+
+

कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो

हरि अधिकारी हरि अधिकारी
२०८१ असोज १२ गते १०:५३

१२ असोज, विराटनगर । कोशी ब्यारेजका सबै ढोका खुलेको छ । अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो ।

सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको  छ । यो खतराको तह भन्दा माथि हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो ।

भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।  बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

बाढी निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । उनले जारी गरेको  सूचनामा आज बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ ।

बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?