+
+
Shares

‘एसआईपी’ हुनसक्छ लगानीको उपयुक्त माध्यम, यस्ता छन् फाइदा

एसआईपी लगानीपछि रकम केही वर्षपछि प्रतिफल सहित एकमुष्ट झिक्न सकिन्छ वा योजना व्यवस्थापक (एसआईपी गरिदिने कम्पनी) ले वर्षैपिच्छे दिएको नगद लाभांश लिन सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २८ गते ९:०७

२८ असोज, काठमाडौं । एसआईपी अर्थात् ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’ । व्यवस्थित रूपमा लगानी गर्दै जाने योजना नै एसआईपी हो । वित्तीय क्षेत्रमा जानकारी राख्ने हरेकलाई एसआईपीबारे अवगत रहे पनि धेरै सर्वसाधारण यसबारे अझै अनभिज्ञ नै छन् ।

बैंकको ब्याजदर घट्दै गएको यो बेला एसआईपी लगानीको सही माध्यम हुन सक्छ । जागिर वा ज्याला मजदुरीबाट आउने पैसाबाट महिनैपिच्छे वा ३–३ महिना वा ६–६ महिनामा निश्चित रकम छुट्याएर एसआईपीमा सहभागी हुन सकिन्छ । न्यूनतम १ हजार रुपैयाँबाटै यसमा सहभागिता जनाउन सकिन्छ ।

एसआईपी लगानीपछि रकम केही वर्षपछि प्रतिफल सहित एकमुष्ट झिक्न सकिन्छ वा योजना व्यवस्थापक (एसआईपी गरिदिने कम्पनी) ले वर्षैपिच्छे दिएको नगद लाभांश लिन सकिन्छ ।

म्युचुअल फन्डका खुलामुखी योजना निष्कासन गरेका विभिन्न संस्थाले एसआईपी गरिदिन्छन् । नेपालमा २०७६ सालदेखि खुलामुखी योजना निष्कासन हुन थालेका हुन् ।

नेपालमा हाल ७ वटा खुलामुखी योजना सञ्चालनमा छन् । एनआईबीएल सहभागिता फन्ड, नबिल फ्लेक्सी क्याप फन्ड, कुमारी सुनौलो लगानी योजना, शुभलक्ष्मी कोष, एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड, एनएमबी सरल बचत फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम सञ्चालनमा छन् । यिनै योजनामध्ये आफूलाई उपयुक्त लागेको योजनामा एसआईपी गर्न सकिन्छ ।

एसआईपीमा गरेको लगानी के हुन्छ ?

सर्वसाधारणले एसआईपीमा गरेको लगानीबाट योजना व्यवस्थापक कम्पनीले म्युचुअल फन्डका खुलामुखी योजनाबाट इकाइ प्रदान गर्छन् । यी योजनाको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हुने गर्छ ।

एसआईपीको रकम यिनै योजनाका व्यवस्थापकले धितोपत्र, ऋणपत्रमा लगानी गर्छन् । यस किसिमको विविधीकरणले सम्पत्तिमा हुने लगानीको जोखिम कम गर्न मद्दत गर्छ ।

खुलामुखी योजनालाई अनुभवी कोष प्रबन्धकहरूद्वारा सञ्चालनमा ल्याइएको हुन्छ जसले लगानीकर्ताका तर्फबाट लगानी गर्ने निर्णय गर्छन् ।

लगानी उद्देश्यभित्र रहेर अधिकतम प्रतिफल प्राप्त गर्न पेसेवरहरूले कम्पनीको विश्लेषण, अनुसन्धान, बजार प्रवृत्ति विश्लेषण गरी सक्रिय रूपमा पोर्टफोलियो व्यवस्थापन गर्छन् ।

योजनाको रकम लगानी भएका विभिन्न कम्पनीका सेयर वा अन्य सम्पत्तिको मूल्य बढ्दै जाँदा योजनाको इकाइ मूल्य (न्याभ) पनि बढ्दै जान्छ । लगानी गर्नेले इकाइ बेच्दाखेरि त्यही न्याभ बराबरकै मूल्य पाउँछन् ।

यस्तो योजना दोस्रो बजार (नेप्से) बाट किनबेच हुँदैन । किनबेचका लागि तोकिएका सम्बद्ध बैंक तथा वित्तीय संस्थाका शाखामै जानुपर्छ ।

एसआईपीबाट आएको प्रतिफल कस्तो छ ?

