने र फाल्ने काम गर्नु हो ।

यसबाहेक नाकभित्र जाने हावालाई तापक्रममैत्री बनाउने, हावासँग सास नलीभित्र गएको कीटाणुलाई फिल्टर गर्ने र रोक्ने, नाक वरपरका साइनस (हड्डीको खाल्डो)को फोहोर समेत सफा नाकले गर्छ ।

नाकको भित्र नावट र त्यसमा देखिन सक्ने ट्युमर

नाकको भित्री बनावटमा कन्काई र मिएटस भन्ने सतहहरु हुन्छन् । कन्काई भनेको नाकमा उठेको सतहहरु हुन् । मिएटस भनेको खाडल सतह हो । मिएटस माथि, बीच र तल्लो गरी जम्मा तीनवटा हुन्छन् । त्यस्तै, अनुहारको हड्डीहरुको बीचमा पनि खाल्डो हुन्छ, जसमा हावा भरिएको हुन्छ ।

सो खाल्डोलाई पारानाजल भनिन्छ । यो भाग वरपर कुनै कारणवश ट्युमरहरु नाकको पछाडिको भागबाट पलाएमा क्यान्सरको रुप लिन सक्छ । यद्यपि, ती सबै ट्युमर क्यान्सर नहुन पनि सक्छ । सो ट्युमर प्राणघातक सर्ने खालको मेलिगेन्ट क्यान्सर वा नसर्ने हानि नगर्ने बेनाइंग हुनसक्छ ।

हानि नगर्ने बेनाइंगमा प्यापिलोमा, हेमन्जियोमा, अन्कोसाइटोमा, मायोइपिथेलियोमा, अन्कोसाइटोमा, हानि पुर्‍याउने मेलिगेन्ट क्यान्सर, स्क्वामस सेल कार्सिनोमा, स्पीन्डर सेल कार्सिनोमा, फाइब्रोसार्कोमा, कोनड्रो सार्कोमा, न्युरोब्लास्टोमा, लिम्फोमा र राहब्डो सार्कोमा पर्छन् ।

क्यान्सर भएमा देखिने लक्षण

– नाक बन्द भएको अनुभव हुनु

– आँखाको सेतो भाग वरपर दुख्नु

– नाकबाट रगत बग्नु

– गन्ध नआउनु

– नाकबाट पिप बग्नु

– नाकको प्वालभित्र मासुको डल्लो पलाउनु

– टाउको दुख्नु

– घाँटी वरपर डल्लो गाँठोहरु निस्कनु

नाकको क्यान्सरको कारण

सामान्यतया मानिसको उमेर बढ्दै जाँदा नाकको क्यान्सर हुने सम्भावना बढ्दै गएको देखिन्छ । महिलाको तुलनामा पुरुषलाई नाकको क्यान्सर हुने सम्भावना बढी हुन्छ । यसको कारण भनेको तुलनात्मक रुपमा पुरुषहरु अत्यधिक मात्रामा धुम्रपान गर्छन् ।

केमिकल फ्याक्ट्रीमा वा केमिकल प्रभावित ठाउँमा काम गर्दा वा केमिकलको सम्पर्कमा आउँदा नाकमा क्यान्सर हुने जोखिम बढी हुन्छ । यस बाहेक लगातार वायु प्रदूषणबाट प्रभावित हुनेहरुमा पनि नाकको क्यान्सर हुनसक्छ ।

यसबाहेक घाँटी वा टाउकोमा रेडियो थेरापीबाट उपचार गराइरहेका व्यक्तिलाई पनि नाकको क्यान्सरको सम्भावना हुनसक्छ । त्यस्तै, ह्युमन पापिलोमा भाइरसको संक्रमणले पनि पछि नाकको क्यान्सरको रुप लिन सक्छ ।

रोगको परीक्षण

– नाकभित्रको ट्युमर क्यान्सर हो कि होइन भनेर पत्ता लगाउन नाकभित्र यन्त्रबाट परीक्षण, नाक, घाँटी तथा फेरेन्जको परीक्षण, नाक तथा मुखको एक्स-रे, सिटिस्क्यान, एमआरआई र बायोप्सी गरिन्छ ।

नाकको क्यान्सरको पनि चरण छन् ।

– ट्युमर नाकको एक छेउमा हड्डी छेडेको वा नछेडेको अवस्था

– ट्युमर नाकको एकतर्फ वा दुईतर्फ हड्डी छेडेको वा नछेडेको अवस्था

– ट्युमरले आँखा वरपरको हड्डी र मुख नजिकको हड्डीलाई पनि छेड्छ ।

– ट्युमरले आँखाभित्र छेड्छ । मस्तिष्कभित्र र गालामा छेड्छ ।

नाकको क्यान्सरको उपचार

नाकको क्यान्सरको उपचार क्यान्सर कुन चरणमा पुगेको छ, त्यसमा भर पर्छ । यदि सुरुमै क्यान्सर पुष्टि भयो भने कुनै गम्भीर उपचार प्रक्रियाबाट गुज्रिन पर्दैन, तर यदि क्यान्सर गम्भीर चरणमा पुग्यो भने विभिन्न प्रकारका उपचार गर्नुपर्ने हुनसक्छ ।

शल्यक्रिया  : नाकको क्यान्सर फैलिएको भाग चिरेर फाल्ने गरिन्छ । यही नै नाक क्यान्सरको मुख्य उपचार हो ।

विकिरणको उपचार : बिरामीको नाकको क्यान्सरलाई सेकाएर नष्ट गरिन्छ ।

केमोथेरापी : अत्यन्त विषालु औषधिहरुको प्रयोग गरेर क्यान्सरको कोषिकाहरुलाई नष्ट गरिन्छ ।

टारगेटेड थेरापी : विशेष किसिमका औषधिले क्यान्सरको अणु र डीएनएमा आक्रमण गरेर क्यान्सरलाई नष्ट पारिन्छ ।

इम्युनो थेरापी : क्यान्सरसँग लड्ने खालका निभोलिमुमाव र पेमब्रोलिजुमाव जस्तो औषधि प्रयोग हुन्छ ।

नाकको क्यान्सरबाट कसरी बच्ने ?

– सुर्ती, चुरोट तथा तम्बाकु सेवन नगर्ने

– मदिरापान नगर्ने

– नाकको घाउलाई नङले नकोट्याउने

– नाकलाई सफा पानीले धोएर सफा रुमालले पुछ्ने

– नाकमा कुनै किसिमको घाउ भए तत्काल परीक्षण गराउने

– लागूपदार्थ दुर्व्यसनमा नफस्ने ।

डा. समिम अख्तर नाकको ट्युमर स्वास्थ्य
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

डा. अख्तर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय