+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

२२ वर्षपछि धनबहादुरको जीवनमा फर्केको खुसी

नाम जस्तो धन नभएका, जन्मजात पिसावथैलीको समस्याका कारण गन्हाउने जिउ लिएर हिड्ने अछामका धनबहादुर साउदले २२ वर्षपछि उपचार मात्रै पाएनन्, नयाँ जीवन पनि पाएका छन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८१ असोज १७ गते १६:४४

१७ असोज बाजुरा । अछामको चौरपाटी गाउँपालिका-२ बस्ने धनबहादुर साउदको जीवनमा २२ वर्षपछि खुसी फर्किएको छ । जन्मजात पिसाबथैलीमा समस्या भएका कारण दुई दशकसम्म गन्हाउने जीउ लिएर पीडा र अपमान सहदै आएका धनबहादुरले उपचारपछि नयाँ जीवन पाएका छन् ।

उनी २२ वर्षदेखि गाउँमा उपचार नपाएर अलपत्र परेको जानकारी  पाएपछि गाउँपालिकाको समन्वयमा बडिमालिका फाउन्डेसन नेपाल र मेडिकल पुनर्स्थापना केन्द्रको सहयोगमा ललितपुरको किस्ट मेडिकल कलेजमा उनको उपचार भएको हो ।

२ महिनाको उपचारपछि भर्खरै उनी अछाम फर्किएका छन् । उनले भने, ‘२२ वर्षसम्म पीडा बोकेर बाँचेको थिएँ । आफ्नै मान्छेले पनि बेवास्ता गरेका थिए । ठिक हुन्छु भनेर सोचेको पनि थिइनँ । तर, अहिले ठिक हुँदा धेरै खुसी छु ।’

उपचारपछि गाउँ आएका उनलाई चौरपाटी गाउँपालिकाले वडा नम्बर २ मा कार्यलय सहयोगीको जागिर दिएको छ । तत्काल मासिक १४ हजार तलब दिनेगरी पालिकाले जागिर दिएको गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले बताए ।

२२ वर्षसम्म उनले समाजमा रोग मात्रै पालेका थिएनन्, ठूलो अपमान पनि सहेका थिए । उपचारपछि उनलाई समाजमा सम्मान जनक बाँच्न सजिलो होस भनेर पालिकाले जागिर दिएको अध्यक्ष साउदको भनाइ छ ।

नाम धनबहादुर भएपनि उनीसँग धन थिएन । आर्थिक अभावमा उपचार तथा चेकजाँच गर्न सकेनन् । जन्मजात पिसाब थैली बाहिर देखिएर पिसाब चुहिने तथा त्यसबाट अन्य संक्रमण हुने समस्या थियो ।

शरीरमा पिसाब तथा घाउको गन्धले उनी अरू भएको ठाउँ जान सक्दैनथे, न उनीकहाँ अरू कोही आउन मान्थ्यो  । जन्मेदेखि २२ वर्षसमम उनले यस्तो पीडा भोगे । गनाउने शरिर लिएर एक्लो जीवन बाँचे ।

सानो छदा उनी विद्यालयमा गए । तर, पिसाब चुहिने र गन्ध आउने भएकाले शिशु कक्षाबाटै विद्यालय छोडनु पर्‍यो । ३ वर्षको हुँदा आमा सारू साउदको पनि मृत्यु भयो । बाबु नरबहादुर साउद अर्को बिहे गरेर तराइमा बसे ।  त्यसपछि उनी काकाकाकी सँग बस्दै आएका थिए । काकाको पनि आर्थिक अवस्था राम्रो थिएन ।

तर, समयले उनलाई साथ दियो । गाउँपालिकाको समन्वयमा उनी काठमाडौं आए ।  किष्ट मेडिकल कलेजका प्लाष्टिक सर्जन सिनियर कन्सलटेन्ट प्रा.डा.सुरेन्द्र बस्नेतको टिमले उपचार गरेपछि उनको विगत बदलियो । डा.बस्नेतका अनुसार धनको उपचारमा १० लाख रुपैयाँभन्दा बढी खर्च लागेको छ ।

सरकारी अस्पतालमा यो खालको उपचार तथा अप्रेशन सम्भव पनि कम हुने उनले बताए । धनबहादुरले एक दुई वर्षसम्म उपचार नपाएको भए उनलाई क्यान्सर हुने सम्भावना रहेको अस्पतालको भनाइ छ ।

धनको उपचारमा १ लाख ५० हजार गाउँपालिकाले सहयोग गरेको थियो । बाँकी भने बडिमालिका फाउन्डेसन नेपाल, मेडिकल पुनर्स्थापना केन्द्र तथा अस्पतालले सहयोग गरेको छ ।

‘उनी समस्यामा परेको जानकारी पायौ, २२ वर्षसम्म यस्तो जीवन बाँचिरेको थाहा पाएपछि उनलाई उपचारमा हामीले सहयोग तथा समन्वय गर्‍यौ’ मेडिकल पुनस्र्थापना केन्द्रका अध्यक्ष सम्राट सिंह बस्नेतले भने । बस्नेतले भने, ‘अब उनी सामान्य मान्छेको जिन्दगी बाँच्न सक्छन् ।’

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?