एसआईपीको लगानी प्रतिफल पनि उत्कृष्ट देखिन्छ । खुलामुखी योजनाको इतिहास धेरै लामो छैन । उदाहरणका रूपमा, पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डलाई लिऔं ।

पहिलो वर्ष २०७६/७७ को नाफाबाट ८.२५, दोस्रो वर्ष २०७७/७८ को ५० प्रतिशत, तेस्रो वर्ष २०७८/७९ को नाफाबाट ७.२ प्रतिशत तथा चौथो वर्ष २०७९/८० बाट ४ प्रतिशत लाभांश दिइएको छ ।

चार वर्षमा औसत १७.३६ प्रतिशत लाभांश पाएका छन् । चार वर्षअघि एसआईपी गर्नेले पनि कुल लगानीको औसतमा त्यति नै लाभांश पाएका छन् ।

तर, सबै योजनाको यति नै प्रतिफल नहुन सक्छ । यद्यपि, समग्र सेयर बजार बढ्दा एसआईपी बापत लगानी पनि बढी हुने गरेको देखिन्छ भने सेयर बजार ओरालो लाग्दा एसआईपीको प्रतिफल पनि न्यून रहेको देखिन्छ ।

२ भदौ २०७८ मा नेप्सेले ३१९८ अंकको रेकर्ड बनाएर झ¥यो । जसले गर्दा त्यतिबेला नाफा बुक गरेर एसआईपी धनीलाई व्यवस्थापकले दिएको प्रतिफल उच्च छ । यतिबेला पनि बजार तल्लो बिन्दुमा छ भने ब्याजदर घटिरहेको छ । जसले गर्दा हाल एसआईपी गर्नेले आगामी केही वर्ष राम्रो प्रतिफल पाउन सक्ने देखिन्छ ।

एसआईपीमा कसरी सहभागी हुने ?

एसआईपी मार्फत गरिने लगानी बिस्तारै समय अनुसार मासिक वा त्रैमासिक रूपमा निश्चित रकम लगानी गर्न सकिन्छ । यसमा लगानीको औसत लागत निकाल्दै चक्रवृद्धि ब्याजको फाइदा लिन सकिन्छ । लगानी भइरहँदा पैसा समयसँगै कम्पाउन्डिङको नियमानुसार बढ्दै जान्छ ।

लगानीकर्ताले एसआईपी छनोटका लागि आवेदन दिनुपर्ने हुन्छ । यसमा लगानीकर्ताले एसआईपी मिति, योजनाको रकम, समयावधि र मासिक किस्ता जस्ता आवश्यक जानकारी उपलब्ध गराउनुपर्छ ।

लगानीकर्ताले आफ्नो सुविधाका आधारमा चेक वा अनलाइन माध्यमबाट लगानी रकम पठाउन सक्छन् । महिनैपिच्छे वा त्रैमासिक लगानीका लागि भुक्तानी गर्ने रकम पनि अनलाइनबाटै गर्न सकिन्छ ।

त्यसपछि योजनाको इकाइ लगानीकर्तालाई प्राप्त हुन्छ । हरेक महिना वा त्रैमासिक रूपमा लगानीकर्ताले रकम तिर्दै जाँदा योजनाको इकाइ पनि बढ्दै जान्छ । त्यो योजनाबाट पाउने नगद लाभांश नगदकै रूपमा लिन वा फेरि लगानी गरी इकाइ पनि थप्न सकिन्छ ।

एसआईपी क्याल्कुलेटरले एसआईपी मार्फत गरिएको लगानीमा प्रतिफल अनुमान गर्न सिकाउँछ । एसआईपी क्याल्कुलेटर लगानीकर्तालाई सम्भावित म्युचुअल फन्डहरूको सामान्य प्रतिफलको जानकारी दिने गरी डिजाइन गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?