+
+

उत्तरी गोरखामा गाउँलेले रोके हेलिकप्टर उडान

विकास मरहट्टा विकास मरहट्टा
२०८१ असोज ९ गते १४:१३

९ असोज, गोरखा । निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले उत्तरी गोरखामा हेलिकप्टर उडानमा रोक लगाएका छन् ।

बुधबार सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरुले हेलिकप्टर ल्याण्ड गर्न दिएका छैनन् । विरोधस्वरुप उनीहरुले हेलिप्याडमा ढुंगा थुपारेका छन् भने झण्डा पनि गाडेका छन् ।

निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलिकप्टर उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग उनीहरुको छ । सम्बन्धित निकायले आफ्नो मागलाई बेवास्ता गरेका कारण हेलि उडानमा रोक लगाइएको स्थानीय मिङमार लामाले बताए ।

‘आठ दिनअघि नै हामीले हेलि उडान रोक्ने भनेका थियौं’, उनले भने, ‘सम्बन्धित निकायले तपाईको मागहरु लिखित रुपमा ल्याउनुस् भनेपछि गाउँ भेलाबाट निर्णय गरेर लिखित रुपमा मागहरु गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा पठायौ ।’

पाँच दिनभित्र माग पूरा गर्न भनेपनि पुरा नभएपछि बिरोध स्वरुप हेलि उडान रोकेको उनले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले निषेधित क्षेत्र खुल्ला गरिदिन पटक पटक माग राख्दै आएपनि सरकारले बेवास्ता गर्ने गरेको बताए ।

‘स्थानीयको यो माग धेरै पहिलेदेखिको हो, प्रधानमन्त्रीसम्मलाई डेलिगेसन र ज्ञापन पत्र त स्थानीयले कति बुझाए बुझाए’, उनले भने, ‘तर सरकारले एक कानले सुन्ने अर्काे कानले उडाउने गर्‍यो ।’ अहिले हेलिकप्टर बन्द गर्नु त्यहाँको जनताको बाध्यता रहेको भन्दै उनले स्थानीयको समर्थन गरे ।

पर्यटक अलपत्र

स्थानीयले हेलिकप्टर उडानमा रोक लगाएपछि मनास्लु क्षेत्र पुगेका पर्यटकहरु अलपत्र परेका छन् । मनास्लु हिमाल आरोहण गरेर सामागाउँ आइपुगेका पर्यटकहरु प्राय हेलिकप्टरमा काठमाडौं फर्किने गर्छन् । तर हेलिकप्टर जान नपाएपछि पर्यटक काठमाडौं फर्कन पाएका छैनन् ।

पर्यटन विभागबाट अनुमति लिएका तीन सय आठ जना आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका छन् ।

त्यस्तै यो हप्ता २ सय ४० जना विदेशी पर्यटक मनास्लु क्षेत्र भ्रमणमा गएको मनास्लु संरक्षण क्षेत्र एमक्यापको तथ्याङ्कमा उल्लेख छ । पर्यटकको चाप भएका बेला हेलिकप्टर उडान बन्द गर्दा समस्या भएको छ । हेलिकप्टमार्फत मनास्लु क्षेत्र आउन खोजेका पर्यटकहरु पनि स्थानीयको बन्दका कारण आउन पाएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले समस्या समाधानका लागि समन्वय भइरहेको बताए । ‘उहाँहरुको निर्णय हामीले माथि मन्त्रालयमा पठाइसकेका छौं’ उनले भने, ‘समस्या समाधानका लागि समन्वय पनि भइरहेको छ ।’

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?