+
+

कार्म र मेनुकालाई लिएर मण्डलाले नाटक ‘ढुकुढुकी ७२ मेगाहर्ज’ मञ्चन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १३:३५

काठमाडौं । फिल्म ‘शाम्बाला’को विश्वव्यापी चर्चाबीच अभिनेता कार्म नाटकमा फर्किने भएका छन् । मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको एक ‘ढुकढुकी ७२ मेगाहर्ज’मा कार्म र मेनुका प्रधानलाई देख्न पाइनेछ ।

केदार श्रेष्ठको परिकल्पना, लेखन तथा निर्देशन रहने नाटकको पूर्वतयारी बुधबार बेलुकादेखि मण्डलामा सुरु हुँदैछ । कथानक फिल्म ‘महानगर’पछि कार्म र मेनुकाले नाटकमा सहकार्य गर्न लागेका हुन् ।

दुईजना मात्र कलाकारलाई लिएर तयार पार्न लागिएको यो नाटकको मञ्चन तिहारलगत्तै गर्ने तयारी छ । श्रीमान–श्रीमतीबीचको सम्बन्ध र सन्तानसँगको जटिलताको कथावस्तुमा नाटक बन्न लागेको हो ।

निर्देशक श्रेष्ठले दुईजना विवाहित जोडीको सम्बन्ध मार्फत मानवीय सम्बन्धको पहेंलीको कथा भन्न लागेका हुन् । ‘दर्शकले यसमा भावनात्मक र वैचारिक सम्बन्धको जटिलता देख्न पाउनुहुनेछ’ निर्देशक श्रेष्ठले अनलाइनखबरसँग भने, ‘दुईजना मात्र कलाकारमार्फत नाटक बन्न लागेको हो ।’

८० मिनेट लामो यो नाटक मण्डलाको प्रस्तुतिमा तयार हुन लागेको हो । मेनुकाले पछिल्लो पटक अनुप बराल निर्देशित नाटक ‘एउटा सपनाको अवसान’मा छोटो भूमिका निर्वाह गरेकी थिइन् । कार्म भने नाटक र फिल्ममा लगातार देखिंदै आएका छन् ।

मण्डलाले पछिल्लोपटक सात नाटक मञ्चनको घोषणा गरेको थियो । जसमा केदारको यो नाटकसहित नाजिर हुसेन, अनुप बराल, पशुपति राई र किरण चाम्लिङले निर्देशन गर्ने नाटक छन् । जसमा प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘बाखम्मा’ नाटक मञ्चन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?